नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको जिम्मेवारी तोकेको छ।
महाधिवेशन भएको ६ महिनापछि एकीकृत समाजवादीले स्थायी कमिटी बैठकबाट नेताहरूको कार्यविभाजन गरेको हो।
महासचिव घनश्याम भूसालका अनुसार २४ सदस्यीय सचिवालय पनि गठन भएको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरिएको हो।
एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
संगठन विभाग प्रमुखमा बेदुराम भुसाल छन्। स्रोतका अनुसार महासचिव घनश्याम नै संगठन विभाग प्रमुख हुन चाहेका थिए। तर अध्यक्ष नेपालले बेदुरामलाई उक्त जिम्मेवारी दिएका हुन्।
महासचिव घनश्याम भूसाललाई अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखको जिम्मेवारी दिइएको हो।
विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको एकीकृत समाजवादीले जनाएको छ।
जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्जको जिम्मेवारी दिइएको हो।
उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको एकीकृत समाजवादीको भनाइ छ।
उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।
उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ।
सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्ज, युवा विभाग इन्चार्ज लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ।
एकीकृत समाजवादीले गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा नेपाललाई चयन गरेको थियो।