प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकबाट निर्णय गरी सरकारलाई त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो।
यो पनि: त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
समितिका सभापति अम्मरबहादुर थापाले त्रिविको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र सार्वजनिक गर्नुपूर्व समितिले जानकारी पाउनुपर्ने बताए।
‘अहिले पनि त्रिविको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिविलाई सरकारले लगानी गर्नु पर्दैन। बरू सरकारले केही माग्यो भने त्यहाँबाट दिन सक्ने अवस्था छ। यस्ता विषयमा सरकार एक्सनमा जानुपर्छ। राज्यको आम्दानीको स्रोत बनाउने र खर्च गर्ने विधि अवलम्बन गर्नुपर्छ,’ उनले भने, ‘त्रिविको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। समितिबाट निर्देशन भएकाले सार्वजनिक पूर्व समितिले जानकारी पाउनुपर्छ।’
(न्युज एजेन्सी नेपाल)