अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले निजामतीलगायत कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्याए वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुने बताएका छन्।
संघीय निजामती सेवा ऐनमा अर्थ मन्त्रालयका तर्फबाट सुझाव र धारणा दिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा पुगेका अर्थ सचिव उपाध्यायले कर्मचारीको उमेर हद ६० वर्ष पुर्याए हुने बताएका हुन्।
अहिले कर्मचारीहरू ५८ वर्षमा अवकाश हुन्छन्। सरकारले संघीय निजामती विधेयकमा ६० वर्ष प्रस्ताव गरेको छ। तर नेपाली कांग्रेसका सांसद दिनेन्द्रप्रसाद बडू संयोजकत्वको उपसमितिले सहमति जुटाउन यसपालि अवकाश हुने ५८, अर्को वर्ष अवकास हुनेलाई ५९ र त्यसपछि अवकाश हुनेलाई ६० वर्षे उमेर हद लगाउन सक्ने सहमति गरेको थियो।
यसरी चरणबद्ध रूपमा भन्दा एकैचोटि अवकाश उमेर ६० वर्ष पुर्याउने हो भने वार्षिक ६० अर्ब बचत हुन आउने अर्थ सचिव उपाध्यायको भनाइ छ।
‘औसत आयु ५४ वर्ष हुँदा निजामतीमा ६० वर्षे उमेरहद थियो। अहिले ५८ वर्षे छ। औसत आयु अहिले ७२ वर्ष पुग्दा पनि ५८ बाट ६० वर्षे उमेर हद बनाउने कुरा छ,’ उनले भने, ‘अवकाश एकैपटक ६० वर्ष गरिदिए हुन्छ। निजामती सेवामा एकै वर्षमा धेरै जना आउँदैनन्।’
उनले मुलुकको अर्थतन्त्रको अवस्थाको दृष्टिकोणबाट यस्तो सुझाव दिएको पनि बताए।