राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति ऐनलाई आगमी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताएका छन्।
शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रूपमा प्रस्तुत नभएको र नहुने प्रतिबद्धता जनाए।
उनले सांसदहरूले स्वतन्त्रतापूर्वक विधेयकमाथि धारणा राखेको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताए।
उनले मुलुकको हितका लागि कानून बन्ने बताए।
उनले भने, ‘हामी यहाँ पार्टीगत रूपमा प्रस्तुत भएका छैनौं। जातिगत रूपमा प्रस्तुत भएका छैनौं। माननीय सदस्यहरूले इन्डिपेण्डेट रूपमा आफ्ना कुराहरू राख्नुभएको छ, स्वतन्त्रतापूर्वक। मुलुक सुहाउँदो रूपमा कानून बनोस्। हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ। हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौं।’
समितिको अर्को बैठक वैशाख ८ गते बस्नेगरी स्थगित भएको छ। —न्युज एजेन्सी नेपाल