रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभूति भएको बताएका छन्।
शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेसम्म निजामती कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गरे।
उनले विधेयकमा धेरै कुराहरू मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे।
उनले निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभई सबैको साझा विषय भएको बताए।
उनले सरकारले समस्याहरू फुकाउँदै छिटो ऐनहरू पारित होस् भन्ने चाहेको बताए।
रक्षामन्त्री राईले भन्नुभयो, ‘विधेयकमा विमति रहेका विषयहरूमा पनि मलाई लाग्छ आउँदो केही दिनभित्र सहमति गरेरै टुंग्याउँछौं। अन्तिममा हामी सहमतिमा पुग्ने हाम्रो परम्परा छ। निजामती सेवा ऐन बनाउने कुरा साझा विषय हो। राजनीतिक विषय नै नभएको कारणले यो विषयमा त हामी सहमतिमा नै पुग्छौं। यसमा जोडबल गर्नका लागि मान्यज्यूहरू सबै लाग्नुहुनेछ। हाम्रो देश धेरै पछाडि रहेछ भन्ने कुरा हामी सबैलाई अनुभूति भएको छ। आजसम्म हामी निजामती सेवा ऐन लागू गरिसकेका छैनौं। विद्यालय शिक्षा ऐनको कुरा पनि बाँकी नै छ। सरकार समस्या फुकाउन चाहन्छ। ऐनहरू छिटो बनोस् भन्ने कुरा चाहन्छ।’
मन्त्री राईले निजामती सेवा ऐन अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गरे। —न्युज एजेन्सी नेपाल