भारत–पाकिस्तान तनाव लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
शुक्रबार विज्ञप्ति निकाल्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो।
यो पनि: भारत-पाकिस्तान सिमामा अध्ययनरत नेपाली विद्यार्थी भन्छन्- रातभर ब्ल्याकआउट हुन्छ, साइरन बजिरहन्छ
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ।
यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ,’ मन्त्रालयले भनेको छ।
मन्त्रालयले वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुद इस्लामावादस्थित दूतावासको सम्पर्क व्यक्ति रहेको पनि जानकारी दिएको छ।
पहलगाम क्षेत्रमा आतंकवादीहरूले अन्धाधुन्ध आक्रमण गर्दा एक नेपालीसहित २६ जना मारिएको थिए। भारतले त्यसैको बदलास्वरूप आतंकवादीहरू रहने इलाकामा आक्रमण गरिरहेको छ। पाकिस्तानले त्यसको जबाफ दिइरहँदा दुवैतर्फ तनाव बढेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार सदनमा सरकारको ध्यानाकर्षण गराउँदै पाकिस्तानमा आफ्नो सम्पर्कमा आएका ८० जना नेपाली विद्यार्थीहरूलाई यथाशीघ्र उद्धार गर्न आग्रह गरेको थियो।
पाकिस्तानको सीमा क्षेत्रमा रहेका भारतका नेपाली विद्यार्थीहरू पनि उद्धारको प्रतीक्षामा छन्।
