पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू भएको दाबी गरेको छ।
पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो।
पाकिस्तानी सरकारको एक्स ह्याण्डलबाट पनि उक्त अपरेसन चलाइएको भनेर सार्वजनिक गरिएको छ।
यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति जारी गरेको पनि डनले उल्लेख गरेको छ।
यी कारबाहीहरू भारतले हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि आक्रमण गरेको जबाफमा गरिँदैछ भनेर सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
गएराति पाकिस्तानी वायु सेनाका तीन एयरबेसमा भारतले क्षेप्यास्र प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ।
डनले पाकिस्तानको सरकारी मिडियालाई उद्धृत गर्दै अपरेसन बन्यान उन मर्सुसबाट आक्रमण भएका भारतीय भूभागहरुको सूची नै सार्वजनिक गरेको छ।
उसले भारतको अदामपुरमा रहेको हवाइ प्रतिरक्षा प्रणाली एस-४०० लाई पाकिस्तानले जेएफ-१७ हाइपरसोनिक मिसाइलले नष्ट बनाएको दाबी गरेको छ।
त्यस्तै विद्युत ग्रीड, केजी टप ब्रिगेड मुख्यालय, उरी आपूर्ति डिपो, अदमपुर हवाइ अड्डा, देखरंग्यारीको तोपखाना, ब्रम्होस भण्डारणस्थलमा लक्ष्य गरिएको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।
उसले भारतविरूद्ध कारबाही गरिएको भिडिओ नै सार्वजनिक गरेको छ।
यसको स्वतन्त्र पुष्टी हुन भने बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतले अप्रिल २२ मा जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा अपरेसन सिन्दुर चलाएर बुधबार राति पाकिस्तानी भूभागमा आक्रमण गरेको थियो।
त्यसयता भारत र पाकिस्तानबीच मिसाइल र ड्रोन हमला भइरहेका छन्।
शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न भूभागमा ठूला-ठूला विस्फोटका आवाज सुनिएको भनेर भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले जनाएको छ।
त्यस्तै पाकिस्तानी भूभागहरूमा पनि रातिभरि भारतीय आक्रमण भएको भनेर पाकिस्तानबाट प्रकाशित हुने पत्रिका द डनले जनाएको छ।
शनिबार बिहान साढे ४ बजे भारतको जम्मूमा विस्फोटको ठूलो आवाज सुनिएको थियो।
पाकिस्तानी ड्रोन देखिएपछि जम्मू र हरियाणामा ब्ल्याकआउट गरिएको थियो।जम्मू, साम्बा, बर्मर, जइसाल्मर, गुर्दासपुर, होसियारपुर, अमृतसर लगायतका ठाउँका सैन्य शिविरहरूलाई लक्ष्य गरेर पाकिस्तानले आक्रमण गरेको बताइएको छ।
यद्यपि उसको हवाइ आक्रमण भारतको एयर डिफेन्स सिस्टमले निष्क्रिय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। श्रीनगर विमानस्थलमा पनि ड्रोन हमला भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतले दुई रातमा ३०० देखि ४०० वटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ।
भारतले गएराति पाकिस्तानका तीन वटा हवाई अड्डामा आक्रमण गरेको बताइएको छ। डनले पनि तीनवटा हवाइ आधार क्षेत्रमा आक्रमण भएको तर त्यसलाई बिफल पारिएको भनेको छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले राजधानी इस्लामावाद नजिकैको रावलपिण्डी र पश्चिमी पञ्जाबका हवाइ अड्डालाई लक्ष गरी भारतले मिसाइल आक्रमण गरेको बताएका छन्।
‘नूर खान बेस, मुरीद बेस र शोरकोट बेसलाई निशाना बनाइएको थियो,’ पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल चौधरीले टेलिभिजन सम्बोधनमा भने।
दुई दिनमा पाकिस्तानले भारतका ७२ वटा ड्रोन निष्क्रिय पारेको डनले लेखेको छ।
पाकिस्तानले शनिबार बिहान सवा ३ बजेदेखि मध्याह्न १२ बजेसम्म हवाइ क्षेत्र बन्द गरेको छ। भारतले हवाइ क्षेत्र खुला राखेर पाकिस्तानले आफ्ना नागरिकहरूलाई खतरामा पारेको आरोप लगाएको थियो।
शुक्रबार रातिको हमलाबाट दुई देशमा के-कति क्षति भयो भन्ने विवरणहरू आइसकेका छैनन्। बिहीबार राति भारतले लाहोरलको एयर डिफेन्स नष्ट पारेको दाबी गरेको थियो।
दुई देशबीच बढ्दो तनावबीच अन्तर्राष्ट्रिय समुदायहरूले दुवै देशलाई संयम अपनाउन भनेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूविओले दुई देशसँगै कुराकानी गरिरहेको र मध्यस्थको भूमिका खेलेको ह्वाइट हाउसले जनाएको छ।