गभर्नर समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिने भएका छन्।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमतिभएसँगै उनले समितिबाट राजीनामा दिन लागेका हुन्।
उनले यसबारे मौखिक रूपमा अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको बताएका छन्।
यद्यपि लिखित राजीनामा भने सोमबार कार्यालय समयपछि मन्त्रालयमा बुझाउने तयारी रहेको उनले बताए।
‘सिफारिस भएको मान्छेले त राजीनामा दिनै पर्यो। भोलि कार्यालय समयमा राजीनामा पत्र बुझाउने छु,’ उनले भने।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्न राजीनामा दिएका थिए।
तर लामो समयसम्म पनि उनको राजीनामा स्वीकृत नभएपछि सत्तारूढ दलले नयाँ गभर्नर सिफारिस गर्ने तयारी गरेको हो।
पौडेल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन्।
उनले चितवन-१ बाट निर्वाचन समेत लडेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पराजित गरेका थिए।