राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न माग गरिन्।
‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ति छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन्। त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरु राख्न चाहन्छु। हामी स्थिर सरकार चाहन्छौं, जहाँ विकासले गति लिओस्। हाम्रो भविष्य सुनिश्चित गरियोस्,’ उनले भनिन्।
हजुरबुबाको पालादेखिका नेताहरूबाट आशा मरिसकेको उनको भनाइ छ।
‘म जन्मिनुअघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरूको म्याद गुज्रिसक्यो। हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौं। हामी रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौं। सीप विकासका तालिम चाहन्छौं,’ उनले भनिन्।