कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा प्रवेश गर्नेहरूलाई साथमा मोबाइल बोकेर जान निषेध गरिएको छ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समययता मोबाइल लिएर मुख्यमन्त्रीलाई भेट्न जान रोक लगाएको हो।
मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ।
मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले यस्तो अभ्यास गरेको धेरै समय भइसकेको दाबी गरे। तर, मुख्यमन्त्री कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले भने यो चलन भर्खरै सुरू भएको जानकारी दिए।
जनसम्पर्क सल्लाहकार खनालले मोबाइल बोकेर मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गर्नेहरूले फोटो खिचेर समय लिइदिने गरेका कारण निषेध गरिएको बताए।
‘सुरक्षा वा अरू कुनै कारणले होइन, फोटो खिच्न खोज्नेहरूका कारण समय खर्च धेरै भयो। समय बचतका लागि यस्तो गरिएको हो,’ उनले भने।
मुख्यमन्त्रीको सचिवालयले धेरै समयदेखि यस्तो अभ्यास गरिएको दाबी गरे पनि यो प्रबन्ध सर्वसाधारणका लागि मात्रै लागु भएको छ। नेता, कर्मचारीहरूका हकमा भने यो प्रबन्ध लागु भएको छैन।
मंगलबार मात्रै माओवादी नेताहरूले मुख्यमन्त्रीलाई उनकै कार्यकक्षमा भेटेको फोटो सार्वजनिक गरेका छन्।
कोशी प्रदेशको मुख्य विपक्षी दल माओवादी केन्द्रका नेताहरूले मंगलबार मुख्यमन्त्रीकै कार्यकक्षमा पुगेर उनलाई भेटेका थिए।
संसदीय दलका नेता इन्द्र आङ्बो, सांसदहरू जीवन आचार्य, गणेश उप्रेती, प्रमुख सचेतक गीता तिम्सिना, सचेतक सपना परियारसहितका नेताहरूले नीति तथा कार्यक्रमबारे मुख्यमन्त्रीलाई सुझाव दिएका थिए। उनीहरूको साथमा रहेको मोबाइल भने नमागिएको नेताहरूले बताएका छन्।
‘खै त्यस्तो त केही थाहा भएन, हामीले त मोबाइल साथैमा लिएर गएका थियौं’, माओवादी नेता आङ्बोले भने, ‘हामीले छलफल सकिएपछि मुख्यमन्त्रीजीसँग फोटो पनि खिचायौं।’