चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी पक्राउ परेका छन्।
मंगलबार दिउँसो १ बजे दुई जना व्यक्तिले नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई दुर्व्यवहार गरेका थिए। लगत्तै नेकपा (बहुमत) चितवनले उक्त घटनाको जिम्मेवारी लिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले अनुसन्धानका लागि भरतपुर-१० बस्ने नेकपा (बहुमत)का सेक्रेटरी ध्रुब खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए।
उनको साथबाट ९ थान पर्चा पनि बरामद भएको खनालले बताए।
नेकपा(बहुमत) पार्टीले विज्ञप्ति जारी गरेर नापी कार्यालयका प्रमुख लम्सालले भूमाफियासँग मिलेर पूर्वी चितवनको विभिन्न ठाउँमा नमिल्ने जमिनको कित्ताकाट गरेको, मोटो रकम लिएको आरोप लगाएको छ।