प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस संसदीय दल नेता परिवर्तन गर्न १२ जना सांसद नपुगेको भनेर एक जनाले आफूलाई सुनाएको बताएका छन्।
यस्तो कुरा बताउने पात्र परिवर्तन भइराख्ने उल्लेख गर्दै ओलीले कांग्रेस दल नेता फेरिने सम्भावना नदेखिएको बताए।
प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। २०७९ पुस ६ गते भएको संसदीय दल निर्वाचनमा दल नेता पदमा सभापति शेरबहादुर देउवाका पक्षमा ६४ र महामन्त्री गगन थापाका पक्षमा २५ मत आएको थियो।
‘मंगलबार बिहान आएर मलाई एक जनाले भन्यो; नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन। १२ जना पुर्याएर ढाल्ने भए भनेर सुनाएको थियो, यो कथा कति सुन्नु, कान टट्याइसक्यो। यो कथा हो, यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर सरकार भएको बताए।
काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले सरकार कुन बेला ढल्छ भन्ने नसोचि काम गर्न निर्देशन दिए।
विगतमा कहिले सरकार ढल्ने भन्ने चिन्ता हुने गरे पनि यो सरकार ०८४ सम्मै जाने उनले बताए।