पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन र पारदर्शिताको अभावकै कारण नागरिकमा निराशा चुलिएको बताएकी छन्।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीलाई ओलीले भने पार्टी बैठकबाटै सदस्यता रोकेर जबाफ दिइसकेका छन्।
यहीबेला पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा अहिले सुशासन, पारदर्शिता र जबाफदेहिताको अवस्था कमजोर भएको र त्यसैले निराशा बढाइरहेको बताएर ओलीको नेतृत्वप्रति कटाक्ष गरेकी हुन्।
विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा भण्डारीले लिखित मन्तव्य राखेकी थिइन्।
‘सुशासन र पारदर्शिताको अभाव तथा जनता प्रतिको कमजोर जबाफदेहिताले आज हाम्रो समाजमा गम्भीर नागरिक निराशा उत्पन्न गरेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘राज्य प्रतिको विश्वास दिनानुदिन कमजोर हुँदै गएको छ र असन्तोष क्रमश: बढ्दो छ।’
सुशासनलाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्दै भण्डारीले भनिन्, ‘जबसम्म सुशासनलाई व्यावहारिक रूपमा हामी कार्यान्वयन गर्न सक्दैनौं तबसम्म विकास न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
आफ्नो मन्तव्यको बहुसंख्यक समय स्थानीय सञ्चार माध्यमको महत्वका बारेमा बोलेकी भण्डारीले अहिलेको नेतृत्वप्रति कटाक्ष गर्न भने छुटाइनन्।
प्राकृतिक र सांस्कृतिक स्रोतले सम्पन्न भएर पनि ती स्रोतको उपयोग हुन नसकेको भण्डारीको भनाइ थियो।
‘हाम्रो देश प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदामा सम्पन्न भए पनि ती स्रोतको सदुपयोग हुन नसक्दा गरिबी र बेरोजगारी अझै पनि पूर्ण रूपमा अन्त्य हुन सकेको छैन,’ उनको भनाइ थियो, ‘कृषि प्रधान मुलुक भए पनि खाद्यान्न र दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसक्दा आयातमा अत्यधिक निर्भर हुनु परेको छ। जसले गर्दा हाम्रो व्यापार घाटा दिनानुदिन चुलिँदो अवस्थामा छ।’
नागरिक निराशाबारे भण्डारीले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा युवाहरू विदेश जान बाध्य भएको पनि उल्लेख गरिन्।
‘उच्च प्राविधिक तथा शिक्षित जनशक्तिको समेत विदेश पलायन बढ्दो छ,’ उनले थपिन्, ‘यसरी ऊर्जाशील युवा तथा दक्ष जनशक्तिको निरन्तर विदेश पलायनलाई रोक्न नसके राष्ट्रिय विकास उद्योग स्वास्थ्य शिक्षा र प्रविधिको विकासमा ठूलो समस्या आउन सक्दछ।’
राष्ट्रिय आय मुख्यत: स्वदेशी उत्पादन र करमा आधारित हुनुपर्नेमा हाल वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण र आयातमा लगाइएको भन्सार शुल्कमा निर्भर रहेको बताउँदै उनले भनिन्, ‘सीमित निर्यात पनि प्राय: विदेशी कच्चा पदार्थमा आधारित मूल्य अभिवृद्धि गरिएका वस्तुमा केन्द्रित रहेको छ। त्यसैले अब हामीले उपलब्ध स्रोतको सदुपयोग गर्दै स्वदेशी उत्पादन बढाउन युवालाई स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी उपलब्ध गराउन र राष्ट्रिय आयको आधार बलियो बनाउन कदम चाल्न पर्दछ। यसो गरे मात्र हामी दिगो विकास र समृद्धिको मार्गमा अघि बढ्न सक्दछौं।’
भ्रष्टाचार नेपालको समग्र विकासको मार्गमा मुख्य चुनौती भएको बताउँदै भण्डारीले भनिन्, ‘आज पनि नेपालको समग्र विकासको मार्गमा विभिन्न चुनौती र अवरोधहरू रहेका छन्। जसमा राजनीतिक अस्थिरता सुशासन र पारदर्शिताको कमी भ्रष्टाचार आर्थिक असमानता सामाजिक पछौटेपन तथा ग्रामीण र सहरी विकासमा असन्तुलन मुख्य कुरा हुन्। यी चुनौतीहरूले केवल राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्याउने मात्र नभई दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेको छ।’
सोमबार बिहान विराटनगर आएकी भण्डारी अहिले राजनीतिक भेटघाटमा व्यस्त छिन्।
कार्यक्रम लगत्तै भण्डारी विराटनगरका पुराना वामपन्थी नेता लव प्रधानलाई भेट्न उनको घरैमा पुगेकी छन्। एमाले नेता विनोद ढकालले दिएको जानकारी अनुसार मंगलबार दिउँसो १ बजे उनी काठमाडौं फर्कने कार्यक्रम छ।
‘त्यसअघि नेता–कार्यकर्ताहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ,’ ढकालले भने।
भण्डारी उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने कोशीका मुख्यमन्त्री हिक्मत कार्की पनि सहभागी थिए। विमानस्थलमा मुख्यमन्त्री कार्यालयकै राज्यमन्त्री सिर्जना राई पनि स्वागतमा पुगेकी थिइन्। राज्यमन्त्री राई भण्डारीकै जन्मथलो भोजपुरकी हुन्।
भण्डारीलाई एमाले मोरङका नेताहरूले विमानस्थलमा स्वागत गरेका थिए। उनी पक्षीय एमाले केन्द्रीय सदस्यहरू युवराज बाँस्कोटा, रामलाल साह नेताहरू विनोद ढकाल, सुबोध प्याकुरेल, मोरङ उपाध्यक्ष सागर थापा लगायतका नेताहरू दिनभरि भण्डारीसँगै थिए।
भण्डारी उपस्थित कार्यक्रममा मोरङका विनोद ढकाल पक्षधर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहँदा संस्थापन पक्षका कार्यकर्ताहरूको भने नगण्य उपस्थिति थियो।