प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राष्ट्रिय आयोजना र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सरकारले मुलुकमा सुशासन कायम गर्नुको सट्टा विपक्षी दलहरूमाथि अपमानजनक व्यवहार गरिरहेको आरोप लगाएका हुन्।
लोकतन्त्रमा जहाँ सरकार त्यहाँ भरोसा हुनुपर्नेमा जनतामा निराशा बढ्दै गएको उनको टिप्पणी छ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरु दुई दशकसम्म पनि नहुँदा पनि प्रधानमन्त्रीले ससंदको रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गरेको भन्दै आपत्ति समेत जनाए।
'आयोजनाहरु दुई दशकसम्म पनि पूरा हुँदैनन् । तर प्रभानमन्त्रीले रोष्ट्रमबाट देश स्वर्गै भएको जस्तो घोषणा गर्नुहुन्छ । कुन योजना कहिलेबाट सुरु गरेको भन्ने कुरा हामीसँग पनि रेकर्ड छ । सबैले आफ्नो पालामा राम्रा काम पनि गरेका छौं । आफूले गर्न नसकेका कामको सबैले जिम्मा पनि लिनुपर्छ। तर सरकारले देशलाई अर्कैतिर लग्न खोजेको प्रतित भएको कुरा पनि म यहाँ राख्न चाहन्छु,' उनले भने।
उनले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरुले संसद बहिस्कार गर्ने गरे पनि सरकारले संवादमार्फत समस्याको समाधान गर्न कुनै पहल नगरेको तर्क आरोप समेत लगाए।
उनले वर्तमान सरकारको धुन र संगीत केही नमिलेको भन्दै कटाक्ष गरे।
'विपक्षीहरुमाथितिर र वाण चलाउने, अपमानका शब्दहरु बौछार गरेर लोकतन्त्र फल्न, फस्टाउन र अगाडि बढ्न सक्दैन विपक्षीहरुमाथितिर र वाण चलाउने, अपमानका शब्दहरु बौछार गरेर लोकतन्त्र फल्न, फस्टाउन र अगाडि बढ्न सक्दैन। विपक्षीलाई सम्मान गर्न पनि सक्नुपर्छ । विपक्षीका दलहरु सदनलाई बहिस्कार गरेर निस्किनुभएको छ । खोई वार्ता भएको ? सरकार चलाउने दलले समस्या सुल्झाउनको लागि पहल गरेको खोई ?,’ उनले भने।