प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ पढाउने अधिकार नरहने बताएका छन्।
मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित महिलाको हक हितमा कानूनी संरचना विषयक अन्तक्र्रियामा उनले स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गरे।
प्रधानन्यायाधीश पराजुलीले शिक्षाको माध्यमबाटै समाजको विभेद् हटाउन सकिने भएकाले सामाजिक रुपान्तरण र लैङगिक समानताका विषय समेटिएका चेतनामूलक कार्यक्रम गाँउगाँउ पुर्याउनुपर्छ भने।
वाणिज्यमन्त्री मीन विश्वकर्माले रुपान्तरणमा शास्त्र होइन, प्रवृत्ति बाधक रहेको उल्लेख गर्दै विविधतालाई विभेद्मा बदल्ने इतिहासलाई आफूहरुले बदलिसकेको बताए।
उनले भने, 'विविधता सम्पति हो, विभेद् गलत हो, प्रवृत्ति बदलिएपछि रुपान्तरण गर्ने मार्गमा कुनै बाधा अड्चन हुदैन । यो पटक/पटकका घटनाले पुष्टि गरिसकेको पक्ष हो।'
नेपाली काँग्रेसका नेता महेश आचार्यले औपचारिक शिक्षामा मात्र नभइ महिला सशक्तिकरण र चेतना जगाउने सवालमा कलेजले पुर्याएको योगदान निकै प्रशंसनीय रहेको बताए।
उनले भने,'राजनीतिक गर्नेले नीति, नियम र विधानप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने पक्षलाई कसैले कही पनि बिर्सन हुँदैन, अन्यथा राजनीति र राजनेताप्रति जनताको आस्था र विश्वास कमजोर बन्न पुग्दछ।
पूर्वमन्त्री एवं संविधानविज्ञ् नीलाम्बर आचार्यले नारी शिक्षाले समाजलाई उज्यालो बनाउने पक्षलाई दृष्टिगत गरी मोर्डनकन्या कलेजले नारी शिक्षामार्फत असल पुस्ता निर्माणमा बेग्लै पहिचान दिन सफल भएको बताए।
कलेजका प्राचार्य सविन पोखरेलले मुलुकमा नारी शिक्षाको उन्नयनमा कलेजले पुर्याउँदै आएको योगदानबारे प्रकाश पारे।
सो अवसरमा समाजसेवी सुनिता पोखरेलले विद्यालयको नाममा अक्षयकोष स्थापनाका लागि प्रदान गरेको एक लाख २१ हजार १२१ रुपैयाको थैली प्रधानन्यायाधीश पराजुलीले कलेजलाई हस्तान्तरण गरे।
सो अवसरमा स्व वेदमाया दाहालका नाममा उक्त कलेजमा स्थापना भएको छात्रवृत्ति जेहन्दर छात्रा सुष्मा पहाडी र प्रजिना गौतमलाई प्रदान गरियो । कलेजको वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा विजयी छात्रालाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो। रासस