आदरणीय बुवा,
साष्टाङ्ग दण्डवत् प्रणाम ।
एउटा भारी मन लिएर यो पत्र लेख्दैछु।
यो चिठी हजुरलाई खुसुक्क लेखे पनि हुन्थ्यो अथवा पत्र नलेखेरै भेटमा सबै बेलिविस्तार लगाए पनि हुन्थ्यो।
तर यो पत्र र यसमा प्रयुक्त विषय वस्तु केबल हजुर र मेरोबीचको मात्र कथा होइन, इमानलाई सिरोपर गरेर लगनशील जागिरे जीवन बिताएका अरु हजारौं कर्मचारीको पनि हो।
उनीहरूलाई पनि आफैंले लेखे जस्तो लागोस् भनेर यो खुला चिठी लेख्ने धृष्टता गरेको छु।
यो चिठी लेखिरहँदा हजुरका सपना र अपेक्षाहरू आँखा अगाडि झल्झली घुमिरहेका छन् तर मेरै आँखा धुमिल भइरहेका छन्। यी धुमिल आँखाको सहाराले जीवनयात्रा कति परसम्म पुर्याउन सकुँला, सोचमग्न छु।
हजुरका सपनाहरू र त्यसमाथि थपिएका मेरा आफ्नै अठोटहरू, ती ठोस रहिरहन पाएनन् र पग्लिदैछन्। पग्लिँदा पग्लिँदै सकिन्छन् कि, चिन्तामा छु। किनकी, सबै सपनाहरू सकिएपछि जिन्दगीको औचित्य नै के रहन्छ र!
दोधारको यही दोसाँधमा छु। एउटा दलदलमा परेपछि बाहिर निस्किन गर्नुपर्ने संघर्षसरी भएको छ, जागिरे जिन्दगी। यो दलदलबाट बाहिर निस्कन हजुरको हात चाहन्छु। अरुले निर्देशित गरेको रेखामा हिँडेको जीन्दगी, अब आफैं हिँड्दै बाटो तय गर्न चाहन्छु। र, म जीन्दगीको दोस्रो अध्याय सुरू गर्न चाहन्छु।
कहिलेकाहीँ सोचाइमा पर्छु र गम खान्छु, म बढी महत्वकाक्षी भएँ कि महत्वकाक्षाविहीन? छ भनौं, धेरै ठूलो सपना केही देखिनँ। फेरि छैन भनौं, एउटा सहज जीवनयापनको परिकल्पना त गरिरहें। म अतीतमा पुग्छु र हजुरलाई नै सम्झिन्छु। हजुर मेरो बुवा मात्र नभएर मलागायत मेरा सहपाठीहरूको नेपाली विषय शिक्षक पनि हुनुहुन्छ। हजुरले नै अनुशासन सिकाउनु भयो, हजुरले नै इमान सिकाउनु भयो र हजुरले नै एउटा साधारण जीन्दगीबाट प्राप्त हुने सन्तुष्टिको सार्थकता बुझाउनु भयो।
हजुरबाट सिक्दा मैले सम्भवतः व्यवहारिक हिसाब बुवाको रूपमा र सैद्धान्तिक हिसाब शिक्षकको रूपमा सिकें। हजुरले सिकाउनुभएको यो सब कुरामा सत्यको प्रतिरक्षा र अन्यायविरूद्धको प्रतिरोधको हिस्सा कति थियो कुन्नी ? तर त्यो पनि आफ्नै जीवन भोगाइको क्रममा देख्दै गएँ, सिक्दै गएँ।
बुवा,
विदितै छ हजुरलाई, जागिर सुरू भएको अर्को वर्ष बिहे भइहाल्यो, सरकारी तलबले काठमाडौंमा हामी दुई पालिन गाह्रो भयो। महिनै पिच्छे साथीभाइसँग मागिएको ५, ७ हजारको सापटी बढेर ५० औं हजारमा पुगेपछि बिहेमा मैले उनलाई लगाइदिएको र उनले मलाई लागाइदिएको गरगहना धरौटीमा राखेर राष्ट्रिय वाणिज्य बैंकबाट ऋण निकालेर तिर्नु पर्यो। पछि बुहारी गर्भवती भइन्, बाबु जन्मियो। सामान्य छाक टार्नै गाह्रो हुने मलाई, उनलाई पोषक खानेकुरा खुवाउने कुरा त कल्पना भन्दा परको रह्यो। समयले हाम्रो जीन्दगी च्याप्दै लगेपछि आय आर्जनको वैकल्पिक उपाय नगरी भएन। आफन्त साथीभाइसँग सरसापटी गरेर भए पनि एउटा सानो पसल सुरू गरियो। नौ महिनाको बच्चा काखमा च्यापेर, घाम पानी केही नभनी बुहारी दैनिक करिब दुई किलोमिटर पैदल आउजाउ गर्नुपर्ने त्यो बाध्यताको सम्झनाले मन अहिले पनि पोल्छ। एकातिर उनको त्यस्तो बाध्यता र अर्कोतिर त्यो नौ महिने बच्चाको बेहाल। न खानाको टुंगो, न सुत्नको, सडक किनारको पसल, धुलो र धूँवा उस्तै।
आखिर बाध्यतासामू मन मार्नुको विकल्प के रह्यो र ? प्रश्न त्यही बेला झन् पेचिलो बन्यो, आखिर म जागिर किन खाइरहेको छु ? कि जागिरले मलाई खाइरहेको छ ? फेरि यही जागिर खान मानिसहरू किन मरिहत्ते गर्दै छन् ? एउटा निष्कर्ष पनि मैले त्यही बेला निकालेको थिएँ : सायद म जागिर खान जान्दिनँ।
हो, मैले जागिर खान जान्दिनँ।
सबैले खाएको जागिर खान मैले चाहिँ किन जान्दिनँ ?
किनभने, जागिरभित्रका अनेक उपव्याख्याहरूसँग म परिचित हुन सकिनँ। जागिरले सृजना गर्ने ‘स्रोत’हरू ठम्याउन सकिनँ।
बुवा,
मैले बिर्सिएको छैन, मेरै बिहे गर्न हजुरले लिनुभएको ऋण अझै तिर्न बाँकी छ। भाइ बिरामी भयो र त्यो उपचार गर्न लागेको ऋण पनि उसै गरी बाँकी छ। त्योभन्दा अगाडि बहिनीहरूको डोली अन्माउँदा लागेको ऋणको भारी पनि उस्तै। स्वभाविक हो कि, हजुरलाई लागेको छ, छोरोले केही सहयोग गरे हुन्थ्यो। तर म निरीह छु। मैले भन्नै पर्छ, मैले तिरेर त्यो ऋण कहिले तिरिने छैन। बुहारीको व्यवसाय सुरू गर्दा लागेको केही ऋणले म आफैं थिचिएको छु। किनभने मैले जागिर खान जानिनँ। जानेको भए सायद त्यो ऋण उहिले तिरिन्थ्यो।
हजुरलाई अनुरोध गर्छु, हजुरले जोड्नु भएको जे सम्पत्ति छ, त्यो बेचेर भए पनि ऋण तिरिदिनुस्। हजुरले हाम्रा लागि साँच्नुभएको सम्पत्तिले भन्दा त्यो ऋणको भारबाट हजुरको उन्मुक्तिले मलाई धेरै सन्तोष मिल्नेछ।
बुवा,
हजुरलाई हिसाब बुझाउँ ? मेरो खर्चको ?
जागिरबाट ३० –३२ हजार मैले र पसलबाट ५० –५५ हजार मासिक बुहारीले कमाउँछिन् । अझ भनौं, परिवारको आम्दानी ८०–८५ हजार । कमाई नराम्रो होइन । तर खर्च ? फ्ल्याट भाडा (बत्ती, पानी, इन्टरनेट, आदि सहित) करीब १८ हजार । पसलको शटर भाडा २० हजार । घर खर्च करीब १० हजार । छोरोको स्कुल फी १०५०० र त्यसमा अन्य खर्च समेत जोड्दा १५ हजार । पसल कुर्न एकजना कर्मचारी राखेको छु, मासिक रु. १० हजारमा । हामी आफैलाई पनि केही व्यक्तिगत खर्च करीब ५ हजार । बुवा, ऋणको व्याज समेत जोड्ने हो भने त्यही कमाईले खर्च धान्दैन । सरकारी कर्मचारी कसरी धानिरहेका छन् ? आफ्नै हिसाबसँग आफैं विरक्तिन्छु ।
बुवा,
म सम्झन्छु, तत्कालीन एसएलसी सकेपछि नै छोरोले लोक सेवाको तयारी गरे हुन्थ्यो भन्ने हजुरको निरह र सरकारी जागिर त खाँदै खान्न भन्ने मेरो जिद्धी बीचको द्वन्द्व लामै समय रह्यो। तर जिन्दगीको लेखा भनौं वा जोखाना, दस वर्ष अगाडिको समयले टुप्लुक्क लगेर त्यही सरकारी आसनमा लगेर राख्यो।
आम्दानीको कुनै न कुनै स्रोत पहिल्याउनै पर्ने दबाबबीच प्राप्त त्यो जागिर मेरो लागि एउटा बाध्यता थियो तर हजुरको लागि सपनाको वास्तविकता। म सुब्बा भएको थिएँ। मेहेनत त मेरो आफ्नै थियो तर आफ्नै लागि थियो कि थिएन, आजपर्यान्त दोधारमा छु।
मलाई त्यतिबेलै अचम्म लाग्थ्यो कि, मानिसहरू सरकारी जागिर खान किन मरिहत्ते गर्छन्? आम्दानीको हिसाब हेर्यो भने त्यसले आफ्नै परिवार पाल्न पुग्दैन, थप सपनाहरूको व्यवस्थापन कसरी हुन्छ? अहिले बुझ्दैछु। त्यो त फगत एक पटकको राजनीतिक नारा जस्तै रहेछ : ढाडमा टेकेर टाउकोमा हान्ने। धेरै के बोलौं, हजुरले बुझिहाल्नु भयो।
बुवा,
आम्दानी र खर्चको कुरा छोडिदिउँ । मानौं कि त्याग सहितको देश सेवा गरौं। नगरेको कहाँ हो र? इमानको कुन हद प्रदर्शित गरिएन र ! दिइएको कुन चाहिँ जिम्मेवारी पूरा गरिएन र ! अवसर पाउँदा आफ्नो पदीय हैसियतभन्दा माथिको काम पनि सफलतापूर्वक सम्पन्न नगरेको कहाँ हो र ! तर देख्नेको आँखामा दलालीको पट्टी बाँधिएपछि के नै लाग्ने रहेछ ? त्यसैले बुवा, अचेल म कार्यालय त दैनिक जान्छु तर काम ? सकेसम्म तर्किन खोज्छु । गरे पनि अह्राए खटाएको मात्र । कारबाही होला भनेर डराउनुहोला । ढुक्क हुनुहोस्, यता त्यस्तो चलन छैन। काम गर्नु र नगर्नुमा कुनै विभेद छैन। बरु काम नगर्ने र सुमेरु घुमिराख्यो भने चाहिँ अलि बढी अवसर प्राप्त हुन्छ । तर हजुरलाई थाहै छ, स्वाभिमानको शिर दलालीको खुट्टामा लगेर जोत्ने मेरो प्रवृत्ति होइन।
बुवा,
जागिरे त परिपक्व भएँ तर आफ्नै जीन्दगीको सार्थकता ? डर यता पो लाग्छ बुवा । यही डरले प्रत्येक दिन जब मेरो पैताला कार्यालय तिर लम्किन्छन्, लाग्छ कि दिवा जेलमा समय कटाउन जाँदै छु। लाग्छ कि, केही रकम तिरेर मलाई जेलमा राख्नका लागि खरिद गरेका छन्। यही जागिर कुरेर बसें भने म एउटा निरीह, खस्रो र मह सकिएको चाका जस्तो, बेकामे भएर निस्किनेछु। जतिबेला निस्किनेछु, सबै सकिएर निस्किनेछु। यो कल्पनाले मलाई अचेल धेरै नै सताउन थालेको छ। धेरै गर्ने रहर बाँकी छन्, तिनलाई पूरा गर्ने समय घर्किंदो छ। दस वर्षे जागिरे अवधिले भुत्ते बनाउँदै लगेको मेरो क्षमता पूर्नजागृत गर्न पनि वैकल्पिक जीवन यात्रा सुरू गर्नुको विकल्प छैन । यसमा हजुरको सहमति खोजेको छु। हजुरको सपनाहरुको विसर्जन भएको नठानिदिनु हुन अनुरोध गर्दछु ।
बुवा,
हजुरलाई लाग्दै होला, के गर्ने सोचेर यो सब गरिरहेछ यसले भन्ने। विल्कुल स्वभाविक हो बुवा हजुरको प्रश्न। तर हजुरलाई आश्वस्त पार्न चाहन्छु, म निर्जिव भएर वा हुनलाई विकल्प सोच्दै छैन। बरु म मेरै क्षमता अनुसारको, मेरै रुचि अनुसारको र स्वाभिमान अनुसारको काम सुरू गर्नेछु। हजुरकै आशिर्वाद थापेर। यो चिठी लेख्दै गर्दा पनि बाहिर झमझम असारे झरी परिरहेको छ, जसले माटोको अनौठो सुवास छरिरहेको छ। र, कल्पनाले मलाई म सानो छँदा लडिबुडी खेल्ने आफ्नै गाउँको खेतबारीको हिलो माटोमा पुर्याइरहेको छ। यस्तो लाग्दैछ, त्यो हिलोमाटोले मलाई बोलाइरहेको छ। नयाँ प्रविधिमार्फत व्यवसायिक कृषिकर्म गरेर पनि आयआर्जन सहितको सन्तुष्ट जीवन बिताउन सकिन्छ। अझ आफ्नै कर्मको आफैं मालिक भएर। त्यही कल्पनाले रोमाञ्चित भएको छु।
अन्त्यमा,
मैले यही जागिर खाएर घर बनाउन सक्ने हैसियत कहिले विकास गर्न सक्ने छैन, यही जागिर खाएर बैंक व्यालेन्स मेन्टेन गरिराख्न कहिले सक्ने छैन र यही जागिरले मलाई सुखसयलको लागि पनि कुनै गुञ्जायस छोड्ने छैन। फेरि, कुरा कमाइको मात्र पनि होइन। अनावश्यक दलाली र गुलामी पनि मेरो क्षमता होइन। क्षमता जे हो, त्यसको पूर्ण प्रयोग गर्न पनि नपाइने र आफैंले प्रतिबन्ध लगाउनु पर्ने। विधि नबन्ने र बनेका विधि पनि त्यही दलाली र नोकरशाही अनुकूल बन्ने। नोकरशाही र दलाली नै कार्यसम्पादनको मानक हुने।
उफ् ! हजुरले सिकाउनुभएको इमानदारिताको मानकभित्र यो प्रवृत्ति जाँचेर हेर्दा, म कहालिन्छु। भगवान कस्ता हुन्छन्, अहिलेसम्म देखेको छैन। तर ‘भगवान’को अवतार सोचिएका कतिपय मान्छेका सफेद चेहराभित्रका काला कर्तुतहरू देखेर/सुनेर आफ्नै जिब्रो टोक्नुको विकल्प छैन अहिले। कर्तुतका फेहरिस्त पस्किए भने ती ‘भगवान’हरू फेरि उठ्न सक्दैनन्।
जागिरे जीवनका मेरो भोगाइ नै अन्तिम सत्य होइन र जागिर नै सर्वेसर्वा पनि होइन। तर यहाँभित्रको दलाली प्रवृत्तिले इमानदारितालाई सकेसम्म चेपुवामै राख्न खोज्छ। धेरै बोल्न सक्दैनन्, मैले त्यो दुस्साहस गरें । र, बोले वापतको परिणामका लागि तयार पनि छु। मैले यति लेख्दा हजुरको सपना र कल्पना अवश्य डगमगाएको छ। तर फेरि पनि हजुरकै जवाफको प्रतीक्षामा छु। मलाई विश्वास छ कि, हजुरले आत्मविश्वासपूर्वक भन्नुहुनेछ ‘छोरा, गो अहेड । आई एम प्राउड अफ यू’।
(यो एक काल्पनिक मनोभावना हो। कसैसँग मेल खाए संयोग ठानिदिनुहोला। इमानदारीपूर्वक राष्ट्रसेवा गरिरहनुभएका कर्मचारीहरूप्रति मेरो उच्च सम्मान छ)