मलाई आजभोलि 'संसारको सबैभन्दा सहनशील र हरेक कुरामा पनि समाहित हुने मानिसहरु भन्दा कसको याद आउँछ?' भनेर कसैले प्रश्न गर्यो भने 'हाम्रो देशको त्रिभुवन विश्वविद्यालयमा हाल स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु' भन्न मन लाग्छ।
यी सहनशीलहरु भित्र पढाइको हिसाबले म पनि पर्छु, तर म यसरी अत्याचार सहेर बसिरहन भने पटक्कै सक्दिनँ। म मेरा आवेगहरुलाई कहिले डायरीको पानामा त कहिले सामाजिक संजालका भित्ताहरुमा छरपष्ट पार्ने गर्छु।
हुन त म जस्तै सबैजना त्रिविको यो अत्याचारबाट दिक्दार हुनुभएको छ, तर केही दुई/चार जनाले मात्रै यहाँ खुलेर आलोचना गर्नु हुन्छ। आलोचना गर्नेहरुको पनि आवेग कहिलेकाही संजालहरुमा आउने गर्छन्।
यसरी साथीहरुको आवेग देख्दा मलाई रमाइलो लाग्छ। तत्काल यहीँ समयमा उठेर यस अत्याचारी विश्वविद्यालय विरुद्ध सानो अभियान पो थालौ कि भन्ने लाग्छ, तर फेरि सोच्ने बित्तिकै हताश हुन्छु।
कारण, म र ती केहीँ आवेग देखाउने साथीहरु बीचको दूरी धेरै छ। म यहाँ, उहाँहरु सयौं किलोमिटर टाढाको दूरीमा एक्लै पागल जस्तो कराएर हुनेवाला केही छैन। तर हामी केहीँ जस्तै आफ्नो आवेग देखाउँदै अन्यायका विरुद्ध बोल्न सक्ने अथवा भनौं बोल्न उत्प्रेरित हुने हरेक जिल्ला र क्याम्पसबाट निस्किने हो भने अवश्य पनि हाम्रो जित हुनेछ। हामीले केही हदसम्म न्याय पाउने छौं।
मैले माथि त्रिविलाई अत्यचारी भनेर सम्बोधन गर्दा अवश्य पनि हजुरको मनमा एक विश्वविद्यालयले के अत्यचार गर्छ र? यो त न्यायको पाठ सिकाउने गुरुकुल हो भन्ने लाग्न सक्छ। हजुरको यही विश्वविद्यालयले के अत्यचार गर्यो भन्ने प्रश्नको उत्तर यसै हरफमा दिने प्रयास गर्नेछु।
हामी हाल विचलित भइरहेकाहरुले २०७६ सालमा स्नातक प्रथम वर्षमा भर्ना गरेका हौँ तर हालसम्म पनि हाम्रो परीक्षा भएको छैन। हामीसँगै स्नातक तहमा काठमाडौँ विश्वविद्यालयमा भर्ना गर्ने साथीहरुले हाल दोस्रो वर्षको आधाभन्दा ज्यादा पाठ पढिसक्नु भएको छ।
यसको मामिलामा हजुरलाई लाग्न सक्छ काठमाडौँ विश्वविद्यालय सुगम ठाउँमा छ, यसका थोरै क्याम्पसहरु छन् र सम्भव भयो तर त्रिविको धेरै क्याम्पस छ व्यवस्थापन गर्न गाह्रो भयो यसमा के कुतर्क गरेको भनेर।
काठमाडौँ विश्वविद्यालयलाई मात्रै हेर्दा यो लाग्नु स्वभाविकै हो तर हामीभन्दा ठिक दुई महिना अगाडि मात्रै कक्षा ११ मा भर्ना गर्ने साथीहरुको ११ को परीक्षा भयो। त्यसपश्चात् १२ को पुरै पढाइ भयो। हाल सबै साथीहरु परीक्षाको तयारीमा हुनुहुन्छ।
भदौमा उहाँहरुको परीक्षा छ। कुनै तहको परीक्षा सकेर अर्को तहको पनि पुरै पढाइ भइसक्दा पनि त्रिविले परीक्षा गराउन नसक्नु के यो लापरबाही हैन र? विद्यार्थीहरुको समयलाई खेलाची दृष्टिकोणले हेर्नु कतिको न्यायोचित छ?
सँगै त्रिविकै सेमिस्टर सिस्टमको समेत परीक्षा मिति तोकिएको अवस्था छ। के यो वार्षिक परीक्षा पद्धतिका विद्यार्थीहरुको भविष्य माथिको खेलाचीपन हैन र? समयमै परीक्षा नभएकाले हामी सबै मानसिक असरबाट ग्रसित भइसकेका छौँ, के यसको जवाफदेही विश्वविद्यालय हुँदैन र?
अब हामी त्रिविसँग उत्तर माग्छौँ, हामीले परीक्षाको तयारी गर्नु कि आफ्नो डिप्रेसनको उपचार गरी देशमै केही गर्ने देखेको सपनालाई सपनामै सीमित राखी खाँडी जाने तयारीमा लाग्नु?
यहाँ अत्यचारी त्रिविलाई भनेर सम्बोधन गरेता पनि हामीलाई अन्यायमा पार्ने अर्को ठूलो समूह भनेको आफूलाई विद्यार्थी संगठन भन्न रुचाउने अराजक युवाहरुको झुण्ड पनि उत्तिकै जिम्मेवार छ।
त्रिविले दशैं अगाडि नै तत्कालीन अवस्थामा रोकिएका परीक्षाहरु गराउने सूचना प्रकाशन गर्दा परीक्षा हुनु हुँदैन र हामीलाई त्रिविले नसोधि परीक्षा तोक्न लगायतका नारा लगाउँदै सडकमा आन्दोलन गर्ने वर्षौं क्याम्पस नटेकेका अथवा कुनै पनि कक्षामा नबसेका विद्यार्थी संगठन भनाउँदा अराजक र अनुशासनहीन गैरविद्यार्थीहरुको जमातले पनि हामीमाथि अन्याय गरेको छ।
जबसम्म यस्ता विद्यार्थी संगठन र यिनीहरु जस्तै अराजक विद्यार्थी नेताहरु रहिरहन्छन् तबसम्म शैक्षिक क्षेत्रमा कुनै पनि विकास हुँदैन। आज हजुर स्पष्टसँग देख्न सक्नु हुन्छ, कुन विद्यार्थी नेता वा भनौं कुन विद्यार्थी संगठन दात्री संगठनको झोला नबोकी हिँडेको छ।
यहाँ त मान्छेहरु विश्वविद्यालयलाई राजनीतिको उद्गमस्थल बनाइरहेका छन्। आफू कतै नबिकेपछि ठूलो नेता हुने रहर बोकेर थुप्रैले थुप्रैको झोला बोकेको हामी सजिलै देख्न सक्छौं। तसर्थ अब यस्तो अराजक र गैरविद्यार्थी नेताहरुलाई पहिचान गरी कारबाही गर्न जरुरी छ।
हामीले आफ्नो कर्म पूरा गरिसक्दा पनि हाम्रो मूल्यांकन गर्न धेरै ढिला गर्ने त्रिविलो विरुद्ध अब हामी वास्तविक विद्यार्थीहरु उठ्नु पर्ने समय आएको छ। कुनै पनि पार्टी र संगठनको झण्डा नबोकी म सम्पूर्ण विद्यार्थी साथीहरुलाई कापी-कलम बोकेर सडकमै परीक्षाको तयारी गर्ने निस्कनु हुन अनुरोध गर्दछु।
हामीले अब त्रिविको साथसाथै गैरविद्यार्थी वा नामको मात्रै विद्यार्थी संगठनलाई चुनौती दिने समय आइसकेको छ। कति हामी विद्यार्थीहरु आन्दोलन र चक्काजाममा मात्र सक्रिय हुने?
आनुहोस् एकपटक आफ्नो पेशाको अनुशासनमा बसेर आफ्नो न्यायको लागि अभियान चालाउँ। कति हाम्रो उर्जा फलानोले ढिस्कानोलाई गाली गर्दाको भाषण सुन्नमा मात्रै खर्च गर्ने? आउनुहोस्, एकपटक हामी आफ्नो न्यायको माग गर्दै सडकमा निस्कौँ।
आउनुहोस् अनुशासित भई नौलो तरिकाले आफ्नो समयको हिसाब मागौँ। आफू भित्र गुम्सिएका जायज प्रश्नको उत्तर मागौँ। अनुशासनलाई अंकमाल गरी न्यायिक समाजको निर्माण गर्न प्रेरित गर्ने नौलो युगको सुरुआत गरौँ।