सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माणाधिन एकीकृत नमूना बस्ती निर्माणका लागि ग्लोबल फ्रेन्ड्स अफ तिलगंगाले १ करोड रूपैयाँ सहयोग गरेको छ।
गिरानचौरमा निर्माणाधिन एकीकृत सामूदायिक बस्तीको पर्यटन प्रवर्धनसमेतलाई सहयोग गर्ने भन्दै योजनाको खर्चका लागि भनेर तिलगंगाले उक्त रकम सहयोग गरेको हो।
साथै बस्ती विकासको प्रगतिको मूल्यांकनको आधारमा तिलगंगाले थप २ करोड रकमसमेत उक्त बस्तीलाई सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।
यदि उल्लेख्य प्रगति भएको खण्डमा तिलगंगाले बस्तीका १५० घरमध्ये प्रत्येक घरलाई अहिलेकोसहित जम्मा २ लाख दरले सहयोग पुग्नेगरि थप सहयोग जुटाउने तिलगंगा अस्पताल चलाइरहेको नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुरीध घिमिरेले जानकारी दिए। यदि यो सहयोगसमेत सहयोग प्राप्त भए बस्तीमा तिलगंगाको सहयोग तीन करोड सहयोग हुनेछ।
समुदाय आफैंले नेतृत्व गरेको यो बस्तीको लागत करिब २९ करोड लाग्ने अनुमान गरिएको छ । भुकम्पपछि तिलगंगा आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्दुक रूइतले उक्त बस्तीको निर्माणको लागि सहयोग जुटाउने प्रतिबद्धता गरेका थिए। विदेशमा रहेका तिलगंगाका साथी तथा सुभचिन्तकलाई सहयोगको लागि आव्हान गर्दै उक्त सहयोग रकम संकलन भएको थियो।
देश विदेशबाट प्राप्त सहयोग रकमलाई एक कार्यक्रममाझ बस्तीलाई हस्तान्तरण गरेको हो।
तिलगंगा अस्पताल चलाइरहेको नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुरीध घिमिरेले यस्तो उदाहरणीय बस्तीलाई सहयोग गर्न पाउनुमा तिलगंगाले गर्व महसुस गरेको बताए । घिमिरेले बस्तीले वातावरणमैत्री र हरित बस्तीका लागि सोलार र बायोग्यास प्रयोग गर्ने कुरामा विश्वास व्यक्त गरे।
मेलम्ची नगरपालिकाको गिरानचौरमा निर्माणाधिन एकीकृत बस्ती भूकम्पपछिको पुनर्निर्माणको नमूना भएको भन्दै यहाँको विकास निर्माणका सहयोगी बन्न बक्ताहरूले आग्रहसमेत गरेका थिए।
वि.सं. २०७२ सालको भूकम्प पछि ध्वस्त गिरानचौरको करिब तीन वर्षसम्ममा पनि पुनर्निर्माण हुन नसकेको पछि स्थानीयबासी आफैं गाउँ निर्माणमा जुटेका हुन्।
भूकम्पपछिको पुनर्निर्माण गति सुस्त भइरहेको अवस्थामा यो बस्ती समुदायाकै अग्रसरतामा पुनर्निर्माण हुनु भनेको पननिर्माणकै नमूना भएको बक्ताहरूले बताएका छन्।
करिब एक वर्ष अघि बस्तीको सिलान्यास गरेका राष्ट्रिय पुनर्निर्माण आयोगका तत्कालिन अध्यक्ष गोविन्दराज पोखरेलले बस्तीको अवधारण समुदायका सदस्य आफैंले बनाएको र निर्माण पनि बस्तीका स्थानीयलेनै नेतृत्व गरेकाले दिगो रूपमा सफल हुने बताए।
‘सरकारको पहलमा बनेका एकीकृत बस्तीहरू असफल हुन सक्छन्,’ पोखरेलले भने, ‘भारत र पाकिस्तानमा यस्ता कयौँ उदाहरण छन् । तर गिरानचौरका स्थानीयले आफैंले अवधारण बनाई नेतृत्व गरेकाले यो योजना सफल र दिगो हुन्छ।’
बस्तीमा निर्माण हुने १५० घर मध्ये ८३ वटाको निर्माण सुरू भइसकेको छ।
साढे दुई तलामा बन्ने पक्की घर बुढापाका, महिला, अपाङ्गता भएका व्यक्तिसमेतलाई मैत्रीपूर्ण हुने र हरेक घरमा खानेपानीको धारा, करेसा बारीलगायतका सुविधा हुनेछन्।
गाउँमा पर्यटन प्रवर्धनका लागि होमेस्टे राखिने भएको छ। एक घर एक कामदारको अवधारणा प्रयोग गरि यस बस्तीमा प्रयोग हुने सबै श्रम स्थानीयले नै दान गरिरहेका छन्।
गिरानचौरवासीलाई साहसीपूर्ण रुपमा यो वस्तीको निर्माण गर्न हिम्मत गरेकोमा बधाई दिँदै सिन्धुपाल्चोकबाट निर्वाचित सांसद शेरबहादुर तामाङ र प्रादेशिक सांसद निमा लामाले बस्तीमा सहज आवातजावात सुनिश्चित गर्न बाटोको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए।
तिलगंगालाई ग्लोबल फ्रेन्ड्स अफ तिलगंगामार्फत सहयोग गर्दै आएको संस्था भिजन हिमालयका अध्यक्ष थोमस ब्युख्लीले बस्ती पुनर्निर्माणलाई एक स्वस्थ्य पुनर्निर्माण प्रक्रिया भएको प्रतिक्रिया दिए।
‘म यहाँबाट एक स्वस्थ्य पुनर्निर्माण प्रक्रियाको अनुभूति लिएर जानेछु र यस कार्यको लागि सहयोग गर्नुहुने सबैलाई उहाँहरुको गरेको सहयोगप्रति गौरब महसुस गर्न सक्नुहुनेछ भन्ने सन्देश दिनेछु,’ कार्यक्रममा बोल्दै उनले भने।
बक्ताहरूले एकीकृत वस्तीको आर्थिक उत्पादकत्वमा पनि ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए।
सांसद तामाङले गिरानचौर हिमालको सुन्दर दृश्यले पूर्ण भएकोले पर्यटन प्रवर्धनमा विशेष जोड दिएर गाउँको सौन्दर्य र स्थानीय खानपानबाट आर्थिक रुपमा प्रचुर फाइदा लिनुपर्ने बताए।
गिरानचौरमा नजिकै तीन एकीकृत बस्ती निर्माण हुँदैछन्। जसमध्ये हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस्-सुन्तली फाउन्डेसनले निर्माण गरेको बस्ती गएको तिहारैमै स्थानीयलाई हस्तान्तरण गरेका थिए।