सर्वोच्च अदालतमा सबै न्यायाधीशहरूको बैठक फुल कोर्ट बसेको छ।
बुधबार दिउँसो खाजा समयमा फुलकोर्ट बसेको सूचना अधिकारी निराजन पाण्डेले बताए।
‘सामान्य छलफल गर्न बसेको बैठक हो। बैठक बसिरहन्छ। आजको बैठक पनि नियमित नै हो। केही खासै होइन,’ उनले भने।
पछिल्लो समय सर्वोच्च अदालतमा गोलाप्रथा विवादले गर्दा संवैधानिक इजलास बस्न सकेको छैन। एक महिना बितिसक्दा पनि उक्त बैठक बसेको छैन।
संवैधानिक इजलास नबसिरहेको बेलामा फुलकोर्ट बस्नाले त्यसलाई फुकाउनका लागि बसिएको हुनसक्ने आशंका गरिएको हो।
यद्यपि यस बैठकमा केही एजेन्डाहरू राखिएको स्रोतले बतायो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मागेका रायका विषय छलफल भएको थियो।
स्रोतका अनुसार मन्त्रालयले कानुनी सहायता ऐन, २०७४ लाई संशोधन गर्न राय माग गरेको हो। त्यससम्बन्धमा छलफल भएको हो।