लेखनाथ जयन्तीका अबसरमा चितवन साहित्य परिषदले दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । उसले शनिबार कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई कृष्ण कृष्णा साहित्य पुरस्कार अर्पण गरेको हो ।
परिषदले कविशिरोमणि लेखनाथ पौड्यालको एक सय चौंतिसौं जन्मजयन्तीका अवसरमा थापाको ’सहयात्री शब्दहरू’ कविता संग्रह र ढुङ्गानाको कथा संग्रह ’बतासा’का लागि संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको हो ।
नारायणगढस्थित परिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रेमविनोद नन्दनद्वारा स्रष्टाद्वयलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
पुरस्कृत कवि थापाको व्यक्तित्व र कृतित्वबारे गणेश श्रमणले र कथाकार ढुङ्गानाबारे धनराज गिरीले प्रकाश पारेका थिए । परिषदले प्रत्येक वर्ष लेखनाथ जयन्तीका अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।