जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरले विद्यालयहरूमा ट्राफिक नियमबारे पढाउने भएको छ।
ट्राफिक नियमबारे विद्यार्थीहरुलाई जानकारी दिन ललितपुरका हरेक विद्यालयमा बिहान १ घन्टा ट्राफिक नियमबारे पढाइले ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।
विद्यार्थीमार्फत अभिभावकलाईसमेत ट्राफिक नियमबारे जानकारी गराउन सजिलो हुने भएकाले विद्यालयमा यस्तो कक्षा सञ्चालन गर्न लागिएको उनले बताए।
उद्योग वाणिज्य महासंघ ललितपुरको सहयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारीसमेत गराईएको थियो। कार्यक्रममा ट्राफिक सचेतनासम्बन्धी भिडियो तथा विभिन्न चेतनामुलुक वृत्त चित्र ‘ट्राफिक अंकल’समेत प्रदर्शन गरिएको थियो।
विद्यालयमा विशेष गरि ट्राफिक संकेतबारे जानकारी, बाटो काट्ने सुरक्षित तरिका, सवारी साधनहरुको गति, त्यसका प्राविधिक पक्ष, रक्सी खाएर सवारी साधन चलाउँदा हुने बेफाइदा, उपत्यकामा सवारी दुर्घटनाको अवस्थालगायतका विषयमाजानकारी दिने हाथेछुले जानकारी दिए।
विद्यार्थीहरुालाई ट्राफिक संकेतहरुबारे पर्याप्त जानकारी नभएको पाइएको उनको भनाई छ। ‘हामीले कारबाही गरेर मात्रै हुँदो रहेनछ जबसम्म ट्राफिक नियमबारे चेतना हुन्न तबसम्म ट्राफिक नियम उलंघन गर्ने कमी हुन्न,’ उनले भने,‘घरको पहिलो गुरू भनेको विद्यार्थी हो उसले बा-आमा, दाजु दिदीलगायत सबैलाई सचेत गराउने भएकाले हामीले स्कुल रोजेका हौ।’
ट्राफिक प्रहरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी सेन्ट जेभियर्सकी दीपनाले सडक दुर्घटना कम गर्न विद्यार्थीलाई जानकारी चाहिने बताइन्। ‘म अहिले कक्षा ६ मा पढ्छु, तर मलाई अहिलेसम्म ट्राफिक नियमबारेमा त्यति धेरै थाहा थिएन, आज यहाँ आएर धेरै कुरा सिक्न पाएँ। अब यो कुरा म सबैभन्दा पहिला घरमा बाबा ममिलाई भन्छु।’
आफूलाई जेब्रा क्रसिङ, ट्राफिक लाइट र स्काइब्रिजबारे केही थाहा नभएको समेत उनले बताइन्।
कार्यक्रममा ट्राफिक नियमबारेमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक दुर्घटना न्यूनीकरणकालागि विद्यालय तहबाटै ट्राफिक ज्ञान दिन पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए।
सबै देशको पाठ्यक्रममा ट्राफिक नियमबारेमा पढाइने भन्दै उनले पाठ्यक्रममै समावेश गरिए दैनिक हुने सडक दुर्घटनामासमेत कमि आउने जिकिर गरे।
कार्यक्रममा बाटो काट्ने तरिका, गाडीमा कसरी यात्रा गर्ने?, मापसे गरेर सवारी नचलाउने, छतमा बसेर यात्रा गर्दा हुने सम्भावित दुर्घटनालगायतका बारेमा जानकारी गराएको थियो।