चितवनको साइराम डेण्टल केयरले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको दाँतको इम्प्लान्ट निःशुल्क गरिदिने भएको छ।
डाक्टर अजय, डाक्टर सरु फाउण्डेशन, वायोहोराइजन र तालबाराही ट्रेडर्स प्रालि समेतको सहकार्यमा तत्कालका लागि विपन्न तथा अतिआवश्यक भएका दश जनाको दाँतको इम्प्लान्ट निःशुल्क राखिदिने जानकारी साइराम डेण्टल केयरका सञ्चालक डा.अजय न्यौपानेले दिए।
इम्प्लान्ट गर्ने भनेको दाँत नभएको ठाउँमा प्रत्यारोपण गरेर दाँत राख्ने हो। एउटा दाँत इम्प्लान्टका लागि ७० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च लाग्छ।
‘दाँतको उपचार महँगो हुन्छ। त्यसमाथि इम्प्लान्ट झनै महँगो छ। आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई यो सेवा लिन धेरै गाह्रो छ। त्यसैले हामीले निःशुल्क इम्प्लान्टको कार्यक्रम ल्याएका छौं,’ डा.न्यौपानेले भने, ‘आवश्यकताअनुसार थप गर्दै जान्छौं।’
एक्सरे र रगतको माध्यमबाट हड्डी, गिजा तथा समग्र स्वास्थ्य अवस्थाको परीक्षण गरेपछि इम्प्लान्ट गर्नुपर्छ। एउटा दाँत इम्प्लान्टका लागि ३ देखि ६ महिनासम्म लाग्छ।
‘हामीले ३० देखि ६० वर्षसम्मका व्यक्तिलाई लक्षित गर्न खोजेका छौं। अगाडिको दाँत नभएका व्यक्तिलाई प्राथमिकतामा राख्छौं,’ डा.न्यौपानेले भने, ‘विभिन्न अध्ययनहरूले अगाडिको दाँत नहुँदा व्यक्तिको आत्मविश्वासमा कमी भएको देखाएको छ। कतिपय व्यक्ति अगाडिको दाँत नहुँदा हाँस्न पनि गाह्रो मान्छन्। इम्प्लान्टले हाँसो, आत्मविश्वास बढाउँछ। खानमा पनि सहज बनाउँछ। विपन्नको मुहारमा मुस्कान ल्याउँछ।’
साइराम डेण्डल केयरले दाँतमा इम्प्लान्ट गर्न थालेको ८ वर्ष भयो।
डेढ वर्षदेखि अमेरिकाको पुरानो ब्रण्ड वायोहोराइजिनको इम्प्लान्ट प्रयोग गर्दै आएको डा.न्यौपानेले बताए। यहाँ दन्त चिकित्सक डाक्टर विधान श्रेष्ठले दाँतको प्रत्यारोपण गर्दै आएका छन्।