लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ आउँदो शुक्रबारदेखि दोलखाको जिरीमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदैछ।
अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवका अबसर पारेर युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाले दुई दिन उत्सव मनाउन लागेका हुन्। किसानका साथी लाटोकोसेरो संरक्षण गरी पर्यावर सन्तुलनमा टेवा पुर्याउन उत्सव गर्न लागिएको जनाइएको छ।
मुसा नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने लाटोकोसेरो किसानको वास्तविक साथी भएको प्रकृतिका साथीका निर्देशक राजु आचार्यले बताए। लाटोकोसेराको परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खान्छ। त्यसबाहेक यीनले किरा फट्याङग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग गर्छन्।
विश्वमा करिब २२५ प्रजातीका लाटोकोसेरा पाइन्छ। नेपालमा २३ प्रकारका लाटोकोसेरोका प्रजाती अभिलेख छ। ती मध्ये ९ प्रजाती दुर्लभ मानिन्छ। दुई प्रजाती नेपालबाट लोप भएको अनुमान छ।
प्रकृतिका साथीहरुले ३५ जिल्लामा गरेको अध्ययन अनुसार नेपालबाट वार्षिक कम्तिमा दुई हजार वटासम्म लाटोकोसेरा तथा हुचील मारिने तथा विदेशमा अवैध रुपमा पठाइने भेटिएको छ । यसबाहेक गुलेलीबाट समेत मारिन्छ ।
उत्सवको सहआयोजकमा जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय र गौरिशंकर संरक्षण क्षेत्र परियोजना (जिक्याप) छन् । संरक्षणका हिसाबले ओेझेल परेको लाटोकोसेरो संरक्षणको सञ्देश फिजाउन उत्सव गरिएको आचार्यले बताए ।
उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी अस्थायी लघु म्युजियम प्रदर्शनी र टुटु लगायत स्थानीय लोपोन्मुख खेल प्रदर्शन गरिने आयोजकले जनाएका छन् । त्यसैगरी रातिमा लाटोकोसेरोको महत्व दर्शाउने स्लाइड तथा भिडियो प्रदर्शनी गरिनेछ । दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटोकोसेरा सम्बन्धी अन्य सामग्री प्रदर्शन गरिनेछ ।
उत्सवलाई रंगीन बनाउन स्थानीय शेर्पा, जिरेल, नेवार नाचका साथै भजन प्रर्दशन गरिने उत्सव संयोजक केन्द्र ज्योति खड्काले जानकारी दिए । साथै स्थानीय विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कविता, तथा निबन्ध प्रतियोगिता आयोजना गरिँदैछ । प्रदर्शनीमा लाटोकोसेराको डमी प्रदर्शन गरिने छ।
उक्त अवसरमा ८ वटा लाटोकोसेरोको आवाज सुन्न र ८ वटालाई टिभीमा हेर्ने व्यवस्था मिलाइएको छ। उत्सवमा सहभागी हुने जो कसैका अनुहार तथा नङ्गमा लाटोकोसेरो तथा हुचीलको चित्र समेत बनाइने छ । उक्त अवसरमा संरक्षण सम्बन्धि प्रवचनका साथै नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट प्रदर्शनी समेत गरिनेछ ।
यतिबेला जिरीका विद्यालयमा लाटोकोसेरो संरक्षण सम्बन्धि चेतना शिविर चलिरहेको छ । उत्सवको अन्तिम दिन तीन जना संरक्षणकर्मीलाई जनही २५ हजार रुपैयाँ सहित ‘प्रकृति संरक्षण पुरस्कार’ दिइने छ । यसपाली पुरस्कृत हुनेमा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदवहादर खड्का, गिद्ध संरक्षण अधिकृत कृष्णप्रसाद भुषाल र शोभा मानन्धर छन् ।