प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्।
दरबारमार्गमा नवनिर्मित भवनको उद्घाटन गर्दै महानीरिक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर दोषीलाई मद्धत गर्ने प्रहरी अधिकारीमाथि कानुन बमोजिम कारवाही गरी पीडितलाई न्याए दिलाउने बताए।
‘सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु चानचुने कुरा होइन, त्यसमा जो प्रहरी कर्मचारी दोषि साबित हुन्छन्, कारवाही भोग्न तयार भए हुन्छ,’ उनले भने ।
गएको माघ ११ गते दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई नियन्त्रणमा लिएर १ नम्बर गणमा राखिएको छ, भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई अनुसन्धानकै लागि जिल्लामा तानिएको छ।
त्यसैगरी अभियुक्तलाई भगाएको आरोपमा सही चन्द भण्डारीलाई निलन्वन गरिएको छ।
घटनाको छानबिन गर्न बनेको समितिको अनुसन्धानका लागि उनीहरूलाई कारवाहीको दायरामा ल्याइएको हो।
तर उजुरी दिने पीडित युवती सम्पर्कमा नआएका कारण अनुसन्धान गर्न असहज भएको समितिको भनाई छ।