अस्तव्यस्त चौतारा बजारको मुल सडक स्तरोन्नती हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले सडकलाई थप व्यवस्थित गर्नका लागि कालोपत्रे, ढल व्यवस्थापनका कार्य गर्न लागेको हो ।
जिल्लाको सदरमुकामसमेत रहेको चौतारा बजारको सडकको अवस्था बिग्रदैं गएपछि स्तरोन्नती गरिन लागेको नगरपालिकका इन्जिनियर बद्री नारायण भुजेलले बताए । ‘यो पटक चार सय २५ मिटर सडक अस्फाल्ट कंक्रीट प्रविधिबाट कालोपत्रे हुनेछ,’ इन्जिनियर भुजेलले भने, ‘यसको लागि नगरपालिकाको करीब साँढे दुइ करोड रकम खर्च हुनेछ ।’
चौतारा बजार सडक ‘अस्फाल्ट कंक्रीट’ निर्माण कार्य परियोजना मार्फत सो सडक स्तरोन्नती गरिनेछ । निर्माण हुने सडकको कुल लम्बाई चार सय २५ मिटर हुनेछ भने चौडाइ सडकले हाल चर्चेको क्षेत्र अनुसार कम्तीमा ५.२५ देखी ६ मिटर कालोपत्रे हुनेछ । यस सँगै ढल व्यवस्थापनको लागि सडकको दुबै किनारामा ‘टीक ड्रेन’ पनि बन्नेछ भने सडकको विच भागमा साठी सेन्टीमिटर व्यासको ह्युम पाइप विच्छ्याई नाली बनाइनेछ । कम्तीमा पाँच सेन्टीमिटर मोटाइ हुने सडकको अवस्था हेरी २.५ मिटरको फुटपाथ समेत निर्माण गरी सडक कम्तीमा नौ मिटरको बनाईने इन्जिनियर भुजेलले भने ।
चौतारा बजार व्यवस्थापनको लागि नगरपालिकाले यस अघि नै करीब चार सय ५० मिटर सडक ढलान गरेको छ । पाँच मिटर चौडाइ भएको सो ढलानको कारण उकालो ठाँउहरुमा सवारी चलाउन सहज भएको र अब बन्ने पिचले थप सहजता आउने स्थानिय मोटरसाइकल चालक राम सापकोटाले बताए । नगरपालिकाले यस अघी नै चौतारा सडकको जाम र बजारको अवस्था व्यवस्थीत गर्न बजार क्षेत्रलाई मालबाहक ठुला सवारीलाई एकतर्फी बनाइसकेको छ ।