येँया पुन्ही श्रृंखला
झन्डै १५ फिट अग्लो अनुहार।
वर्षभरि हनुमानढोकास्थित नौझ्याले घरमा बन्द हुन्छन्। येँया पुन्ही, अर्थात् इन्द्रजात्रामा सार्वजनिक प्रदर्शनमा आएका छन्।
उनी हुन् हाथु द्यः अर्थात् श्वेत भैरव।
शुक्रबार नौझ्याले घरका सबै झ्याल खोलेर श्वेत भैरवलाई प्रदर्शनमा ल्याइयो। उमालेको कर्कलो पानीले नुहाइदिइयो। रंगरोगन गरियो।
‘वर्षको एकदिन श्वेत भैरवलाई कर्कलोको पानीले नुहाइदिने चलन छ,’ श्वेत भैरवका गुठीयार सुनिल ताम्राकारले भने, ‘यसले सुनको जलप नजाने, कालो नहुने र मूर्ति टल्कन्छ भन्ने मान्यता छ।’
द्वादशीको दिन यः सिं (लिंगो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। बेलुकी ‘हाथा हायकेगु’ हुन्छ। यो भनेको श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाउनु हो।
आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी खुवाइन्छ। भैरवको मुखमा पाइप लगाएर दिनको करिब ८० लिटर जाँड-रक्सी अनवरत रूपमा खुवाउने परम्परा छ। खानेको पनि भिड्मभिड हुन्छ।
यति धेरै जाँड कसरी तयार हुन्छ?
जाँड बनाउनुअघि ‘यचिंकायगु’ गर्ने चलन छ। यो भनेको सुचि–निधि अर्थात शुद्धि गर्ने दिन हो।
द्वादशीको दिनबाट आधिकारिक रूपमा येँया पुन्ही सुरु हुन्छ। बेलुकी जाँड बाँडिन्छ। त्योभन्दा चार दिनअघि जाँड बनाउन थालिएको हुन्छ। जाँड बनाउने तरिकालाई ‘प्वः हायगु’ भनिन्छ। यसमा मना (जाँड बनाउने सामान) र अनिवार्य रूपमा ताइचिनको चामल हाल्नुपर्छ। यो प्रक्रियाबाट तयार भएकोलाई ‘पोकः’ भनिन्छ।
भैरवको मुखबाट पठाउने दिन पानी हालेर जाँड बनाइन्छ। यसलाई ‘कवँचाः’ भन्ने माटोको भाँडामा पकाउन भण्डारण गरिएको हुन्छ। भैरवको मुखबाट ‘हाथा हायकेगु’ गर्ने दिनमा ४ भाँडा जाँड खपत हुन्छ। प्रत्येकबाट २० लिटरजस्तो जाँड बन्छ।
भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पो छ। त्यसमा जाँड राखेर भैरवको मुखमा पाइप फिट गरिन्छ।
गुठीयार सुनिलका अनुसार भैरव महादेवका रूप हुन्। महादेवले भाङ, धतुरो, गाँजा खान्छन्। यसैले जाँड प्रसादकै रूपमा खुवाइन्छ।
यो नेवारी संस्कृतिसँग पनि जोडिएको छ।
‘हाम्रो नेवारी संस्कृतिमा जाँड–रक्सी सगुनका रूपमा खाने चलिआएको परम्परा हो,’ सुनिलले भने, ‘भैरवको मुखबाट आएको जाँड खान सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने मान्यता छ।’
इन्द्रजात्रामा सात दिन जाँड खुवाइन्छ। एकदिन रक्सी।
रथयात्राको पहिलो दिन (पूर्णिमा) मा कुमारी, भैरव र गणेशलाई प्रसाद स्वरुप रक्सी खुवाइन्छ। बाँकी दिन जाँड हुन्छ। एक दिन महिलाका लागि मात्र जाँड खान छुट्याइएको छ। माथिल्लो टोल (ठहने) मा रथ तानेको भोलिपल्ट महिलाले जाँड खान्छन्।
करिब ७ वर्षअघि ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यस्थापन समिति’ ले यो परम्परा सुरु गरेको हो। समितिकी सचिव ज्योत्सना सिन्दुराकारले महिला र पुरुषलाई समावेशी ढगंले लग्न यस्तो परम्परा सुरु गरेको बताइन्।
यो सुरुआत ठूलो पर्व येँया पुन्हीमा अझै प्रभावकारी ढंगले प्रस्तुत गर्न सकिने उनी बताउँछिन्।
सुरुआती क्रममा भने यो कार्य सहज थिएन।
रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नागको प्रतीकका रुपमा लिइन्छ। पुरातन सोच बोकेका बूढापाकामा डोरी महिलाले छुनै नहुने र नाघ्नै नहुने भन्ने मान्यता थियो। त्यो सोच कसरी तोड्ने भन्ने अन्योलजस्तो थियो।
त्यही अन्योलबीच समाजसेवी मोहनकृष्ण डंगोलले ‘कुमारीको रथ नानिचाको दिन नानीहरूले नै तान्छ’ भनेर सञ्चारमाध्यममा बताइदिए।
‘त्यसपछि ‘कसरी तान्छन् महिलाहरूले?’ भनेर चुनौती भयो। तान्नैपर्ने बाध्यता पनि,’ ज्योत्सनाले भनिन्, ‘नेवारी समुदायमा ज्यापूहरुलाई बलियो मानिन्छ। ज्यापूझैं ज्यापूनी पनि बलियो हुन्छन् भन्ने सोच्यौं। अनि ज्यापू महिला गुठीको सहयोगमा रथ तानियो।’
कुमारी रथ तान्न कम्तीमा सय जना चाहिन्छ। त्यो बेला जेनतेन पुर्याइएको थियो। अहिले त रथ तान्नैका लागि २६० समूह दर्ता भएको ज्योत्सनाले बताइन्।
त्यसको दुई वर्षपछि मात्रै महिलाको छुट्टै ‘हाथा हायकेगु’ सुरु भएको हो। यो माथिल्लो टोल (कोहने) मा रथ तानेको भोलिपल्ट हुन्छ।
‘महिला पुरुष बराबर जानु छ भने सबै कुरामा किन नजाने?’ उनले भनिन्, ‘महिला भएर जाँड खान जानु भनेको चानचुने कुरा थिएन। घरपरिवार एकातिर, समाजको डर अर्कातिर। एक प्रकारको क्रान्ति नै थियो।’
‘महिलाहरु पनि रथ तानेपछि थाक्छन्। त्यसबेला जाँडले स्फ्ट ड्रिङ्कजस्तो काम गर्छ र तागत पनि दिन्छ,’ उनले भनिन्।
काठमाडौंस्थित सतुंगलमा श्वेत भैरवको १०४ रोपनी जग्गा छ। त्यो सरकारले चलाइरहेको छ। गुठीयार सुनिलका अनुसार त्यही जग्गा चलाएबापत वर्षमा एकपटक चामल, राँगा, बोका लगायतको जिन्सी सामान दिन्छ। यही सामग्री पूजाविधि एवम् जाँड बनाउन प्रयोग गरिन्छ।
श्वेत भैरवलाई स्थानीय आजु पनि भनेर पुकार्छन्। इन्द्रजात्राको इतिहास पुरानो भए पनि श्वेत भैरव इन्द्रजात्रासँग जोडिएको धेरै भएको छैन।
सामान्य अर्थमा श्वेत भैरव भनेको सेतो भैरव हो। तर, यो सेतो छैन। सन् १८५२ मा रणबहादुर शाहले यसलाई सुनौलो स्वरुपमा निर्माण गरेका थिए।
त्यो बेला चार हजार रुपैयाँमा निर्माण गरिएको अभिलेख छ। परम्परादेखि चलिआएको इन्द्रजात्रामा रौनक थप्न श्वेत भैरव प्रदर्शन गर्न थालिएको गुठीयार सुनिल बताउँछन्।
‘त्यो बेला काठमाडौंमा भूत, पिचासको डर थियो रे,’ गुठीयार सुनिलले भने, ‘भैरवको स्थापना गरिएपछि उनीहरू डराएर भागेको भन्ने मान्यता छ। सधैं प्रदर्शन गर्दा यसको महत्व नहुने र हेर्दै डरलाग्दो भएकाले इन्द्रजात्रामा मात्रै प्रदर्शन गरिएको हो।'
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः