बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीयले प्याज लगाउन थालेको २५ वर्ष भयो।
२०५३ मा त्यहाँका किसानले आफूले खानमात्र प्याज लगाएका थिए। खाएर उब्रिएको प्याज बेच्थे पनि।
त्यसरी प्याज लगाउनेमा गाउँपालिकाको बाहुनीगाउँका दीप कामी पनि एक थिए। उनले त बेच्यो भने घर खर्च चल्ला भनेर अलि धेरै नै प्याज लगाउँथे।
प्याज फलेपछि उनका छोरा लंक बिक स्कुल छोडेरै भए पनि प्याज बेच्न गाउँगाउँ डुल्नुपर्थ्यो। कसैले पैसाले प्याज किन्थे, कसैले प्याजको सट्टा अन्न दिन्थे।
‘बुबाआमाले सानो गह्रामा प्याज लगाउँथे, अरू ५ रोपनी जति जमिन छ, त्यसमा धान गहुँ लगाउँथ्यौं,’ लंकले सेतोपाटीसँग भने,'म बेच्न हिँड्थें।'
अहिले लंक ठूला भएका छन्। उनीसँग बाहुनीगाउँको प्याज सपना पनि ठूलो भएको छ।
गत वर्ष गाउँपालिकाले एक किलो प्याज फलाए ५ रुपैयाँ दिने भनेर कार्यक्रम ल्यायो। फलाएको प्याज बेचिदिने आश्वासन पनि दियो।
यसै पनि प्याज राम्रो फल्थ्यो। उत्पादन राम्रो हुने, पालिकाबाट पैसा पाइने र बेच्न पनि पाइने देखेर लंकको परिवारले प्याज खेती बढायो। उनीहरूले उब्रिएको होइन बेच्नकै लागि प्याज लगाएका थिए।
सरकारले उनीहरूलाई हौस्यायो। बिउ, हजारी, पाइप, कोदालो र पानी संकलन गर्ने ड्रम पनि दियो।
गाउँमा अन्नसँग साटिने प्याज अब गाउँपालिकाले बिक्री पनि गरिदिने भनेपछि उनीहरू झनै खुसी भए।
कृषि ज्ञान केन्द्रले पनि बजारीकरण र ढुवानीमा सहयोग गर्ने भनेको थियो।
‘हामीले अहिले ४ रोपनीमा प्याज लगाएका छौं। बीउको लागि १ रोपनीमात्र गहुँ लगाएका हौं,’ लंकले भने।
बारीमा गहुँभन्दा बढी प्याज फल्ने बजार पाए गहुँभन्दा प्याजबाट आम्दानी धेरै हुने पक्का थियो।
‘धानगहुँमा धेरै मेहेनत गर्दा पनि मूल्य उठेन तर प्याज राम्रो उत्पादन हुने भएकाले हामी आशावादी थियौं,’ उनले भने।
पोहोर कार्तिकतिर उनीहरूले बेर्ना राख्न गह्रा खनेर मसिनो बनाएका थिए। २ दिन माटोलाई सुक्न दिए। सुकेपछि फेरि स-साना डल्ला पनि फुटाएर सम्म पारे। बिउ छरेर पातलो माटोले माथिबाट छोपे। पहिला खरले छोप्ने उनीहरू अहिले पालिकाबाट प्लाष्टिक पाएपछि त्यसैले घर बनाएर छोपे।
‘बिहान बेलुका पानी हाल्यौं। पहिलो हप्तामै बेर्ना उम्रेपछि प्लाष्टिक हटायौं, बेर्ना १५ सेन्टिमिटर भएपछि खेतमा सारेका थियौं,’ उनले भने।
उनीहरूले बेर्ना रोप्नुअघि पहिले खेत हलोले जोते र कोदालोले निकै मसिनो हुने गरी डल्ला फोडे। झार हटाए।
उनीहरूको पहिलाको कुलालाई अहिले सिमेन्ट प्लाष्टर गरिएपछि सिँचाइमा राहत भएको छ।
निकै मेहेनत गरेर मंसिरतिर रोपेको प्याज वैशाख जेठमा कोर्नु भएको थियो।
‘जेठमा कोर्नुपर्ने प्याज अहिले पानी परेर असारमा कोरेको। धेरै कुहियो पानीले,’ उनले भने।
४ रोपनीमा लगाएको प्याज ३ सय क्विन्टल जति फलेको लंकले बताए। घरमा प्याज राख्ने ठाउँ नभएर स्कुलका चार कोठा भाडामा लिएर राखेका छन्।
‘चार कोठाको भाडा गाउँपालिकाले व्यहोर्ने भनेको छ,’ उनले भने।
गाउँपालिकाले उनको खेतमा फलेको प्याज बिक्री गरिदिन भनेको थियो तर अहिले गाउँपालिकाको वाचा पूरा भएन।
‘एक कोठामा अट्ने १५ क्विन्टल जति प्याज कुहियो, अझै बिक्री हुन पाएन भने कुहिँदै जाने चिन्ता छ,’ उनले भने।
प्याज कुहिन थालेपछि लंकले गाउँपालिकाको आश्वासन बिर्सिए बरू आफैं प्याज बिक्री गर्न लागे।
कोल्टीबाट खच्चड डाकेर ढुवानी गर्न सुरू गरेका छन्। शनिबारमात्रै उनले खच्चडमा १२ क्विन्टल प्याज जिल्ला सदरमुकाम मार्तडी पुर्याए।
‘हाम्रो गाउँसम्म त सडक पुग्नै बाँकी छ। भएको बाटो पनि पनि पहिरोले गर्दा अवरूद्ध छ,’ उनले भने।
गाउँ जाने बाटोमा ट्याक्टर पनि हिँड्न नसकेपछि खच्चडमा प्याज बोक्नु परेको उनले सुनाए।
खच्चड हिँड्ने बाटो पनि आइतबार भत्किएको छ।
‘आज फेरि पहिरोले बाटो भत्केपछि खच्चड हिँड्ने पनि अवस्था छैन। आफैंले पैसा तिरेर मान्छे लगाएर बनाउँदै छन् बुबाले,’ लंकले सेतोपाटीसँग भने।
५ कठ्ठा जमिनमा प्याज लगाएका दल बिकले पनि उनलाई प्याज बेचिदिन आग्रह गरिरहेका छन्। छिमेकी धनसरे कामीले २ कट्ठा जमिनमा लगाएको प्याज पनि कुहिन थालेको छ।
उनीहरूले आर्थिक अभावका कारण खच्चड ल्याउन सकेका छैनन्।
गाउँपालिकाले प्याज खेतीको प्रतिफलमा आधारित अनुदान दिएपछि बाहुनी गाउँका ४० जना किसानले ३ वटा समूह बनाएर १० हेक्टर जमिनमा प्याज खेती गरेका थिए।
प्याज खेतीमा सम्भावना भएपछि गाउँपालिकाले वडा नम्बर १ को बाहुनीमा पकेट क्षेत्र नै घोषणा गरेको थियो।
गाउँपालिकाको कृषि शाखाका कर्मचारी निरेश कटेलले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममा समावेश गरी उक्त वडामा प्याज पकेट क्षेत्र सुरू गरिएको बताए।
यस वर्ष १ सय ५० क्विन्टल प्याज उत्पादन हुने गाउँपालिकाकाको अनुमान छ।
प्रदेश सरकारले प्याज खेतीका लागि आर्थिक वर्ष २०७७/०७८ कृषि ज्ञान केन्द्रमार्फत ५ लाख बजेट दिएको थियो भने चालु आर्थिक वर्षका लागि २ लाख बजेट आएको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले ३ रोपनीमा खेती गरेपछि किसानलाई उत्पादनको प्रतिकिलो ५ रुपैयाँ दिने गरिएको बताए। यसले प्याज खेती गर्नुपर्छ भन्ने धारणा बढेको उनको भनाइ छ।
बाटोको एकदमै समस्या भएर किसानहरूले बजारसम्म प्याज पुर्याउनै नसकेकोमा उनी पनि चिन्तित छन्।
ढुवानीकै लागि गाउँपालिकाले प्रति किलो १५ र कृषि ज्ञान केन्द्रले २० रुपैयाँ किसानलाई दिने भएका छन्।
‘हामीले ढुवानी खर्च दिएपछि खच्चडमा ल्याउन थालिएको छ,’ सिजापतिले भने।
बाहुनी गाउँबाट दुई दिन लगाएर लंक बिकले १६ वटा खच्चडमा १२ क्विन्टल प्याज मार्तडी पुर्याए। उनले ५० रुपैयाँ किलोका दरले त्यो बेचिसकेका छन्।
‘बाहिरबाट आएको भन्दा यहीँ उत्पादन भएको प्याज साइज एकनासको, जरा ठूलो र गुणस्तर छ। लामो समय बाहिर कोल्ड स्टोरमा राखेको प्याज बजारमा आउँछ हाम्रो फ्रेस प्याज मार्तडीमा एकैछिनमा १२ क्विन्टल बिक्री भयो,’ उनले भने।
मार्तडीमा बाहिरबाट आएकोभन्दा स्थानीय प्याज १० रुपैयाँ सस्तो परेको छ। बाटो भएर सहज ढुवानी भए त झनै सस्तो हुने लंक बताउँछन्।
‘स्टोरेजको व्यवस्था नभएर कुहिने समस्या छ, त्यसैले तत्कालै प्याज बेच्नुपर्ने बाध्यता छ। हिउँदमा बेचे अझ बढी मूल्य आउँछ,’ सिजापतिले भने।
किसानले बारीमा फलाएको प्याज बाजुराबाट अन्य जिल्लामा ढुवानी गर्न बाटो भत्केका कारण सकिएको छैन।
साँफे-मार्तडी सडक खण्डको अम्कोट क्षेत्रमा पहिरोले बाटो पूर्ण रूपमा अवरोध छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जिल्ला सदरमुकाम जोड्ने एक मात्र सडक डेढ महिनादेखि बन्द रहेको बताए।
‘खच्चडमा यहीँसम्म पुर्याउँदा त महंगो परिररहेको छ। मार्तडीबाट पहिरो भएको ठाउँसम्म एक गाडीमा, फेरि खच्चडले पहिरो भएको ठाउँनेर बोक्नुपर्यो, फेरि अर्को गाडी चाहियो, त्यसैले समस्या छ,’ उनले भने।