६८ वर्षीय राजाराम कुमाल माटो भने पछि हुरूक्कै हुन्छन्। उनको जीवनका ५२ वर्ष माटोसँगै खेलेर बिते। यही कारण राजारामको माटोसँग गहिरो सम्बन्ध छ। कैलालीको कैलारी गाउँपालिका- ५ बन्दरगौरीका राजारामको पेसा माटोका भाडाँकुडाँ बनाउने हो।
उमेर ढल्किदै गए पनि उनको जोस, जाँगर, फुर्ति भने यो पेसाप्रति फिटिक्कै कम भएको छैन।
माटाका भाडाँकुडाँ बनाउने काम उनका पुर्खाले गरेका थिए। पुर्खाले सिकाएको सीप आफूले सदुपयोग गर्न पाउँदा उनी मख्ख छन्।
‘हाम्रो बुवाले गरे, बाजेले गरे, पुर्खाहरूले गरेको कामलाई अहिले मैले पनि गर्दै आएको छु’, उनले भने।
राजारामले १५ वर्षको उमेरमा नै बुवासँग माटाका भाँडा बनाउन सिकेका थिए।
‘उतिबेला स्कुल गइएन। दिनभरि भाडाँकुडाँ बनाएर नै बित्यो, अहिले पनि पहिलेकै जस्तो छ’, उनले सेतोपाटीसँग भने।
पहिलेभन्दा माटाका भाँडाको व्यापार अहिले कम छ।
राजाराम भने व्यापार कम भए पनि पेसालाई कहिल्यै नछोड्ने अठोटमा लागिपरेका छन्।
उनको घरमा माटोका भाँडा बनाउने काम उनीमात्र गर्छन्।
भाँडा बनाउन चाहिने माटो ल्याउने काममा भने श्रीमती, छोरा- बुहारीले पनि सघाउने गर्छन्।
घरपरिवारको खर्च चलाउन सहज भएको हुँदा परिवारका अन्य सदस्यले खुसी भएर आफ्नो काममा सहयोग गर्ने गरेको राजारामले सुनाए।
राजाराम हरेक वर्षको फागुनतिर माटो खन्ने काम गर्छन्। वर्षमा एकचोटि माटो ल्याए त्यसले ९ महिना जति भ्याउने गर्छ।
यस वर्ष पनि राजरामको परिवार सबैभन्दा पहिला भाँडाकुँडा बनाउन चाहिने आवश्यक माटो ल्याउन नजिकैको सामुदायिक वनमा गएको थियो।
माटो खन्न जानुअघि सामुदायिक वनसँग उनीहरूले अनुमति र ३ सय रुपैयाँ शुल्क दिएका थिए।
त्यसपछि वनमा उनीहरूले भाँडा बनाउन उपयुक्त हुने रातो माटो खोजेका थिए। जहाँ उपयुक्त माटो भेटियो, त्यो ठाउँमा १५ देखि २० दिनसम्म लगाएर खनेर निकालेका थिए।
खनेको माटोलाई उनीहरूले बयलगाडामा भरेर घर ल्याए।
‘घर ल्याएपछि कोदालोले माटोलाई मसिनो बनायौं। त्यसपछि एक ठाउँमा जम्मा गरेर पानी हाल्यौं। पछि दुई-तीन दिन लगातार माटोलाई फिट्यौं। फिट्दै गएपछि माटो अलि गिलो, लामो हुन्छ। त्यसलाई उठाएर काटेर राखेपछि अलि सुख्खा हुन्छ। फेरि माटोलाई पिठो मुछेजस्तै गरी मुछ्ने, खेलाउने गर्यौं,’ उनले भने।
पिठोजस्तो भएको माटोलाई साँचोमा राखेपछि आवश्यक आकार दिएर उनले भाँडा बनाए।
यो वर्ष उनले धेरै भाँडा बनाएका छन्। उनले बनाएका भाँडाकुँडा कति घरको आगनमा राखिएका छन्। कति अलग्गै काठको घर बनाएर राखेका छन्।
‘उसै पनि पहिलेको जस्तो बिक्री हुँदैन, त्यसैमाथि कोरोना छ, त्यसकारण फ्याटफुट्ट व्यापार छ। सबै साथीले यो काम छोडिसके, पुर्खाको सीपलाई छोड्न मेरो मनले भने पटक्कै मान्दैन,’ उनले भने।
अहिले पनि राजाराम दैनिक ५० देखि ६० सम्म माटाका भाँडाकुँडा बनाउँछन्।
भाँडालाई काठको टुक्राले बेस्सरी पिट्ने, ठोक्ने गर्छन्। पछि दाउरामा भाँडालाई पकाउँछन्। पकाएको भाँडालाई फेरि सुकाएर तयार गर्ने गर्छन्।
‘माटो ल्याउन, तयार भएको भाँडा पकाउन चाहिने दाउरा ल्याउने काम गर्न अलि समय र खर्चिलो हुन्छ,’ उनले भने।
उनी माटोबाट रासी, करुवा, मेटिया, गाग्रा, दीयो, गमलालगायत थुप्रै भाँडाकुँडा तयार गर्छन्।
धनगढी, हसुलियालगायत बजारमा उनी बयलगाडामा राखेर भाँडाकुँडा बेच्छन्। कोही गाडी ल्याएर घरमै लिन पनि आउँछन्। भाँडा हेरेर ५० देखि ५ सय रुपैयाँसम्म उनी भाँडा बेच्छन्। गाउँमा भने धान, घिउ, मसुरोसँग पनि भाँडा साट्ने गर्छन्।
‘धेरै मेहनत गर्नुपर्छ। प्रशस्त आम्दानी नभए पनि घरखर्च चलाउन सजिलो छ, अहिलेसम्म पुगेकै छ’,उनले भने।
बर्खामा माटो ल्याउन जोखिम हुने र खेतीको काम पनि भएकाले दुई महिना राजाराम भाडाँ बनाउने काम गर्दैनन्।
उनीजस्तै सोही ठाउँका कुलबहादुर कुमाल पनि भाँडाकुँडा बनाएर नै गुजारा चलाइरहेका छन्।
‘जग्गा जमिनबाट खान अपुग हुन्छ। भाँडा बनाए खान लाउनमा अलि सहयोग हुन्छ,’ उनले भने।
राजाराम, कुलबहादुरले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आए पनि उनको गाउँका धेरै परिवारले भने यो काम छोडिसकेका छन्।
कुमाल समूहका अध्यक्ष मनिराम कुमालका अनुसार विगतमा बन्दरगौरीका २६ घरधुरीले भाँडा बनाउने काम गर्दै आएका थिए। अहिले ५ घरधुरीले मात्र यो कामलाई निरन्तरता दिइरहेका छन्। भाँडा बनाउने काम छोडेकाहरू भारतमा गएका छन्। उनी आफैंले पनि यो काम छोडेर पसल थापेका छन्।
‘काम छोडेर भारत जानुको कारण एउटा भाँडा फुटेर हो, अर्को कारण बिक्री नभएर हो,’ मनिरामले भने ‘बजारमा प्लाष्टिकका भाँडाकुँडाको माग र बिक्री धेरै छ। त्यही कारण माटोका भाँडाको बिक्री वितरण न्यून हुन थाल्यो।’
माटाका गाग्रीको सट्टामा प्लाष्टिकका बाल्टिन, गमलाको सट्टा सिमेन्टका गमला प्रयोग भएपछि कुमाल जातिको सीप संकटमा परेको उनले बताए।
स्थानीय कंङली कुमालका अनुसार पहिला माटोका भाँडाको महत्व र बिक्री बढी हुन्थ्यो। सबैले घर-घरमा घैंटाको पानी राम्रो हुन्छ भन्ने चलनले पनि गाग्रो किनेर राख्थे।
विगतमा भाँडा बनाउने आवश्यक सामग्री सामुदायिक वनबाट दाउरा, माटो र पराल पनि नि:शुल्क पाइन्थ्यो।
‘अहिले सबै चिज महंगोमा किन्नुपर्छ। पहिलाको जस्तो सस्तो छैन। महंगो उत्तिकै, मेहनत बढी तर बिक्री कम भएपछि धेरै घरपरिवारले पेसालाई विस्थापित गरेर इन्डिया जानु परेको हो,’ उनले भनिन्।
उनले आफूहरूको पुर्ख्यौली पेसालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय सरकारसमक्ष माग राखेको भए पनि कुनै काम नभएको गुनासो पोखिन्।
‘गरिरहेको पेसालाई बजारीकरण गर्न, प्रचारप्रसार गर्न थप व्यवस्थित गर्न वडा अध्यक्षसँग पनि कुरा गरेको हौं। उहाँले मुख्यमन्त्रीसँग कुरा गर्नु भन्नुभयो,’ उनले भनिन्।
वडा नम्वर ५ का वडा अध्यक्ष बिष्णुप्रसाद चौधरीले कुमाल जातिलाई सहयोग कार्यक्रमअन्तर्गत उनीहरूको क्षमता बढाउने तालिम दिन वडा स्तरले बजेट छुट्याएको बताए।
‘गत वर्ष एक लाख बजेट छुट्याएका थियौं, त्यो बजेट कोरोनाले फिर्ता भयो, यो वर्ष ५० हजार रुपैयाँ छ, लक्षित समुदायका लागि त्यसले के काम गर्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने।