उनका चाउरी परेको हात दिनदिनै सडक छुन्छन्। कहिले गाडामा राखेर फोहोर बोक्छन्, कहिले छेउछाउका झारपात उखेलआखल पार्छन्। उनका हातले समाएका धेरै साबेल, झाडु र ठेला बिग्रिएर कता-कता पुगे। उनका हात भने ३९ वर्षदेखि ललितपुरका सडक सफा-सुग्घर पार्न लागिरहेका छन्।
लुरे खड्का ७६ वर्षका भए। उनको आधाभन्दा बढी जिन्दगी सडकको सफाइ र मर्मत सम्भार गर्दागर्दै बितेर गयो।
लुरेको जन्म २००२ जेठमा भैंसेपाटीमा भएको हो। उनको नाम लुरे हुनुका पछाडि पनि कथा जोडिएको छ।
‘आमा सानैमा बित्नुभयो। आमाको दूध खान नपाएर लुरे देखेपछि बाले मलाई लुरे भन्न थाल्नुभयो रे!’,उनले भने ‘बाले लुरे भनेपछि सबैले लुरे नै भनेर बोलाउन थाले। त्यसपछि त मेरो नाम नै लुरे!’
आमाले छोडेर जाँदा लुरे आठ महिनाका थिए। चार भाइ-बहिनीमध्ये कान्छा।
घरका कान्छा छोरा लुरेको पढाइमा रूची थिएन। गणितमा उनी निकै कमजोर थिए रे! प्रौढ कक्षा पढेपछि उनले पढाइ छोडिदिए। बाल्यकाल भैंसेपाटीमा घर र खेतीपाती गरेर बित्यो।
३५ वर्षको हुँदा पुतली खड्कासँग उनको बिहे भयो। थोरै जग्गामा खेतीपाती गरेर घरबार चलाउन मुस्किल थियो। लुरेले काम खोजिरहेका थिए।
नगरपालिकामा काम गर्ने एक साथीले एकदिन नगरपालिकामा सडक विभागको लागि कर्मचारी मागेको कुरा उनलाई सुनाए।
‘तैंले पढेको छैनस् के गर्छस्, बरू बाटो सफा गर्न गइस् भने पैसा त कमाउँछस्, काम गर,’ साथीले दिएको सल्लाह सम्झिँदै लुरेले भने,‘ म जागिर खान गएँ। सुरूमा दिनको चार रुपैयाँका दरले पैसा पाइन्थ्यो।’
उनले २०३९ मंसिर १६ गतेदेखि ललितपुर नगरपालिका हुँदा सडक विभागमा काम गर्न थालेको बताए। महिनामा सय रुपैयाँ जति कमाउने लुरे कहिलेकाहीँ पैसा बढी आउँछ भनेर शनिबार पनि काम गर्न जान्थे।
त्यो बेला अहिलेजस्तो फराकिलो सडक नभएको उनी सम्झन्छन्।
‘कालोपत्र गरेको सडक कमै थियो। भित्री सडकमा धेरै इँटा छापेको हुन्थ्यो। कति ठाउँमा खाल्डाखुल्डी हुन्थ्यो। मान्छेलाई हिँड्न पनि गाह्रो हुन्थ्यो’, उनले भने ‘पहिले बाटो सानो थियो। त्यही सानो बाटोलाई दुईतिरबाट झाँडीले घेरेर बाटो झनै सानो बनाउँथ्यो। हामी त्यही झाडी फाँड्ने काम गर्थ्यौं।’
लुरे सानो हुँदा ललितपुरका जावलाखेल, झम्सिखेल र धोवीघाटलगायत ठाउँमा खेतीपाती हुन्थ्यो। लुरेले कुनै दिन यो ठाउँमा घरैघर ठडिएलान् र सहर बन्ला भन्ने सोचेकै थिएनन्।
‘पहिले बाटोमा गाडी फाट्टफुट्टमात्र देखिन्थे। गाडी देख्दा के-के न देखेजस्तो हुन्थ्यो,’ उनले भने, ‘पछि ट्रली बस सूर्यविनायकदेखि त्रिपुरेश्वरसम्म चल्न थाल्यो। ट्रली बस चल्दा अहिलेको गाडीजस्तो आवाज आउँदैन थियो। बत्ती गएपछि टक्क रोकिन्थ्यो।’
त्यही भएर लुरेलाई अहिलेका गाडी भन्दा उहिलेका ट्रली बस नै मन पर्छन्। ट्रली बसले आवाज ननिकाल्ने र धुँवा नफाल्ने भएकाले आफूलाई मन परेको उनले बताए।
आजभोलि सडकमा गाडीका ताँती देख्दा पनि उनलाई रमाइलो नै लाग्छ।
सडक सफा गर्दै र सडकमा फेरिएका गाडीका स्वरूप र संख्या हेर्दै लुरेले झन्डै २० वर्ष बिताए।
१८ वर्षअघि उनको उमेर ५८ वर्ष पुग्यो। उमेर हदका कारण ५८ वर्षमै अवकाश पाउने नियम थियो। सरकारी कामबाट अवकाश भए पनि लुरेले पेन्सन पाउने थिएनन्।
‘पेन्सन नपाउने भएपछि हामी अरू काम गर्न नजानेकाले कमाउन सक्दैनथ्यौं। हामीले हाकिमसँग कुरा गर्यौं। आफूले जानेको कामबाट निकालेपछि के गरेर खाने भन्यौं,’ उनले भने, ‘ती हाकिमले हामीले चाहेसम्म काम गर्न पाउने भनेर लेखिदिए। त्यसपछि त ढुक्कै भइहाल्यो। त्यही भएर अहिलेसम्म काम गर्न पाएको छु।’
सडककै काम गरेर लुरेले तीन जना छोराछोरी हुर्काए, बढाए, पढाए। जेठो छोरा र छोरीको बिहे भइसक्यो। कान्छी छोरी अहिले स्नातकमा पढ्दै छन्।
‘आफू नपढेर लाटो भइयो। बच्चाहरू पढेर बाठो होऊन बनेर बोर्डिङ हालें’, उनले भने ‘तर छोराले ५ कक्षासम्म मात्र पढ्यो।
आफ्नी दुई छोरीहरूले पढे लेखेको देखेर लुरे एकदमै खुसी छन्। छोरीहरू शिक्षित भएकाले आफूले जस्तो दुःख भोग्न नपर्ने उनको विश्वास छ।
उनकी श्रीमतीलाई विभिन्न बिराम लागेका छन्।
‘हिँड्न पनि गाह्रो छ। जतिखेर पनि दुख्यो मात्र भन्छे। डाक्टरले अपरेसन गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘कतिले बुढेसकालमा अपरेसन गर्दा आकाशतिर जान्छे भने अनि अपरेसन गराइनँ।’
उनी हरेक दिन बिहान १० बजे काममा आउँछन्। बेलुका ५ बजे फर्कन्छन्। गाडी चढ्न थालेको दुई वर्ष मात्र भयो। त्योभन्दा पहिले उनी सधैँ भैंसेपाटीदेखि हिँडेरै पुल्चोकसम्म आउँथे।
उनको भागमा पुल्चोकको दमकलदेखि सिधा नयाँबाटोसम्म परेको छ।
यो बाटोमा उनले धेरै अनुभव गरेका छन्।
पुल्चोकमा धेरै मानिसले पराग खाएर फोहोर गर्ने गरेको उनी बताउँछन्। त्यसैले त्यही एरियामा धेरैजसो काम गर्ने गरेको र ठाडोढुंगा र नयाँबाटोमा कहिलेकाहीँ हेरेर मात्र सफा गर्ने गरेको उनले बताए।
घरमा बसीबसी काम गर्दा धेरै रोग लाग्ने लुरेको बुझाइ छ। शरिरले साथ दिएसम्म सडकमै काम गर्ने उनको योजना छ।
महिनाको नब्बे-सय रुपैयाँदेखि काम सुरू गरेकामा अहिले २१ हजार तलब पुग्दा उनी दंग छन्। आफूले काम गर्दा घरमा पनि सहयोग हुने र एकैजनालाई भार नहुने उनी बताउँछन्।
‘काम गर्दा दिन काट्न पनि सजिलो हुन्छ,’ उनले भने,‘शरीर साथ दिएसम्म यही काम गरिरहन्छु।’