काठमाडौंको प्रमुख पर्यटकीय स्थल हो चोभार। डेटिङदेखि चलचित्र र म्युजिक भिडिओ सुटिङका लागि पनि धेरैको रोजाइमा पर्छ चोभार डाँडा। पिकनिक खाने र मञ्जुश्री गुफा हेर्न पुग्नेको पनि चोभारमा घुइँचो हुन्छ।
चोभार जानुभयो भने अब तपाईं घोडामा चढेर घुम्न पनि सक्नुहुन्छ।
भोट्टी र बब्ली नामका कालो र खैरो घोडाले दिनदिनै पर्यटकलाई चोभार घुमाउँछन्।
यी घोडा कीर्तिपुर नगरपालिका-६ चोभारमा जन्मिएका ५० वर्षीय ज्ञानेन्द्र थापाले इलामको जौबारीबाट ल्याएका हुन्।
बुवा आमाका एक्ला सन्तान थापाले जिन्दगीमा धेरै हन्डर खाइसकेपछि चोभारमा पर्यटकलाई घोडामा राखेर घुमाउने काम थालेका हुन्।
‘म ८ वर्षको हुँदा बुबा बिते। आमाले छोडेर गइन्’, थापाले सेतोपाटीसँग भने ‘त्यसपछि मलाई काकाकाकीले पाल्नुभयो, हुर्काउनुभयो। १० कक्षासम्म पढाउनुभयो।’
२०४५ साल उनको विवाह भयो। घरबार सम्हाल्नुपर्ने भयो।
थापाले सुरूमा घर नजिकैको चोभार सिमेन्ट उद्योगमा काम गरे।
‘२०४९ सालबाट हिमाल सिमेन्ट उद्योगमा काम गर्न थालें’, उनले भने, ‘तर २०५७ सालमा उद्योग बन्द भयो।’
बेरोजगार भएर घर चलाउन र बालबच्चा पढाउन धौ धौ भयो। उनले व्यवसाय गर्ने सोच बनाए।
काठमाडौंदेखि रेडिमेड सामानको व्यापार गर्न इलामको पशुपतिनगर हुँदै दार्जिलिङसम्म पुगे। उनको त्यो व्यापार चलेन। त्यसपछि विकल्पको खोजीमा अरू युवाझैं उनी पनि वैदेशिक रोजगारीका लागि २०६४ सालमा पहिलो पटक दुबई गए।
काठमाडौंबाट उड्दा उनको मनमा ठूला सपना थिए। दुबई पुगेपछि थाहा भयो, सपना पूरा गर्न सोचेजति सजिलो रहेनछ।
‘दुबईमा आर्थिक बन्दी लाग्यो। जसका कारण ओभरटाइम गर्न पाइएन’, उनले भने ‘२०६६ सालमा नै नेपाल फर्किएँ।’
थापा विकल्पको खोजी गर्न थाले। सोही खोजीको क्रममा केही सीप भए काम गर्न सकिन्छ भन्ने लाग्यो। अनि थापाले कुकिङ सिकेर मलेसिया जाने सोच बनाए।
‘कुकिङ सिक्ने क्रममा भारत पुगें’, उनले भने ‘तर त्यहाँ लफडा भयो। ट्रेनिङको अवधि नसकी घर फर्किएँ।’
त्यसपछि उनी मलेसिया गए। आफ्नासँग पर बस्न उनलाई सकस भयो। तीन वर्षपछि स्वदेश नै फर्किए।
मलेसियाबाट फर्केपछि उनलाई नेपालमा नै केही गर्छु भन्ने भयो। तर के गर्ने मेसो पाएनन्।
पशुपतिनगर जाँदा उनले मानिसहरू घोडामा चढेर रमाएको देखेका थिए। त्यहाँ मानिसहरू घोडा चढ्ने, फोटो खिचाउने र टिकटक बनाउने गर्थे।
चोभारमा पनि मानिसहरू घुम्न आउने गरेका उनले बच्चैदेखि देखेका थिए। चोभारमा पनि घोडा भए मानिसहरू रमाउने र आफ्नो व्यापार पनि हुने उनले ठाने।
उनले चोभारमा घोडा चलाउने योजना बनाए। कुन जातको घोडा कहाँबाट ल्याउने भन्ने उनलाई आइडिया थिएन। विभिन्न ठाउँमा गएर जानकारी लिए।
‘मारवाडी घोडा राजस्थानबाट मगाउँदा ३ देखि ४ लाखसम्म पर्ने रहेछ,’ उनले भने, ‘त्यस्तो घोडा ल्याउँदा सोहीअनुसार खानपान र स्याहारमा खर्च गर्नुपर्थ्यो। त्यही भएर नेपालकै घोडा काठमाडौं ल्याउने सोच बनाएँ।’
उनी घोडाको खोजीमा इलामतिर लागे। तीन दिनको लगातार खोजीपछि उनले घोडा भेटे।
‘धेरै ठाउँ धाएँ। तर यो भोट्टी नै मन पर्यो,’ थापाले भने, ‘यो सोझो रहेछ। पुच्छरमा समाउँदा पनि केही गरेन। चढ्दा पनि अरू जस्तो उफ्रिने केही गरेन।’
धेरै घोडामध्ये उनले भोट्टीलाई नै रोजे। गाडीमा राखेर उसलाई इलामदेखि काठमाडौं ल्याए।
उनले भोट्टीलाई २०७६ माघमा ल्याएका हुन्। भोट्टी ल्याएको दुई महिनामा नै कोरोना महामारी सुरू भयो।
बेच्ने साहुलाई घोडा दुई जिउको भएको थाहा रहेनछ।
‘एउटा घोडाको दाम तिरेर ल्याएको थिएँ तर त्यो त गर्भवती पो रहेछ’, उनले भने ‘पहिलो लकडाउनमा उसले बच्चा जन्माई। मलाई भैंसी किन्दा पाडो उपहारजस्तै भयो।’
अहिले उनीसँग भएको घोडा पोनी साइजको हो। पोनी साइजको घोडा भए पनि यो लोकल प्रजातिको नेपाली घोडा भएको बताए।
अहिले ८ वर्षकी भोट्टीले मात्र मानिस बोक्ने गर्छे। बब्लीले केही समयअघिसम्म मान्छे बोक्थी। अहिले बब्लीको घुँडामा चोट लागेको छ।
‘प्लटिङ गरेको जग्गामा चरिरहेको बेला कसैले भाटाले हानेको जस्तो छ’, उनले भने, ‘चोट लागेका कारण केही हप्तादेखि यो यतिकै बसिरहेको छ।’
उनले ठूलो चौरमा घोडा चढेर एक फन्को मार्दा एक सय लिने गरेको बताए। घोडा चढ्न डर लाग्नेले फोटो मात्र खिच्दा ५० रुपैयाँ लाग्छ।
घोडामा चढ्न सक्नेहरू डुलेर रमाउने गरेको र डर लाग्नेहरू पनि फोटो खिचेर र टिकटक बनाएर मज्जा लिने गरेको उनले बताए।
जाडोको समय पिकनिक खान आउनेहरू धेरै हुँदा राम्रो आम्दानी हुन्छ। शनिबारबाहेक अरू दिन खासै कमाइ हुँदैन।
थापाले घोडासँगै चोभारमा चिया पसल पनि खोलेका छन्। घरमा गाईवस्तु पालेका छन्। बिहानै ५ बजेर उठेर कुँडोपानी गरेर घर-घरमा दूध बेच्न पनि आफैं जान्छन्।
जति कमाइ होला सोचेर उनले घोडा ल्याएका थिए, त्यो भने पूरा हुन सकेको छैन। घोडाको कमाइले उनीहरूलाई खुवाउनै ठिक्क हुने उनले बताए
‘घोडाले बिहान दुई किलो मकै खान्छ र दिउँसो चर्छ,’ उनले भने, ‘बेलुका गहुँको चोकर र भिजाएको चना खान्छ। अहिले त यिनीहरूको कमाइले यिनीहरूलाई नै खुवाउन पनि धौधौ छ। बिस्तारै कमाइ बढ्ला कि!’