चितवनको खैरहनीका किसान सूर्यबहादुर बोगटीले गत फागुनको अन्त्यतिर 'राइस प्लान्टर' मेसिन लगाएर चैते धान रोपे।
उनले २ विघामा लगाएको धान हर्लक्क बढेर बाला लाग्न थालेको छ।
यो बेला धानमा रोग, किरा लाग्न नदिन विषादी राख्नुपर्ने हुन्छ। बोगटीको धान खेतमा गत सालसम्म खेताला खोजेर दुई, तीन दिन लगाएर विषादी छर्ने गरिन्थ्यो। तर यसपालि उनले यो झण्झटबाट मुक्ति पाए।
उनले दुई विघा खेतमा लगाएको धानमा ड्रोनले विषादी छरिदियो।
'जब धानमा विषादी छर्ने समय आउँछ, खेताला खोज्दैको हैरान हुन्छ। खर्च पनि उस्तै लाग्छ,' बोगटीले भने, 'यसपालि ड्रोनबाट विषादी छर्दा कुनै झण्झट भएन। एकैछिनमा काम तमाम भयो।'
उनले ड्रोनबाट विषादी छर्दा समय र खर्चको बचत भएको बताए। मेसिनको प्रयोगगरी धान रोप्ने, विषादी छर्ने र काट्ने गर्दा प्रतिविघा २० हजार रुपैयाँभन्दा बढी लागत घट्ने बोगटीले बताए।
गत शनिबार बोगटी र खैरहनी-१४ हर्नरीका १२ किसानको करिब ३ विघा धानमा ड्रोनबाट विषादी छरिएको थियो। यहाँ जमिन चक्लाबन्दी गरेर साढे २३ बिघा जमिनको ब्लक बनाइएको छ। यसको केही हिस्सा क्षेत्रलाई अहिले परीक्षणका रुपमा लिइएको छ।
तरकारी तथा अन्नबालीमा खाद्यतत्व तथा विषादी छर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाइ चितवनले एउटा ड्रोन भित्र्याएको छ। त्यही ड्रोनले चितवनमा देशमै पहिलो पटक धान बालीमा विषादी छर्न थालेको हो।
परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख धनबहादुर थापाले ड्रोनको प्रयोगबाट विषादी छर्दा उत्पादन लागत घट्ने र धानको उत्पादन बढ्ने बताए। यसको प्रयोगले विषादीबाट मान्छेमा हुन सक्ने जोखिम पनि कम गर्ने उनले बताए।
उनले परियोजना कार्यान्वयन इकाइले कृषिको आधुनिकीकरणका लागि प्रविधिको प्रयोग बढाउन काम गरिरहेको बताए।
'कार्यालयले धान रोप्ने र काट्ने मेसिन यसअघि नै सञ्चालनमा ल्याइसकेको छ। अहिले विषादी छर्ने ड्रोनको परीक्षण गरिँदैछ,' उनले भने, 'यसैगरी धान गोड्ने लगायतका अरु प्रविधि पनि भित्र्याउँदै जानुपर्नेछ। उपलब्धीका आधारमा किसानलाई थप मेसिन वितरण गर्दै जानेछौं।'
उनले निर्वाहमूखी कृषिलाई व्यवसायिक बनाउन यो प्रविधि महत्वपूर्ण हुने बताए।
परियोजना कार्यान्वयन इकाइका सूचना अधिकारी माधव पौडेलकाअनुसार सामान्यतया किसानले हाते उपकरणबाट प्रति विघा २० ट्यांकी विषादी हाल्ने गरेकोमा ड्रोनको प्रयोग गर्दा एक ट्यांकी नै काफी हुन्छ।
'हाते उपकरणको प्रयोग गर्दा किसान नै विषादीबाट स्वास्थ्यमा जोखिम हुनसक्छ। ड्रोनको प्रयोग गर्दा यो जोखिम हट्छ,' पौडेल भन्छन्, '२० भाँडो प्रयोग हुने ठाउँमा १ भाँडोले पुग्ने हुँदा खर्च पनि घट्छ।'
उनले अहिले किसानले एक कट्ठा बालीमा प्रयोग गर्ने गरेको विषादीले ड्रोनको प्रयोग गर्दा एक बिघा जमिनलाई पुग्ने बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाइ चितवनले यो ड्रोन पश्चिम चितवनमा सामूहिक तरकारी खेती गर्दै आएको युवा आधुनिक सामूहिक खेतीसँगको सहकार्यमा खरिद गरेको हो।
कुल १५ लाख २५ हजार रुपैयाँ खर्च गर्दा उक्त समूहले १५ प्रतिशत खर्च व्यहोरेको छ। पौडेलले तरकारी, धान, केरा लगायतको खेतीमा ड्रोनको प्रयोग फलदायी हुने दाबी गरेका छन्।
'धानमा यसपटकबाट सुरु गरिएको छ। यसको उपलब्धी केही समयमै देखिन्छ,' उनले भने, 'राम्रो भयो भने थप ड्रोन खरिद गरेर किसानलाई उपलब्ध गराउने तयारी छ।' उनले केही किसान र प्राविधिकलाई ड्रोनबाट विषादी र खाद्यतत्व छर्ने तालिम दिन लागिएको बताए।
युवा आधुनिक सामूहिक खेतीका सचिव सुमन सुवेदीले ड्रोनको प्रयोग गर्दा उत्पादन लागत खर्च घटेको अनुभूति गरेको बताए।
'विशेष गरेर लहरे बालीमा तलबाट मान्छेले विषादी राख्न गाह्रो भइरहेको थियो, माथिबाट ड्रोनले हाल्न मिलेपछि धेरै सजिलो भएको छ,' उनले भने, 'यसको प्रयोगपछि खर्च कम उत्पादन बढी भएको महसुस गरेका छौं।' उनले १०० बिघाभन्दा बढी तरकारी खेतीमा ड्रोनबाट विषादी हाल्ने तयारी भइरहेको बताए।
खैरहनी नगरपालिकाका नवनिर्वाचित मेयर शशिकुमार खनियाले कृषिको प्रवर्धनका लागि आधुनिक प्रविधि भित्र्याउनमा प्रयास गर्ने बताए। तरकारी तथा अन्नबाली उत्पादनमा खैरहनीले प्रगति गर्दै गएको भन्दै उनले अब नयाँ प्रविधि भित्र्याउँदै किसानको लागत घटाउने र उत्पादन बढाउनेतर्फ केन्द्रित हुने बताए।
खैरहनीमा जमिन चक्लाबन्दी गरेर सामुहिक खेती अभियान चलिरहेको वडा नम्बर-१३ का वडाध्यक्ष कुलप्रसाद भुषालले युवाहरु कृषि क्षेत्रमा आउन चाहिरहे पनि सरकारले प्रोत्साहन गर्न नसकेको बताए।
'सरकारी निकायले कृषिको विकासका लागि उपयोगी कार्यक्रम ल्याउन सके उनीहरु यो पेशामा टिकिराख्न सक्छन्,' भुषालले भने।