अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसा र मानव तस्करीलाई एकैसाथ राखेर हेर्न नमिल्ने बताएका छन्।
आइतबार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मानव तस्करी र भिजिट भिसामा जाने विषय फरक रहेको बताएका हुन्।
‘मानव तस्करी र भिजिट भिसा पनि हामीले एउटै हो भनिदियौं। भिजिट भिसा त आफ्नो इच्छाले हो नि। त्यसकारण यो सबैलाई हामीले एउटै डालोमा हेर्नु भएन,’ उनले भने,‘जबरजस्ती लग्ने मानव तस्करलाई कारबाही गर्नुपर्यो।कोही जान्छ भने पनि उसलाई काउन्सिलिङ गर्नुपर्यो।’
उनले भिजिट भिसाको समस्या अध्यागमनको नियत/कमजोरीले मात्रै सिर्जित भएको वा प्रणालीगत समस्या हो भनेर प्रश्न समेत गरेका छन्।
उनले आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरू समाधान नहुने बताए।
‘हामीले श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित बनाउनुको सट्टा हामीले भिजिट भिसामा अघोषित प्रतिबन्ध लगाउनु गलत बाटो हो,’ उनले भने।
उनले अध्यागमन कार्यालयको पुनःसंरचना र कानूनी सुधार गर्नसके मात्र भिजिट भिसा दुरूपयोग रोक्न सकिने बताए।
उनले भिजिट भिसामा आउने मान्छेको भिसालाई वर्क भिसामा रुपान्तरण नगर्न कूटनीतिक पहल गर्नुपर्ने समेत बताए।
महानिर्देशक तिवारीले अध्यागमन सुधारका लागि प्याकेजमा काम गर्न लागेको उल्लेख गर्दै सहकार्य गर्नको लागि सरोकारवाला सबैसँग आह्वान गरे।
—न्युज एजेन्सी नेपाल