तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो।
गोरखाबाट नारायणगढ जाँदै गरेको उक्त बस दुर्घटनामा परी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
ग २ ख १०७७ नम्बरको बसमा भएका यात्रुहरू पर्यटकीय क्षेत्र ऐनापहरा हेर्न बसबाट ओर्लिएका थिए।
केही यात्रु भने बसभित्रै थिए। बस रोकेर 'ओट' लगाउने क्रममा नरोकिएर आफै सडकबाट तल झरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
'घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको छ। अहिलेसम्म प्रारम्भिक सूचना अनुसार ऐनापहरा हेर्न यात्रुहरू झरे। गाडी रोकेको ठाउँमा ओट लागेन, त्यसपछि खसेको हो,' उनले भने।
बसभित्र अरू यात्रु रहे, नरहेको हेर्ने काम भइरहेको उनले बताए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।