चितवन मेडिकल कलेजमा ४१ दिनकी बालिकाको मुटुको शल्यक्रिया भएको छ। उनी गत चैत २५ गते आमाको गर्भमा बसेको ७ महिनामै जन्मिएकी थिइन्।
नारायणी सामुदायिक अस्पतालमा जन्मिएलगत्तै उनको स्वास्थ्य खराब हुन थाल्यो। जन्मँदा उनको तौल मुस्किलले १ किलो थियो। तुरून्तै एनआइसियुमा राख्नुपर्ने भयो। परिवारले उनलाई भरतपुर अस्पतालको एनआइसियुमा लगेर राख्यो।
स्वास्थ्य जाँच गर्दा उनको मुटुमा खराबी देखियो। मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो। नवजात शिशुको शल्यक्रिया गर्नुपर्ने जानकारीले कमजोर आर्थिक अवस्था भएका बुवा अनिल पुरीलाई चिन्तित बनायो। उनीसँग छोरीको शल्यक्रिया गर्ने खर्च त थिएन नै, उनले धेरै आशा राखेको भरतपुर अस्पतालमा मुटुको शल्यक्रिया सेवा पनि थिएन। शल्यक्रिया गर्न सक्ने अन्य अस्पतालमा उनको पहुँच पनि थिएन।
छोरीको अवस्थाका कारण चिन्तित पुरीको परिवारको अन्ततः चितवन मेडिकल कलेजले हात थाम्यो।
यहाँको स्वास्थ्यकर्मीहरूको समूहले करिब ८ घण्टा लगाएर यी बालिकाको शल्यक्रिया गरे। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर अनिल आचार्यले बताए।
‘अक्सिजन लगाएर आएकी बालिकालाई शल्यक्रियापछि एक दिन भेन्टिलेटरमा राखियो ३ दिनपछि त सामान्य अवस्थामै भरतपुर अस्पताल नै पठाउन सक्यौं,’ डाक्टर आचार्यले भने, ‘अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ। तौल बढ्दै गएको छ। छिट्टै डिस्चार्ज भएर घर फर्कन सक्ने हुन्छिन्।’
चितवन मेडिकल कलेजका मुटु, फोक्सो र रक्तनली शल्यक्रिया विभाग (सिटिभिएस)का सर्जन डा.आचार्यका अनुसार यो शल्यक्रिया जटिल भने होइन। तर मुटुको शल्यक्रिया गर्ने चिकित्सक, बिरामीलाई बेहोस बनाउने र एनआइसियुका जनशक्ति दक्ष नहुँदासम्म यस्तो शल्यक्रिया सुरू गर्न सहज हुँदैन।
‘बच्चाको फोक्सो र रक्तनलीको बीचमा रहेको कनेक्सन (पिडिए) जन्मिएपछि बन्द हुनुपर्छ, तर त्यो नभएर यी बालिका एक महिनादेखि एनआइसियुमै अड्किरहेकी थिइन्। उनलाई अक्सिजन, एन्टिबायोटिक चाहिराख्ने भएको थियो,’ डा.आचार्यले भने, ‘सरकारी अस्पतालबाट रिफर भएर यहाँ आयो। हामीले अपरेसन गरेर पठायौं।’
बालिकाका बुवा पुरीले छोरीको सुरूको अवस्था देख्दा र जन्मिने बित्तिकै अपरेसन गर्नुपर्ने भयो भन्ने सुन्दा चिन्तित भए पनि शल्यक्रिया सफल भएर छोरीलाई निको हुँदै जाँदा खुसी भएको बताए।
डा.आचार्यले अस्पतालले जुनसुकै उमेर समूहका व्यक्तिको उपचारका लागि आवश्यक स्रोत र साधन उपलब्ध गराएका कारण उपचारमा सहज भएको बताए।
उक्त अस्पतालले चार दिनअघि २ वर्षीय बालकको पनि मुटुको शल्यक्रिया गरेको डा.आचार्यले बताए।
‘उपचारका लागि काठमाडौं जान लागेका नवलपरासीको सुनवलका बालकको परिवार हाम्रो सम्पर्कमा आइपुगे, हामीले उनको सफल शल्यक्रिया गरेर आजमात्रै घर पठायौं,’ उनले भने।
शल्यक्रियामा डा.आचार्य, डा अलका सिंहलगायतका चिकित्सकसहितको स्वास्थ्यकर्मीको समूह सहभागिता थियो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले उनीहरू दुबै जनालाई विपन्न वर्गको सुविधा उपलब्ध गराएर नि:शुल्क शल्यक्रिया गरिएको बताए।
उनका अनुसार विपन्न वर्गको स्वास्थ्योपचारका लागि अस्पतालले एक लाख रुपैयाँसम्मको उपचार नि:शुल्क गर्ने गरेको छ।
देवकोटाले चितवन मेडिकल कलेजले डेढ महिनादेखि ७० वर्षसम्मकाको मुटुको शल्यक्रिया गरिसकेको बताए।
यस अस्पतालमा गत साउनबाट मुटुको शल्यक्रिया सुरू भएको थियो। यो अवधिमा १९ जनाको ओपन हार्ट सर्जरी र १७ जनाको क्लोज हार्ट सर्जरी गरिएको डाक्टर आचार्यले बताए। यस अस्पतालले मुटु, फोक्सो, रक्तनलीको समस्या भएका बिरामी १८० जनाको शल्यक्रिया गरिसकेको डा.आचार्यले बताए।
मुटुको शल्यक्रिया काठमाडौंका मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हुन्छ। यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै मुटुको शल्यक्रिया गर्ने गरेका छन्।
काठमाडौंका दुई सरकारी अस्पतालहरूले १४ वर्ष मुनिका, ७५ वर्ष माथिका र मुटुको बाथ रोग भएका बिरामीहरूको उपचार नि:शुल्क गर्छन्। यी बाहेकका अस्पतालहरुले भने शुल्क लिएर उपचार गर्छन्।
डा.आचार्यले सरकारले काठमाडौंका अस्पतालहरूलाई जस्तै सुविधा मेडिकल कलेजलाई पनि दिए धेरै बिरामीले राहत पाउने बताए।
‘देशभरका बिरामीले सहज र सुलभ रूपमा उपचारका लागि काठमाडौंका दुई अस्पतालको भरपर्नु परेको छ। तर हाम्रो जस्तो उपचारका लागि योग्य अस्पतालबाट पनि त्यस्ता सुविधा उपलब्ध गराउन सके धेरै बिरामी लाभान्वित हुने थिए,’ डा.आचार्य भन्छन्।
यस अस्पतालमा दैनिक एक जना बिरामीको मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता रहेको उनले बताए।
‘हामी जुनसुकै उमेर समूहका बिरामीको मुटुको अपरेसन गर्न सक्षम छौं। सरकारले दिने सुविधाहरू यहाँ पनि उपलब्ध भए बिरामीलाई सहज हुन्थ्यो भन्ने लाग्छ,’ डा.आचार्य भन्छन्।
चितवन मेडिकल कलेजमा पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाका धेरै बिरामीहरु मुटुको समस्या लिएर उपचारका लागि आउने गरेको प्रमुख कार्यकारी अधिकृत देवकोटाले बताए।