सत्र वर्षअघि आजैका दिन। माडीको पल्लो छेउ बगईबाट आएको बस यात्रुले खचाखच थियो। त्यस दिन बगईबाट काठमाडौं र पोखरा जाने दुई वटा गाडी नचलेका कारण एउटै बसमा यात्रु थोपरिएका थिए।
माडीको कल्याणपुरका ईश्वरीप्रसाद पौडेल र श्रीमती भुवनशान्तिले घर अगाडि सडक किनारामा उभिएर हात उठाए। चालकले बस रोके।
बसमा पाइला टेक्ने ठाउँ थिएन। भुवनशान्तिले पहिले गाडीमा पाइला राखिन्। भीड छिचोलेर भित्र जान हम्मे भएपछि ईश्वरीले धकेलेर भुवनशान्तिलाई भित्र पुर्याए। आफू छेउमै उभिए।
करिब पाँच सय मिटर गुडेपछि गाडीले इन्जिन खराब भए झैँ संकेत गर्यो। ईश्वरी लौ, चढ्ने बितिक्कै गाडी बिग्रियो भनेर सोच्दै थिए, अजंगको आवाज आयो। सँगै बसेका मान्छेहरू तितरबितर भए। ईश्वरी बेहोस भए।
उनको होस खुल्दा बाँदरमुढे खोलामा कोही रगताम्य थिए, कोही छटपटाइरहेका थिए। श्रीमती भुवनशान्ति पनि त्यहीँ छटपटाउदै थिइन्।
सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले थापेको एम्बुसमा परेको थियो ना १ ख ३२४५ नम्बरको बस। त्यो दिन थियो २०६२ सालको जेठ २३ गते, बाँदरमुढेमा भएको बम विस्फोटमा परेर ३८ जनाको ज्यान गयो। बसमा सवार ७५ जना घाइते भए। मृत्यु हुनेमा तीन जना नेपाली सेनाका जवान पनि थिए।
सत्र वर्षमा बाँदरमुढे खोलामा धेरै पानी बगिसक्यो। ज्यान गुमाउनेका परिवार, अंगभंग हुनेहरू र उनीहरूका परिवारका जीवनमा धेरै उतारचढाव र परिवर्तन आयो। उनीहरूले खोजेको राहत र न्यायको आशा भने पूरा हुन सकेको छैन बरू सत्र वर्ष पुरानो घाउ अझै आलो बनेर मानसपटलमा घुमिरहेको छ।
घटना हुँदा ईश्वरीप्रसाद पौडेल ३४ वर्षका थिए। उनकी ६ वर्षकी छोरी थिइन्। एम्बुसमा परेका ईश्वरी र भुवनशान्ति झट्ट हेर्दा सकुशल देखिन्छन्। उक्त घटनाले उनीहरूलाई पुर्याएको शारीरिक र मानसिक चोट, उनीहरूको परिवारिक जीवनमा आइपरेको बज्रपात जोकसैले बुझ्न सक्दैनन्।
‘झट्ट हेर्दा मलाई केही भएको छैन जस्तो देखिन्छ तर त्यो घटनापछि मेरो टाउको र ढाडमा निकै ठूलो समस्या आयो। त्यो समस्यासँग जुध्न नसकेर मैले आफ्नो व्यवसाय छाड्नुपर्यो। अहिले सामान्य काम गर्न पनि गाह्रो हुन्छ,’ ईश्वरी भन्छन्, ‘परिवारको मुली नै केही गर्न नसक्ने अवस्थामा हुँदा अरूको हालत के भयो होला!’
घटनापछि भुवनशान्तिका हातखुट्टाले पहिले जसरी काम गरेनन्।
उनीहरूले बाँदरमुढे घटनामा घाइते भएको भनेर आधिकारिक पहिचान पनि पाउन सकेका छैनन्।
‘सरकारी कार्यालयहरूमा गएर म बाँदरमुढे घटनाको घाइते हुँ, पहिचान दिनुपर्यो भन्दा कर्मचारीहरू मैमाथि शंकाको नजरले हेर्छन्। नक्कली घाइते आयो भन्छन्। भित्री चोट म कसलाई देखाऊँ,’ ईश्वरीले सेतोपाटीसँग भने, ‘घाइते भएको पहिचान दिन नसक्नेहरूबाट न्यायको के आश गरौँ!’
उनले उक्त घटनापछि श्रीमान–श्रीमतीमै देखिएका भित्री समस्याले परिवारका सबैको जीवनमा असर परेको बताए। कमाउने बाटो बन्द हुँदा छोराछोरीलाई गतिलो शिक्षा दिन नसकेको उनको भनाइ छ।
पौडेल दम्पतीका यसपालि एसईई दिएका छोरा प्रतीकले आइटी पढ्न खोजेका छन्। त्यसका लागि उसलाई विज्ञान विषय पढ्नुपर्छ। ‘छोरालाई राम्रो क्याम्पसमा पढाउने मन छ तर कसरी पढाउने भन्ने चिन्ता छ,’ भुवनशान्ति भन्छिन्, ‘न आफूले गर्न सकियो, न गर्नुपर्नेले दायित्व पूरा गरे।’
बाँदरमुढे घटनाको दुई वर्षपछि तत्कालीन नेकपा माओवादी देशको सबैभन्दा ठूलो पार्टी बन्यो। उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्री भए। त्यतिबेला मृतकका परिवार र घाइतेहरूले धेरै आशा गरेका थिए तर उनीहरूले सोचेजस्तो केही भएन। सोही पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि जस्ताको जस्तै रह्यो।
करिब एक दशकअघि अध्यक्ष प्रचण्डले माडी आएर घटनाका पीडितका लागि विशेष प्याकेज ल्याउने घोषणा नै गरेका थिए। त्यो घोषणाले घटनाको पीडितहरूमा आशा जगायो तर उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो वाचा पुरा गर्न सकेनन्।
‘बाँदरमुढे घटना पीडित समिति’ का उपाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडी महोत्सवमा प्रचण्डले ६० लाख रुपैयाँको प्याकेज ल्याउँछु भनेर घोषणा गरेका थिए आजसम्म पनि पूरा भएको छैन।
‘केही पीडितलाई आर्थिक प्रलोभनमा पारेर उनको विपक्षमा नबोल्ने बनाए तर काम केही गरेनन्,’ अधिकारीले भन्छन्, ‘हामी अब त्यस्ता आश्वासनको विश्वास गर्नेवाला छैनौं। यो घटना त अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ। अब हामी चुप लागे पनि बाँदरमुढेको घटना हराउँदैन।’
अधिकारीले सत्र वर्ष भइसक्दा पनि पीडितको घाउ आलै रहेको बताए। ‘मान्छेहरूलाई लाग्छ सत्र वर्षसम्म पनि यो मान्छे किन कराइरहेको होला भनेर तर घटना उही स्थितिमा छ। न पीडितले न्याय पाए, न कुनै टुंगो लाग्यो,’ उनी भन्छन्, ‘राज्यले चाहेको भए बाँदरमुढे स्मारकलाई व्यवस्थित बनाएर पर्यटकीय क्षेत्र बनाउन सक्थ्यो तर ऊ त्यसो गर्न चाहँदैन।’
सरकार स्मारकको नाम निशान मेटाउन लागिपरेको अधिकारीको आरोप छ। पीडित र मृतकका परिवारका नजरमा राज्य चेतनाशून्य देखिएको उनको भनाइ छ।
उक्त घटनामा घाइते भएका अधिकारीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो। उनको छातीका दुई वटा करङ भाँचिएका छन्। देब्रे खुट्टा भाँचिएर स्टिल राखिएको छ। उनको ढाडमा पनि समस्या छ।
‘राज्यको तर्फबाट अहिलेसम्म मैले ४० हजार रुपैयाँ पाएको छु,’ उनले भने, ‘दुखाइ कम गर्ने औषधि दिनहुँ खानुपर्छ। महँगीमा औषधि किन्न पनि गाह्रो भइरहेको छ।’
घटनामा आफन्त गुमाउनेको पीडा झन् ठूलो छ। माडी–५ की नरमाया सुनारले उक्त घटनामा श्रीमान दिलबहादुरलाई गुमाएकी थिइन्। उनका एक छोरा घाइते भएका थिए।
‘परिवारको मुख्य मान्छे मरे। छोरो घाइते भएर काम गर्नै नसक्ने भयो। म बुढीलाई ज्यान पाल्नै धौधौ छ,’ उनी भन्छिन्, ‘सरकारले सहयोग गर्छ भन्थे, खोइ! हामीलाई त कसैले केही सहयोग गरेन।’
माडी–५ का भुवनसिंह गुरूङकी सासु श्रीकुमारी गुरूङको पनि उक्त घटनामा मृत्यु भयो। घरमा आएकी आमालाई नवलपुरको दुम्कीबासस्थित घर पुर्याउन जाँदै गरेकी भुवनसिंहकी श्रीमती जगनमाया घाइते भइन्। जगनमायाको टाउकोमा चोट लाग्यो, दुबै खुट्टा भाँचिए। सरकारले एक लाख रुपैयाँ दियो।
‘घटनापछि श्रीमती केही काम गर्न सक्दिनन्, उनलाई सहयोग गर्ने मान्छे चाहिन्छ,’ भुवनसिंह भन्छन्, ‘त्यो घटनाले त हामीलाई कति पीडा दियो कति! त्यो एक लाख रुपैयाँ त छेउ पनि होइन।’
माडी नगरपालिकाको केन्द्र वसन्तपुरबाट करिब पाँच किलोमिटर पर बाँदरमुढे खोला छ। बम विस्फोटको घटना हुनुअघि नै खोलाको पुल भत्किएको थियो। पुल भत्किएपछि गाडी खोलाबाटै चल्थे। घटना भएको तीन वर्षपछि खोलाको ५० मिटरजति पर बाँदरमुढे स्मारक बनेको थियो।
स्मारकमा घटनामा मृत्यु हुने र घाइते हुनेको नाम लेखिएको छ। स्मारकमा नेकपा माओवादीलाई ‘तत्कालीन सरकारद्वारा आतंककारी घोषित’ पनि उल्लेख गरिएको छ। स्मारकको उद्घाटन माडीको कल्याणपुरका नभप्रसाद घिमिरेले गरेका थिए।
अहिले माढी खोलामा नयाँ पुल बन्दैछ तर खोलाको धार परिवर्तन गरिएको छ। मृतकका परिवारज र घाइतेको जीवन भने पीडाको आहालमा जस्ताको तस्तै छ।