मंगलबार अपरान्ह चितवनको जंगलमा निउरो टिप्न गएकी महिलालाई बाघले आक्रमण गर्यो। भरतपुर महानगरपालिका-२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएका थिए। उनीहरूमध्ये घैलाघारी बस्ने ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो।
जेठ महिनामा बाघले आक्रमण गरेको चौंथो घटना हो। यो महिनामा बाघको आक्रमणबाट मृत्यु भएकामध्ये अन्य २ जना पनि निउरो टिप्नै जंगल छिरेका थिए। एक जना गाई चराउन गएकी महिला थिइन्।
जेठ ८ गते भरतपुर महानगरपालिका-१३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न, निउरो खोज्न गएकी फुलकुमारी बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो। ५२ वर्षीया बोटेलाई बाघले आक्रमण गरेर घिसार्दै करिब सात सय मिटर पर पुर्याएको थियो।
जेठ १६ गते बाघले राप्ती नगरपालिकाको वडा नम्बर १ मा निकुञ्जभित्र राप्ती नदीको किनारमा गाईवस्तु चराउन गएकी महिलालाई आक्रमण गर्यो। ५३ वर्षीया सेतीमाया तामाङ घर नजिकै पर्ने निकुञ्जको क्षेत्रभित्र गाई चराउन गएकी थिइन्। अपरान्ह ४ बजेतिर बाघको आक्रमणमा परेर उनको घटनास्थलमै मृत्यु भएको थियो।
यो घटना भएको २६ घन्टापछि(जेठ १७ गते) भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मा पर्ने जंगलमा जंगली जनावरको आक्रमणबाट एक व्यक्तिको मृत्यु भयो। नवजागृति सामुदायिक वनमा निउरो र च्याउ खोज्न गएका ५१ वर्षका चाथर कुमाललाई कुन जनावरले आक्रमण गर्यो भन्ने खुलेको छैन। स्थानीयबासी भने कुमालको बाघकै आक्रमणबाट मृत्यु भएको बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन पाटेबाघका मुख्य बासस्थान हुन्। पाँच वर्षअघि भएको गणनामा यहाँ ९३ वटा पाटेबाघ भेटिएका थिए। देशभरमा २३५ वटा बाघ भेटिएका थिए। केही महिनाअघि मात्रै देशभर बाघ गणना गरिएको छ। त्यसको नतिजा आउन बाँकी छ। बाघको संख्या विगतको भन्दा बढ्ने अनुमान विज्ञहरूको छ।
संख्या बढ्दै जाँदा बाघको आक्रमणबाट मान्छेको मृत्यु हुने क्रम पनि बढेको छ। चितवन निकुञ्जका अनुसार २०७६ सालमा बाघको आक्रमणबाट मान्छेको मृत्यु भएको थिएन। त्यसपछिको वर्ष चार जनाको बाघको आक्रमणबाट मृत्यु भयो।
गत वर्षको असारयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको आक्रमणबाट मात्रै १५ जनाको मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार २०७६ सालको चैतयता निकुञ्ज र आसपासका वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु भएको छ। यो अवधिमा बाघको आक्रमणबाट मात्रै १९ जनाको ज्यान गएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। एक सिंगे गैंडाको आक्रमणबाट १० जना, जंगली हात्तीको आक्रमणबाट ५ जना, गौरी गाई र बँदेलको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको उनले बताए।
गत चैतयताको करिब तीन महिनामामात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। यो अवधिमा ९ जनाको बाघको आक्रमणबाट र एक जनाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।
गत चैत २ गते गैंडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा आत्तिएर दलदले पोखरीमा हाम फालेका खड्ग दल गणका जवान २६ वर्षका पवन कटुवालको पोखरीमा डुबेर मृत्यु भएको थियो।
चैत २० गते सामुदायिक वनमा घाँस काट्न गएका व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भयो। बेलहट्टा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका सुरेश सुनारको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
यसको चार दिनपछि संयुक्त राप्ती सामुदायिक वनमा घाँस काट्न गएका ४० वर्षीय प्रेम परियारलाई बाघले निसाना बनायो।
चैत २६ गते खैरहनी-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ६५ वर्षका रामप्रसाद धमलालाई बाघले आक्रमण गर्यो। उनको शव भोलिपल्ट शरीरको पछाडि र तिघ्रा बाघले खाएको अवस्थामा फेला परेको थियो।
वैशाख १६ गते अपरान्ह साढे ४ बजेतिर निकुञ्जको हेडक्वाटर कसरामा रहेको हात्तीसार केन्द्रमा कार्यरत माहुतेलाई बाघले निसाना बनायो। बारा जिल्लाको कोल्वी-१ घर भएका २३ वर्षीय रमेश चौधरीलाई हात्तीसारमै बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भयो।
त्यसको दुई दिनपछि बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी–१३ का ६५ वर्षीय नारायणबहादुर दाहालले ज्यान गुमाए। स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेको स्थानभन्दा १ किलोमिटर पर घाँटीमा चोट लागेको, दाहिने तिघ्राको भाग कोपारेको अवस्थामा दाहालको शव भेटिएको थियो।
यो घटनाको भोलिपल्ट (वैशाख १९ गते) मेघौलीका ३७ वर्षीय मनबहादुर कुमाल गैंडाको निसानामा परे। मिस्त्री काम गर्ने कुमाल घरभन्दा करिब चार सय मिटरपर पुग्दा मकैबारीमा रहेको गैंडाको आक्रमणमा परेर घाइते भएका थिए।
आक्रमणका सबै घटना जंगलभित्रै भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। मृत्यु हुनेमध्ये अधिकांश निउरो खोज्न जंगलभित्र जाने महिला छन्। त्यसपछि च्याउ खोज्न, घाँस, दाउरा काट्न जंगल गएका छन्। यसरी जाँदा मान्छे र बाघको जम्काभेट हुने सम्भावना धेरै हुन्छ। आचार्यले निउरोको सिजनमा बाघको आक्रमणको घटना बढी देखिएको बताए।
पूर्व-पश्चिम राजमार्गको भरतपुर-टिकौली खण्डको सडक छेउमा निउरो बेच्नेको संख्या बढ्दो क्रममा छ। निउरो बेच्नेहरू यो सडकमा लहरै लागेर बसेका देखिन्छन्। बिक्री गर्ने अधिकांश महिला छन्।
‘आफ्नो क्षेत्रमा मान्छे आएपछि बाघले आक्रमण गरेको छ। बाघको बासस्थानमा मान्छेको आवातजावत रोक्न हामीले प्रयास गर्दै आएका छौं तर पनि दुखद् घटना रोकिएका छैनन्,’ आचार्यले भने, ‘बेचेर पैसा कमाउन सजिलो भएर मान्छेहरू निउरो टिप्न जंगल जाने क्रम बढेको पाइएको छ।’
प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार निकुञ्जले मान्छेमाथि आक्रमण गर्ने बाघलाई डार्ट(बेहोस बनाउने औषधी राखिएको सुई बन्दुकमा लोड गरेर हान्ने) गरेर नियन्त्रणमा लिने गरेको छ। यसरी नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको इक्लोजरमा राख्ने गरिएको छ। केहीलाई रेडियो कलर जोडेर पुनः जंगलमा छाडिएको छ।
‘तर प्रकृतिक बासस्थानमा बसिरहेका बाघलाई डार्ट गरेर वा समातेर थुन्दा धेरै समय बाँच्दैनन्। त्यसैले धेरै कुरा सोच विचार गरेर डार्ट गर्नुपर्ने हुन्छ,’ आचार्यले भने, ‘हाम्रो प्रयास त बाघको बासस्थानमा मान्छेको आवातजावत रोक्नेमै रहन्छ।’
गत महिनामा मेघौलीबाट समातेर निकुञ्जको कार्यालयमा लगिएको बाघको दूधे बच्चा मरेको उनले बताए।