चितवनको रत्ननगर नगरपालिकाको टाँडी बजारदेखि उत्तरतर्फ नेपाल टेलिकमको कार्यालय छ। त्यो कार्यालय नजिकै लामो समय काठको मिल सञ्चालन भयो। यहाँ काठबाट फर्निचर बनाएर बिक्री गर्ने काम हुन्थ्यो। यसका सञ्चालक थिए, मुस्ताङबाट बसाइँ सरेर चितवन आइपुगेका सम्मरबहादुर शेरचन।
२०४६ सालदेखि चितवनमा काठको मिल सञ्चालन गर्दै आएका थिए उनले। मिलमा उनलाई छोरा सुवासले सघाउँथे। सुरूआतमा व्यवसाय राम्रै भए पनि देशमा लोडसेडिङ बढ्दै जाँदा शेरचन परिवारको यो व्यवसाय धरासयी बन्न थाल्यो। दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँदा मिल चलाउनै नसक्ने अवस्था आइलाग्यो।
लोडसेडिङकै कारण काठको मिल चलाउन नसक्ने टुंगोमा पुगेपछि करिब ५ वर्ष अघि शेरचन परिवारले मिलका सबै सामानहरू बिक्री गर्यो। त्यसको केही समयपछि सम्मरबहादुर शेरचनको निधन भयो।
पछि छोरा सुवासले काठ मिल भएको ठाउँमा ‘मार्ट’ खोले। मार्ट सञ्चालनमा आएको केही वर्षपछि उनले व्यवसायमा लगानी बढाउने सोच बनाए। त्यही सोचअनुसार पाँच महिना अघि मार्टको आडैमा थकाली भान्छा घर खोले।
पहिले काठ मिल भएको क्षेत्रमा अहिले उनको घर अनि उनले सञ्चालन गरेको पी मार्ट र थकाली भान्छा घर सञ्चालन हुन थालेको छ। यी दुई व्यवसायमा उनले करिब १ करोड रुपैयाँ लगानी गरेका छन्।
उनको परिवारले चलाएको काठ मिल बन्द हुनुमा लोडसेडिङ मुख्य कारण बनेजस्तै लोडसेडिङको अन्त्य थकाली भान्छा घरमा लगानीको कारण बन्न पुग्यो। अनि सुवासले लोडसेडिङ अन्त्य गर्न भूमिका खेलेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्झिए।
सुवासले थकाली भान्छाको प्रांगणमा एउटा टावर खडा गरेका छन्। यसलाई नाम दिएका छन्- कुलमान टावर।
झट्ट हेर्दा विद्युतको हाइटेन्सन टावर जस्तो देखिने यो टावरलाई रंग-रोगन गरेर आकर्षक बनाइएको छ। टावरमा डोरो टाँगेर पतकाहरू टाँसिएको छ। यो हाइटेन्सन लाइनमा जोडिएको आकर्षक तार जस्तो देखिन्छ। टावरसँगै घिसिङको फोटो छ। त्यसमा ‘उज्यालोको प्रतीक, द रियल हिरो कुलमान घिसिङ’ लेखिएको छ।
‘मैले नेपाललाई उज्यालो बनाउन भूमिका खेल्नुभएका कुलमान घिसिङको सम्मानमा यो टावर निर्माण गरेको हुँ। यो मेरै डिजाइनमा बनेको हो। उहाँकै मेहनतका कारण आज हामीले सहज रूपमा व्यवसाय गर्न पाएका छौं,’ शेरचनले भने, ‘मलाई व्यवसायमा लगानी गर्ने आँट नै उहाँका कारण आएको हो।’
उनले रेष्टुरेन्ट निर्माणको क्रममा फलामको काम गर्ने मिस्त्रीलाई नै यो टावर बनाउन लगाएका थिए। फलाम, अन्य सामान र ज्यालामा गरेर टावर बनाउन २ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए। टावर लगाइएको रंगमामात्रै उनले २० हजार रुपैयाँ भन्दा बढी खर्च गरेका छन्। अझै भुइँलाई आकर्षक बनाउन केही पैसा खर्च गर्न लागेको उनले बताए।
उनले रेष्टुरेन्टमा बनाएको टावर हेर्न अचेल धेरै मान्छेहरू पुग्ने गरेका छन्।
‘कुलमान टावर हेर्न भनेर आउनुहुन्छ, फोटो खिच्नुहुन्छ। कोहीले त थकाली भान्छा घरलाई नै कुलमान टावर भन्न थाल्नुभएको छ,’ शेरचन भन्छन्, ‘जे होस् मैले सम्मान गर्ने व्यक्तित्वको नाममा यति गरें। मैले गरेको काम पनि धेरैले मनपराइदिँदा खुसी लागेको छ।’