तनहुँका सीताप्रसाद सुवेदी गह्रौँ झोला बोकेर ठूटे खोलातिर अघि बढ्दै गर्दा उनीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नजर पर्यो। उनको झोलामा दस किलो चिनी र केही खाद्यान्न थियो।
जाँच गरेपछि एसएसबीले उनलाई अघि बढ्न स्वीकृति दियो।
भारतमा पर्ने भिखनाठोरीको तल्लोपट्टिबाट बग्ने ठूटे खोलाको किनारमा झोला बिसाएर उनले जुत्ता खोले। जुत्ता हातमा लिएर खोला तर्दै नेपालको ठोरी पुगे।
ठोरी नाका करिब पाँच दशक अघिसम्म निकै चल्तीको थियो। यहाँ भारतबाट आउने नुन, खाने तेल, मट्टितेल, चिनी इत्यादि लिन देशका विभिन्न ठाउँबाट मानिसहरू पुग्थे।
पारि भिखनाठोरीसम्म रेल र मालबाहक गाडीहरूले सामान ल्याउँथे। त्यहाँबाट नेपाली र भारतीयले सामान बोकेर ठोरी ल्याउँथे। पहाडी जिल्लाहरू तनहुँ, गोरखा, लमजुङका अधिकांश व्यापारीहरू सामान किन्न भरिया लिएर ठोरी पुग्थे। उपभोक्ताहरू पनि आउँथे।
एकातिर भारत र तीनतिर नेपालको घना जंगलले घेरिएको ठोरी पुग्न सहज थिएन। जंगलका डरलाग्दा जनावर छल्दै मानिसहरू खाद्यान्न र अन्य सामग्री खरिद गर्न पुग्थे।
अहिलेको ठोरी पहिलेको जस्तो छैन। ठूटे खोलाको किनारमा लहरै लागेर दोकान थापेका त्यतिखेरका व्यापारीहरू विस्थापित भइसकेका छन्। यहाँ अहिले सामान्य चियानास्ता पाइने झुप्रा र चाउचाउ, चकलेट बेच्ने दोकान मात्रै छन्।
भिखनाठोरीमा पनि अचेल रेल आउँदैन। रेलको लिक पनि जीर्ण भएको छ तर त्यहाँ ठोरीमा भन्दा ठूला पसलहरू छन्। अहिले भारतले नेपालतर्फ चिनी निर्यात गर्न पनि बन्द गरेको छ।
ठोरी पुग्ने नेपालीहरू ठूटे खोला तरेर भिखनाठोरी पुग्छन्। आफूलाई चाहिने खाद्यन्न र अन्य सामग्री किनेर फर्कन्छन्। परिवारको आवश्यकताका लागि किनेको सामान भन्सार कार्यालयले रोक्दैन।
ठूटे खोलाको तीरमा होटल चलाउँदै आएका ठोरीका प्रकाशबहादुर थापामगरका अनुसार नेपालीहरू भिखनाठोरी जाने र भारतीयहरू नेपालको ठोरी आउने संख्या बराबर जति नै हुन्छ।
नेपालीहरू दैनिक उपभोग्य सामान किन्न भिखनाठोरी पुग्छन्। भारतीयहरू प्रायः मदिरा सेवनका लागि ठोरी आउँछन्।
भारतको बिहारमा मदिरा सेवन प्रतिबन्धित छ। त्यहाँ मदिरा सेवन गर्नेले पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ।
थापामगर भन्छन्,‘उता जरिवानामा पर्ने भएकाले धेरै भारतीयहरू मदिरा सेवनका लागि नेपालतर्फ आउँछन्।’
उनकै होटलमा भेटिएका भारतीय नागरिक सरोज यादवले पनि उक्त कुरा कुरा स्वीकारे गरे। सरोजले भने, ‘पिउन त उता पनि पिउँछन् तर हामी जस्ता साना मान्छेले पिउन सकिँदैन। हामी यतै (नेपाल) आउँछौँ।’
थापामगरका अनुसार ठोरीमा अहिले चलेको व्यापार पनि मदिराकै हो। प्रहरीसँग भने सतर्क रहनु पर्छ।
‘ठोरीमा सरकारले लाइसेन्स दिएको भट्टी नै थियो। यहाँ मान्छेहरू निर्धक्क मदिरा पिउँथे। अचेल सुरक्षाकर्मीसँग जोगिनु पर्छ,’ उनले भने।
गुणराज दाहाल २०२३ सालमा काठमाडौंबाट ठोरी आएका हुन्। उनका अनुसार त्यो समयको ठोरी र अहिलेको ठोरीको चहलपहल तुलना नै हुँदैन।
उनी काठमाडौंको सुन्धाराबाट ट्रक चढेर टिस्टुङ, पालुङ, भिमफेदी, हेटौँडा, अमलेखगञ्ज हुँदै २४ घण्टामा वीरगञ्ज पुगेका थिए। वीरगञ्जबाट भारतको रक्सौल पुगेर रेल चढेर नर्कटियागञ्ज पुगे। त्यहाँ रेल बदलेर ठोरी पुगेका थिए।
‘म सोह्र वर्षको उमेरमा आफन्त यहाँ छन् भन्ने थाहा पाएर खोज्दै एक्लै ठोरी आइपुगेको थिएँ। त्यो समयको ठोरी बन्दीपुरे व्यापारीले भरिएको थियो। सामान बेच्ने र किन्नेले ठोरी भरिभराउ हुन्थ्यो,’ एकहत्तर वर्षीय गुणराजले भने, ‘मसँग पैसा नभएकाले व्यापार गर्न सकिनँ। यहाँ व्यापार गर्नेले कमाउनसम्म कमाए।’
उनका अनुसार त्यो समय नुन पाथीको तीन रुपैयाँमा, चिनी प्रतिकेजी साढे दुई रुपैयाँमा पाइन्थ्यो। उनी काठमाडौं फर्किएनन्। त्यहीँ खेती गर्दै घरजम गरे। उनले ठोरीको साढे पाँच दशक भन्दा बढीको परिवर्तन देखेका छन्।
‘अहिले त ठोरी उराठलाग्दो देखिन्छ। न व्यापार छ न रमाइलो छ,’ गुणराज भन्छन्, ‘यो बजार पनि वर्षामा ठूटे खोलो बढेर कता लैजान्छ कता!’
गुणराज ठोरी पुगेको समयमा मानिसहरू ठूटेखोला फड्केर तर्न सक्थे। खोलो आफ्नै धारमा बग्थ्यो। बिस्तारै खोलो नेपालतर्फ फर्किएर बग्न थाल्यो। अहिले यो खोलाले नेपालतर्फ करिब पाँच सय मिटर जमिन बगर बनाएको छ।
हिउँदमा सानो भए पनि वर्षामा ठूटे खोलो अजंगको भएर बग्छ। भारततर्फ बाँध छ, नेपालतर्फ छैन। यसै कारण खोलाले हरेक वर्ष नेपालतर्फ हान्ने गरेको छ। ठोरी बजार झनझन सार्दै गएको छ। गुणराजका अनुसार उनले देख्दा अहिले देखिने बगरको बीचतिर थियो बजार।
खोलाको आडैमा एउटा गुफा छ। यो गुफालाई भगवान रामकी पत्नी सीताको कथासँग जोडेर ठोरीबासी ‘सीता गुफा’ भन्छन् र ठूलो महत्व दिन्छन्। यसको संरक्षणमा भने कसैले चासो दिएको छैन। गुफामा ललितपुरबाट आएका अर्जुनप्रसाद घिमिरे पुजारी छन्। अर्जुन ठोरी आएको पनि पाँच दशकभन्दा बढी भयो। उनी त्यो समयको र अहिलेको ठोरी तुलना गर्छन्। उनी ठोरी आएको समयमा सयौँ व्यापारीहरू सामान किन्न लाइन लाग्ने गरेको सम्झन्छन्।
‘हिमालतिरका मान्छे जडिबुटी बोकेर बेच्न आउँथे। पहाडका मानिसहरू चाँदीका सिक्का बोकेर आउँथे। नुन, तेल, चिनी किनेर फर्कन्थे,’ अर्जुन भन्छन्, ‘त्यो बेलाको ठोरी झल्झली बलेको थियो। अहिले त बिरानो भयो। यति ठूलो महत्वको मन्दिरको समेत कसैलाई वास्ता छैन।’
व्यापारीका भरियाहरू ठोरीबाट सामान बोकेर अमुवा, सिस्नेठाँटी हुँदै राप्ती तरेर सौराहा, टाँडी र नारायणगढ पुग्थे। हिँडेर नारायणगढ पुग्न कम्तीमा दुई दिन लाग्थ्यो। ‘सिस्नेठाँटीमा खाना पकाएर खाइन्थ्यो,’ अर्जुनले भने, ‘माडी धेरै पछि खुलेको हो। गाडी त धेरै पछि चलेको हो।’
नेपालीहरू अहिले पनि आपतको अवस्थामा ठोरी नाका सम्झन्छन्। भारतले नेपालमा पेट्रोलियम पदार्थको निर्यात रोकेको समयमा चितवन र आसपासका धेरै मान्छेले ठोरी नाकालाई नै साहरा बनाएका थिए। नेपालीहरू ठोरी हुँदै भरत गएर सवारी साधनका लागि तेलको जोहो गर्थे। अहिले चिनी जोहो गर्दै छन्।
उद्योग वाणिज्य संघ चितवनले २०७५ सालमा प्रकाशन गरेको ‘सम्झनामा कृष्णबन्धु पिया’ पुस्तकमा संघका पूर्वअध्यक्ष स्वर्गीय पियाले २०६६ सालमा लेखेको ‘पुरानो कुराको सम्झना’ शीर्षकको लेख छापिएको छ। पिया २०१६ सालमा स्थापना भएको व्यापार संघ नारायणगढको संस्थापक सचिव थिए। त्यसपछि लगातार आठ पटक अध्यक्ष रहे।
पियाले ठोरीसँग जोडिएको व्यापारीको साइनो बयान गरेका छन्।
उनले लेखेका छन्, ‘बन्दिपुरेहरू हुस्लाङ डाँडा हुँदै सेतीनदीको सराङघाट पार गर्दै गाईघाट पुनः तरेर विकट अक्कर भिरैभिर छिचोलेर कतैबाट नभएर नदी किनारै किनार हेर्दै रामनगर आइपुग्न दुई दिन लाग्दथ्यो। पूर्वी चितवनको झुवानी निस्किएर महाभारत डाँडाको खोँच र जंगलैजंगल जंगली जनावरको प्रवाह नगरी ज्यानको बाजी थापेर, जंगलमै बास बसेर पनि यात्रा गर्दथे।’
पियाले लेखेअनुसार पारिपट्टि भारतको भिखनाठोरीसम्म मालगाडी आउँथ्यो। नेपालको अनमोल साल, सिसौ, सतिसाल, खयर आदि काठ, जडिबुटी र ढुंगा, गिट्टी, बालुवा सित्तीको मूल्यमा पुरा वाइगनहरूमा लोड गरेर दिनहुँ भारतका विभिन्न ठाउँमा नर्कटीयागञ्ज हुँदै पुग्दथ्यो। त्यही नाका भएर नुन, खाने तेल, मट्टितेल, मरमसला, लत्ताकपडा, फलाम, चुरोट लगायतका सामान आयात हुन्थ्यो।
उनले ठोरी भन्सार पास गराएपछि माडी हुँदै बयल गाडाबाट सामान नारायणगढसम्म ल्याउने गरेको, त्यहँबाट बन्दिपुरका व्यापारीको सामान भरियाले बोकेर लैजाने गरेको कुरा लेखेका छन्।
२०१६ सालको नारायणगढको चित्रण गर्दै उद्योग वाणिज्य संघ चितवनका अर्का पूर्वअध्यक्ष केएल भूषणले पनि उक्त पुस्तकमा ठोरीसँग जोडिएको व्यापारिक साइनोको रोचक बयान गरेका छन्।
उनले लेखेका छन्, ‘बन्दिपुरेले नारायणी नदीको किनारमा ५/७ वटा कच्ची टहराहरू बनाई बसोबास एवं सानातिना दोकानहरू सुरु गरेका थिए। त्यतिखेर चितवनमा भर्खरै बस्ती बस्न सुरु भएको थियो। वीरगंज, नरकटियागंजबाट सामान खरिदगरी ठोरीमा हिउँदे अस्थायी दोकान राखी २÷३ महिनासम्म व्यापार चलाई पुनः नारायणगढ बसाई सरेर २/४ महिना व्यापार गरिन्थ्यो। पछि बन्दिपुरबाट नारायणगढ आउने व्यापारीहरू बढ्दै गए। व्यापार पनि बढ्दै गयो।’
चितवनका यी पुराना व्यापारीको लेखबाट पनि उहिलेको ठोरीको व्यापार चाहलपहल प्रष्ट पार्छ।
पहिले चितवन जिल्लामै पर्ने ठोरी पछि पर्सा जिल्लामा पारियो। अहिले ठोरी गाउँपालिकामा पर्ने यो नाका मधेस प्रदेशमा पर्छ।