कथा रामनगरको
मलाई यो स्टोरी लेख्ने हुटहुटी जागेको ठ्याक्कै चार महिना भयो।
चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले गत माघ महिनामा हजार पृष्ठको एउटा किताब पढ्न दिएका थिए। किताबको नाम थियो- चितवन दर्पण।
चितवनको इतिहास र वर्तमान समेटिएको उक्त किताब जिल्ला समन्वय समितिले प्रकाशन गरेको थियो।
इतिहासमा रूचि भएकाले मैले घर पुग्नेबित्तिकै किताबका पाना पल्टाएँ।
पहिलो अध्यायमा प्राध्यापक देवीप्रसाद कँडेलले चितवनको प्रागइतिहासदेखि २००७ सालसम्मको वृत्तान्त समेटेका छन्।
उनले सूर्यमणि अधिकारीको 'तनहुँ राज्यको इतिहास' नामक किताब उद्धृत गर्दै पाल्पाका सेन वंशीय शासकहरू अहिले भारतमा पर्ने रामनगरदेखि राजपुरसम्म फैलिएको उल्लेख गरेका छन्।
पाल्पाको सेन राज्यका संस्थापक रूद्र सेन (१५५०–१५७५ विसं) का छोरा मुकुन्द सेन प्रथम (१५७५–१६१० विसं) ले आफ्नो राज्य पूर्वमा कन्काई नदी, पश्चिममा रूरू, दक्षिणमा गंगानदी र उत्तरमा मुक्ति क्षेत्रसम्म विस्तार गरेका थिए, कँडेल लेख्छन्, 'आफ्नो शासनको अन्त्यतिर मुकुन्द सेनले धर्मकर्ममा बढी ध्यान दिँदै छोरा र भतिजाहरूलाई विभिन्न क्षेत्रका प्रशासक बनाए। उनको निधनपछि ती छोरा र भतिजाहरूले आफूअन्तर्गतको क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरे र आफू त्यहाँका शासक भए।'
यही क्रममा मुकुन्द सेन प्रथमको निधनपछि उनका साइला छोरा भृङ्ग सेन तनहुँका राजा भए। चितवन उनकै राज्यअन्तर्गत पर्यो। भृङ्ग सेन र उनका सन्तानले विक्रम सम्बत् १६१० देखि १८३४ सम्म एकछत्र राज गरे।
त्यसपछि राजा दामोदर सेनको पालामा तनहुँ थप फैलियो। उनले तनहुँको सीमालाई भारतमा पर्ने रामनगर, राजपुरभन्दा परसम्म पुर्याएको कँडेलले उल्लेख गरेका छन्।
यति पढिसकेपछि मलाई इतिहासको यो लहरो पछ्याउने इच्छा भयो।
के भारतको रामनगर र राजपुरमा सेन वंशीय शासकहरूका अवशेष अझै छन्?
के त्यहाँ अहिले पनि राज्य विस्तार क्रममा तत्कालीन तनहुँ वा चितवनबाट गएका नेपालीहरू बसोबास गर्छन्?
गर्छन् भने के नेपालसँग उनीहरूको नाता-सम्बन्ध जोडिएकै छ?
यिनै जिज्ञासा बोकेर मैले इतिहास अध्ययनमा सक्रिय चितवनका पुराना पत्रकार, लेखक तथा समालोचक डिआर पोखरेललाई भेटेँ। उनी यही विषय खोज्दै भारतको रामनगर पुगिसकेको मलाई जानकारी थियो।
हामीले नेपालको इतिहासको तार जोडिएको भारतको रामनगर जाने योजना बनायौं।
रामनगरबारे जानकार पर्सा, ठोरीका शिक्षक लक्ष्मण पोखरेल र चितवनका दुई जना पत्रकार रमेशकुमार पौडेल र विचित्र पौडेल पनि यात्रामा मिसिए।
जेठ २० गते बिहान साढे ७ बजे हाम्रो बस भरतपुरबाट छुट्यो। पाँच घन्टामा हामी भारतको नाका ठोरी पुग्यौं। त्यहाँबाट भारतीय सीमा भिखनाठोरीतर्फ बढ्यौं।
नेपालको ठोरी र भारतको भिखनाठोरीबीच ठूटेखोला पर्छ। भारतीय सीमा प्रवेश गर्न यो खोला तर्नुपर्छ।
ठूटेखोलाले पाँच सय मिटरभन्दा चौडा भूमिलाई आफ्नो बगर बनाएको छ। बगरको बीच र छेउका केही क्षेत्रमा मात्र अहिले खोला बग्छ। खोला तर्न गाह्रो त छैन तर जुत्तामोजा फुकाल्नुपर्छ।
हामी जुत्तामोजा फुकालेर हातमा झुन्ड्याउँदै भिखनाठोरी पुग्यौं।
सीमापारीका मान्छे नेपाली भाषा राम्ररी बोल्छन्। नेपालसँग उनीहरूको व्यापारिक सम्बन्ध मात्र होइन, प्राकृतिक सम्बन्ध पनि छ।
भिखनाठोरीसँग वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ। यो भारतले पाटे बाघ संरक्षणका लागि स्थापना गरेको निकुञ्ज हो। यहाँ नेपालको चितवन राष्ट्रिय निकुञ्जबाट गएका धेरै बाघ छन्। दुवै निकुञ्ज जोडिएका छन्।
भिखनाठोरीबाट रामनगर ६० किलोमिटर टाढा छ। निकुञ्जभित्रको साँघुरो सडक, भत्किएको कालोपत्रेमा ढल्किँदै, लच्किँदै हामी अटोरिक्सामा रामनगरतिर बढ्यौं।
रामनगर जाने योभन्दा छोटो बाटो पनि छ। नेपाल–भारत सीमास्तम्भ रहेको सोमेश्वरगढीबाट जाने हो भने २० किलोमिटर मात्रै पर्छ तर त्यता गाडी गुड्न थालिसकेको छैन। बिहार सरकारले रामनगरदेखि सोमेश्वरको फेदीसम्म १७ किलोमिटर लामो उच्चस्तरीय सडक निर्माण गर्दैछ जसको तीन किलोमिटर यही निकुञ्ज क्षेत्रमा पर्छ।
सोमेश्वरको कालिका मन्दिर भारतीयहरूका लागि पनि महत्वपूर्ण पीठ हो। चैते दसैंमा यहाँ भारतीय दर्शनार्थीको घुइँचो लाग्छ। तनहुँका सेन राजाले सोमेश्वरमा आफ्नो दरबार नै बनाएका थिए। अहिले त्यो दरबारको अस्तित्व कतै देखिन्न।
लिच्छविकालीन शासक अंशुवर्माको पालामा पनि नेपालबाट भारत छिर्न सोमेश्वरगढीकै नाका प्रयोग गरिन्थ्यो। यस आधारमा यो बाटोको इतिहास पन्ध्र सय वर्ष पुरानो देखिन्छ। नेपालले यसलाई खासै महत्व दिएको छैन। भारतको बिहार सरकारले भने सोमेश्वरधामसम्मको सडकलाई उच्च प्राथमिकतामा राखेको छ। यो बाटो बनिसकेपछि रामनगर पुग्न ठोरी र भिखनाठोरीको लामो बाटो घुम्नुपर्ने छैन।
हामी भिखनाठोरीबाट आधा घन्टामा जमुनिया हुँदै देवाडमा रहेको सुभद्रा मन्दिर पुग्यौं। अर्जुनकी पत्नी सुभद्राको पूजा गरिने यो मन्दिरलाई स्थानीयहरू आदिशक्ति मान्छन्। यहाँ निकै पुराना मूर्तिहरू छन्।
त्यहाँबाट पिपरा हुँदै गण्डकको पूर्वी नहर किनारै किनार करिब दुई घन्टामा हामी रामनगर पुग्यौं।
हामी चढेको अटोरिक्सा 'क्षणिक निवास' लेखिएको गेटअगाडि रोकियो। एक अधवैंशे पुरूष गेटमा आइपुगे।
भित्र ठूलो कम्पाउन्डसहितको आलिशान घर थियो। आँगनमा रंगीचंगी फूल फुलेका थिए।
'यो कसको घर हो?' मैले डिआर पोखरेललाई सोधेँ।
'रञ्जन बाबुको,' उनले भने, 'उहाँलाई रामनगरबारे धेरै कुरा थाहा छ।'
केही बेरमा दाह्रीजुँगा हल्का फुलेका, अग्लो कदका एक व्यक्ति बाहिर निस्किए। उनै रहेछन् रञ्जन बाबु।
हामीलाई देख्नासाथ उनले मिठो नेपाली भाषामा 'धेरै बेर पर्खाएँ कि!' भन्दै माफी मागे।
हामी उनलाई पछ्याउँदै घरभित्र पस्यौं।
लहर मिलाएर राखिएका आकर्षक सोफासेटहरूले बैठक कोठा भव्य बनाएको थियो। कतै श्रीपेच लगाएका राजा त कतै निकट भारदारका तस्बिरहरूले दरबारी बैठककै झलक दिन्थ्यो।
यस्तो दरबारजस्तो महलमा बस्ने र राजा-महाराजाका तस्बिरले भित्ता सजाउने यी रञ्जनबाबु को हुन् भनेर जान्न म आतुर थिएँ।
रञ्जन बाबुले करिब एक घन्टा समय लगाएर आफू र आफ्नो पुर्खाको वृत्तान्त सुनाए।
पूरा नाम रञ्जन उपाध्याय। उनका पुर्खा तनहुँको सिम्पानीबाट सेन राजाहरूसँगै रामनगर आइपुगेका रहेछन्।
पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियानमा विक्रम सम्बत् १८३९ कात्तिक १८ गते तनहुँ राज्य पनि गाभियो। त्यहाँका राजपरिवार र सहयोगीहरू भागेर रामनगर पुगे जहाँ पहिल्यैदेखि तनहुँको शासन थियो।
तत्कालीन राजा हरकुमारदत्त सेनसँग तनहुँका थापा, कार्की, पौडेल, खनाल र श्रेष्ठ खलकका थुप्रै परिवार सहयोगीका रूपमा रामनगर आइपुगेका थिए। तीमध्ये पौडेलहरू फौजदार (राज्य प्रबन्धक) बने। उनीहरूले रामनगर पुगेपछि आफ्नो थर शर्मा लेख्न थाले। पछि उपाध्याय लेखे।
तनहुँको सिम्पानीबाट आएका पौडेल परिवारमध्ये धर्मानन्द उपाध्यायका छोरा मधुसुधन एक हुन्। उनका छोरा तारानिधि र तारानिधिका छोराहरू देवीप्रसाद र सिद्धिप्रसादले रामनगरमा सेन राजाका फौजदार भएर काम गरेका थिए।
देवीप्रसादका सातभाइ छोरा थिए भने सिद्धिप्रसादका तीनभाइ छोरा थिए। सिद्धिप्रसादका जेठा छोरा अम्बिकाप्रसादले एमए र कानुनमा स्नातक गरेका थिए। उनी पटनाको उच्च अदालतमा वकिल र पटना, बनारस र कलकत्ता विश्वविद्यालय सभाका सदस्य थिए। उनी यी तीनै विश्वविद्यालयमा नेपाली भाषा पढाउँथे।
अम्बिकाप्रसादले १९७९ सालमा प्रकाशन गरेको 'नेपालको इतिहास र रामनगरको इतिहास' नामक पुस्तकलाई तनहुँ र रामनगरका राजाहरूबारे जानकारी दिने पहिलो ग्रन्थ मानिन्छ।
नेपालमा राणाविरोधी क्रान्ति सुरू भएपछि अम्बिकाप्रसादका छोरा राजेश्वरीप्रसाद पनि त्यसमा होमिए। उनी २००५ सालमा गठित नेपाल प्रजातन्त्र कांग्रेसका कोषाध्यक्ष थिए। त्यतिखेर सूर्यप्रसाद उपाध्याय पार्टीका महामन्त्री थिए। सूर्यप्रसाद र राजेश्वरीप्रसादका आमा दिदीबहिनी हुन्। नेपाली कांग्रेसको चारतारे झन्डाको डिजाइन पनि राजेश्वरीले अर्का एक जना नेतासँग मिलेर गरेको भनाइ छ।
सात सालको क्रान्तिमा राजेश्वरीले कैलाली–कञ्चनपुर क्षेत्रको कमान्डर भएर लडेका थिए। उनी नेपाली कांग्रेसको महामन्त्री पनि भए। उनीसँगै धनमानसिंह परियार पनि महामन्त्री थिए।
राजा महेन्द्रले सत्र सालमा 'कू' गरेपछि राजेश्वरी कांग्रेसको राजनीतिबाट निष्क्रिय भए।
हामीले रामनगरमा भेटेको ५९ वर्षीय रञ्जन उपाध्याय उनै राजेश्वरीप्रसादका कान्छा छोरा हुन्।
रञ्जन आफ्नी आमा, श्रीमती, एक छोरा र एक छोरीसँग बस्छन्। उनी धेरै समय घरमै बिताउँछन्। श्रीमती विशालाक्षी उपाध्यायको माइती विराटनगर हो। उनी आचार्य परिवारकी हुन्। छोरा रमन फिजिसियन डाक्टर हुन्, रामनगरकै क्लिनकमा काम गर्छन्। छोरी सौर्या भारतको बरेलीमा दन्तचिकित्सा पढ्दै छिन्।
रञ्जनले बिहारको बेतियास्थित क्राइस्ट राजा हाइस्कुलबाट माध्यमिक, लखनउको कलविन कलेजबाट उच्चमाध्यमिक र लखनउ युनिभर्सिटीबाट स्नातक गरेका छन्। रामनगरमा उनको ३० बिघाभन्दा बढी पैतृक सम्पत्ति छ। त्यसको २५ बिघामा उखु खेती छ। केहीमा आँपको बगैँचा छ। रामनगरनजिकै हरिनगरस्थित सुगर मिलले उनले लगाएको उखु किन्छ।
उनी नेपालीभाषीहरूको संस्था सोमेश्वर साहित्य परिषदमा पनि सक्रिय छन्। उनले रामनगरको इतिहासका धेरै दस्तावेज संकलन गरेका छन्। आफ्नो पुर्खादेखि रामनगरमा शासन गर्ने सेन राजा र शाह वंशदेखि यहाँ बसोबास गर्दै आएका नेपालीहरूबारे उनको अध्ययन गहिरो छ।
उनीसँग नेपाली कांग्रेसको स्थापनाकालका गतिविधि झल्काउने तस्बिरदेखि अन्य महत्वपूर्ण दस्तावेजहरू सुरक्षित छन्।
यति मात्र होइन, हजुरबुबा अम्बिकाप्रसाद र अम्बिकाका ठूलोबुबा देवीप्रसादले लेखेका र छाडेका थुप्रै दस्तावेज रञ्जनसँग छन्। देवीप्रसाद साहित्यकार पनि हुन्। उनले सुन्दर सरोजिनी, शैव्या हरिश्चन्द्र, पतिव्रता मनसादेवी काव्य र सेमन्तकमणि उपन्यास प्रकाशित गरेका छन्।
यो परिवारको नेपाल नाता यतिमै टुंगिँदैन।
देवीप्रसादका सातभाइ छोरामध्ये जेठा छोराको नाम भगवतीप्रसाद हो। उनकी छोरी सुष्माको विवाह बिपी कोइरालाका छोरा प्रकाश कोइरालासँग भएको थियो। कलाकार मनिषा कोइराला प्रकाश र सुष्माकी छोरी हुन्।
देवीप्रसादका माइला छोरा ईश्वरीप्रसादका छोरीहरू नोना कोइराला, सरोज शर्मा र रानुदेवी अधिकारी हुन्। नोना बिपी कोइरालाका भाइ केशव कोइरालाकी पत्नी र शेखर कोइरालाकी आमा हुन्। सरोज पूर्वमन्त्री रवीन्द्रनाथ शर्माकी पत्नी हुन् भने रानुदेवी गायिका हुन्।
देवीप्रसादकै राइँला छोरा कान्ताप्रसादकी छोरी रागिनी प्रसिद्ध चित्रकार हुन्। उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्रज्ञासभाको कुलपति भएकी थिइन्।
अम्बिकाप्रसादका कान्छा भाइ कालीप्रसाद नेपालको सर्वोच्च अदालतका न्यायाधीश र बेलायतका लागि नेपाली राजदूत भएका थिए।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका बुबा रामनगर दरबारका राजपुरोहित थिए। रामनगरकी महारानीको कोपभाजनका कारण दरबारबाट निकालिएपछि भट्टराई परिवार बनारस गएको थियो। बनारसमा रामनगरका फौजदार परिवारको पुरेत्याइँ भट्टराईहरूले नै गरेका थिए।
कृष्णप्रसाद भट्टराईले कांग्रेसको सशस्त्र संघर्ष तयारी क्रममा धेरै समय रामनगरमा बिताएको रञ्जन बताउँछन्। कांग्रेस नेता गणेशमान सिंहले पनि संघर्षका दिनमा रामनगरमा केही समय बिताएको उनको भनाइ छ।
रञ्जनको मुखबाट उपाध्याय खलकको वृत्तान्त सुनेपछि हामी रामनगर क्षेत्र फन्को मार्न निस्क्यौं।
रञ्जन उपाध्यायको 'क्षणिक निवास' बाट थोरै अघि बढेपछि दायाँतिर नेपाली शैलीको एउटा मन्दिर देखियो। यो उनकै आमाले बनाएको देवी मन्दिर रहेछ। सात वर्षअघि करिब चार लाख रूपैयाँ खर्च गरेर यो मन्दिर बनाइएको थियो।
रामनगरको राजपरिवारका सदस्य अर्जुनविक्रम शाहको सुझावमा यो मन्दिर निर्माण गरिएको उनको भनाइ छ।
त्यहाँबाट करिब १० मिनेट गाडीमा हामी रामनगरको नेपाली गाउँ पुग्यौं।
बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा पर्ने यो गाउँलाई 'नेपाली टोला' भनिन्छ। यहाँ ५० घर नेपालीभाषी बसोबास गर्छन्।
यहीँ हाम्रो भेट अमितकुमार उपाध्यायसँग भयो। उनी रामनगरको नर्मदेश्वर महादेव मन्दिरका पूर्वपुजारी रहेछन्। घरमा जुठो परेकाले केही महिनादेखि पूजा गर्न छाडेका रहेछन्। अचेल त्यहाँको नित्यपूजा भारतीय पुजारीले सम्हालेका छन्।
अमितले हामीलाई मन्दिर घुमाए।
एकै जगमा बनेका पाँचवटा मन्दिरलाई शिव पाञ्चायन पनि भनिन्छ। मन्दिर निर्माणको थालनी रामनगर राज्यका अन्तिम सेनराजा प्रह्लाद सेनको पालामा भएको इतिहास छ।
प्रह्लाद सेनले जीवनको अन्तिमतिर मन्दिरको जग बसालेका थिए। १९३६ सालमा उनको निधन भयो।
उनका तीनभाइ छोराको पहिल्यै मृत्यु भइसकेकाले उत्तराधिकारीका रूपमा रानी विन्ध्यवासिनी रामनगरकी रानी बनिन्।
रानी विन्ध्यवासिनीले करिब छ वर्षमा मन्दिर निर्माण पूरा गराइन्। यसमा दुई लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो। एक सय ७९ फिट अग्लो यो मन्दिरलाई बौद्धगयापछिको बिहारकै महत्वपूर्ण मानिन्छ।
यहाँ बीचमा शिवको मूर्ति छ। वरपर दुर्गा, विष्णु, गणेश र सूर्यका मूर्ति छन्। साँझ र बिहान बढी चहलपहल हुन्छ। यहाँ हामीले केही नेपाली पनि भेट्यौं।
हामी पुग्दा ८० वर्षीया शशिकला उपाध्याय र ७१ वर्षीय सुशीलकुमार सुवेदी मन्दिर दर्शन गरेर फर्कँदै थिए।
'यो मन्दिरले रामनगरमा बस्ने नेपालीभाषीहरूलाई एक ठाउँमा बाँध्न सघाएको छ,' सुवेदीले भने।
करिब डेढ सय वर्षअघि मन्दिर निर्माण हुँदा २५ बिघा जमिन ओगटेको थियो। जिर्णोद्वारका लागि भन्दै २० बिघा बेचियो। अहिले पाँच बिघा मात्र छ। मन्दिरसँगै एउटा धर्मशाला पनि छ। धर्मशाला बनेको ३० वर्षजति भयो।
मन्दिरको संरचना भव्य भए पनि संरक्षण राम्रो छैन। नेपालीभाषीहरूले संरक्षणमा सक्दो योगदान गरेका छन्। पहिले राजपरिवार मातहत रहेको मन्दिर व्यवस्थापनमा अहिले बाहिरका मान्छे पनि छन्। पछिल्लो जिर्णोद्वारको आर्थिक संयोजन रञ्जन उपाध्यायले नै गरेका थिए। चन्दा संकलन गरी करिब १० लाख रूपैयाँ खर्चेर जिर्णोद्वार गरिएको उनी बताउँछन्।
उनका अनुसार २०७२ को भुइँचालोले मन्दिरको त्रिशुल भाँचिएको थियो। करिब तीन वर्ष त्रिशुलविहीन बन्यो। अहिले ६८ हजार रूपैयाँमा तीन फिटको त्रिशुल राखिएको छ।
रञ्जनले बिहारका सांसदहरूसँग सहयोग मागेर मन्दिरको पर्खाल लगाउने काम पनि गरेका छन्। प्रांगणमा धूलो र हिलो पन्छाउन टायल बिछ्याउने तयारी भइरहेको उनले बताए।
मन्दिरको जिर्णोद्वार यसअघि रामनगरका शाहराजा मोहनविक्रम शाहका छोरा नारायणविक्रमले गराएको शिलालेखमा छ। त्यतिखेर जिर्णोद्वारका लागि नेपालका राजाले कालिगढ पठाएका थिए। शिलालेखअनुसार जिर्णोद्वार गर्ने कालिगढ श्यामबहादुर नेपाली हुन्।
मन्दिरबाट फर्कँदै गर्दा बाटोमा ठूलो कम्पाउन्डभित्र सुविधासम्पन्न घरहरू देखिए। त्यसलाई 'भद्र निवास' भनिँदो रहेछ। हामीसँगै गएका रामनगरबारे जानकार शिक्षक लक्ष्मण पोखरेलले ती घर यहाँका राजपरिवारको भएको बताए।
हामी राजपरिवारका कोही सदस्य भेटिन्छ कि भनेर भद्र निवास गयौं।
रातो र सेतो रङ लगाइएको 'भद्र निवास' मा अवयविक्रम शाह बस्दा रहेछन्। हामी पुग्दा घरमा थिएनन्। कर्मचारीले उनी जरूरी काम परेर बेतिया गएको बताए।
हामी भद्र निवासअगाडि फोटो खिचेर रञ्जन उपाध्यायको क्षणिक निवासतिरै फर्कियौं।
रामनगर एक फन्को लगाएपछि मसँग थुप्रै प्रश्न थिए। रञ्जनले कत्ति झर्को नमानी सबै प्रश्नको जवाफ दिए।
मेरो मुख्य चासो नेपालबाट गएका राजाहरूले रामनगरमा के गरे र ती राजाका पुस्ता अहिले के गर्दैछन् भन्ने थियो।
उनले केही पुस्तक पढ्न सुझाए। तिनै पुस्तकका आधारमा पाल्पाका प्रथम राजा रूद्र सेन, मुकुन्द सेन प्रथम, तनहुँ राज्यका पहिलो राजा भृङ्ग सेन र त्यहाँका प्रभावशाली राजा दामोदर सेनबारे मैले माथि नै वर्णन गरिसकेको छु।
रामनगरको इतिहास खोतल्दै जाँदा मुकुन्द सेन प्रथमभन्दा अगाडि नै राजपुर, रामनगर, सोमेश्वर लगायत क्षेत्र पाल्पा राज्यअन्तर्गतका भूभाग रहेको भेटिन्छ।
मुकुन्द सेनको मृत्युपछि उनका छोरा कुवेर सेन राजपुर (चम्पारण) को राजा भएका थिए।
मुकुन्द सेन प्रथमका नाति चन्द्र सेनका वंशज मदन सेन निसन्तान भएपछि राजपुर राज्य पनि तनहुँका शक्तिशाली राजा दामोदर सेनले प्राप्त गरेका थिए। राजपुरको केन्द्र नै रामनगर थियो।
दामोदर सेनको मृत्युपछि उनका छोरा दिग्विजय सेन तनहुँका राजा भए। यसबीच भारतको बेतियाका राजालाई राजपुर तनहुँसँग गाभिएको मनपरेको थिएन। दिग्विजयले यो कुरा बुझेका थिए। उनले बेतियाको आक्रमणबाट बच्न मुगल राजासँग सम्झौता गरे।
दिग्विजयको पालामा राजपुरले मुगल शासकलाई कर तिर्न थालेको थियो। त्यसपछि राजपुरमा तनहुँका सेन राजाको हैसियत मुगल शासकअन्तर्गत अधीनस्तका रूपमा रहन गयो।
त्रिविक्रम सेन द्वितीय (विसं १८००–१८२६) को पालामा भारतमा अंग्रेजहरूले आफ्नो साम्राज्य कायम गरे। मुगल शासक अधीनस्त तनहुँका राजाहरूको जमिन्दारी अंग्रेजअन्तर्गत पर्न गयो। उनीहरूले जमिन्दारी दस्तुर अंग्रेजलाई बुझाउन थाले।
त्रिविक्रम सेनपछि तनहुँका राजा कमारिदत्त सेन बने। दुई वर्ष पनि शासन गर्न नपाउँदै गोरखा राज्यले तनहुँमाथि गरेको आक्रमणमा उनको मृत्यु भयो। त्यसपछि उनका भाइ हरकुमारदत्त सेन १२ वर्षकै उमेरमा राजा भए।
त्यति बेला नेपाल एकीकरण अभियान चल्दै थियो। बालक राजा भएकाले तनहुँलाई आफ्नो बनाउन नेपालले र तनहुँकै जमिन्दारी रहेको राजपुरलाई आफ्नो बनाउन बेतियाले प्रयास गरिरहेका थिए।
शाह राजाहरूको बारम्बार हमलामा परेर तनहुँ राज्य कमजोर भएको मौका छोपी बेतियाका राजाले नयाँ कागजपत्र र लगतहरू खडा गरे। त्यसै आधारमा अंग्रेज शासनअन्तर्गत रहेको राजपुरका १५ तप्पामध्ये साढे १२ तप्पा आफ्नो नाममा दर्ता गराउन सफल भए।
यता १८३९ कात्तिकमा हरकुमारदत्त सेनले शासन गरेको तनहुँ राज्य गुम्यो। राज्य गुमेपछि हरकुमारदत्त चम्पारण पुग्दा अढाई तप्पा जमिन मात्रै भाइ जानकीदत्त सेनको नाममा थियो।
हरकुमारदत्तले भाइको नाममा रहेको जमिन आफ्नो नाममा ल्याए र रामनगरमा दरबार बनाएर सपरिवार त्यहीँ रहन थाले।
उनलाई 'रामनगरका राजा' भन्न थालियो। अंग्रेजहरूले राजाको उत्तराधिकारीयुक्त पदवी र अढाई तप्पाबाट प्राप्त हुने राजकीय खान्गी कायमै राखिदियो।
यो राज्यको सीमा पूर्वमा चकर्सन, पश्चिममा भैंसालोटन, उत्तरमा सोमेश्वर र दक्षिणमा बेतिया राज्यको माहुली डुमरियासम्म थियो। यसअन्तर्गत ५ सय ८४ मौजा पर्थे।
त्यतिखेर नेपाल एकीकरण क्रममा राज्य गुमाएका अन्य राजाहरू पनि आश्रयका लागि रामनगर नै पुग्थे। उनीहरूलाई रामनगरले यथेष्ट आतिथ्य प्रदान गरेको इतिहास छ।
पछि रामनगरका राजा हरकुमारदत्त सेनले राजपुरको गुमेको भूमि फिर्ता ल्याउन प्रयास गरे तर सकेनन्। उनले नेपालका राजासँग सम्बन्ध बढाउने प्रयास पनि गरे।
यसबीच राजा रणबहादुर शाह काठमाडौंमा भाँडभैलो भएर १८५७ सालमा बनारस गएका थिए। हरकुमारदत्तले राजाका सहयोगीहरूलाई पत्र लेखेर नजिक हुने प्रयास गरे।
तीन वर्षपछि १८६० सालमा रणबहादुर शाह नेपाल फर्कँदा हरकुमारदत्तले आफ्ना माइला छोरा तेजप्रताप सेनलाई पनि सँगै पठाएका थिए। यसले रामनगर र नेपालबीच सम्बन्ध नजिकिँदै गयो।
रणबहादुर शाहले आफ्नी एउटी छोरीको विवाह तेजप्रताप सेनसँग गरिदिए। विवाहपछि ती राजकुमारीको नाम तेजराज्यलक्ष्मी राखियो। माइतीबाट तेजराज्यलक्ष्मीलाई चितवनको सोमेश्वर पर्वत आसपासका ९१ वटा गाउँ दाइजो दिइयो।
राजा हरकुमारदत्तको १८६२ असारमा निधन भयो। उनका जेठा छोरा अनन्तप्रतापको पहिल्यै निधन भइसकेकाले माइला छोरा तेजप्रताप रामनगरका राजा भए।
तेजप्रतापको समयमा बुटवल र स्युराजको विषयमा अंग्रेज र नेपालबीच विवाद भयो।
अंग्रेजले नेपालबाट भागेर आश्रय लिन भारतका विभिन्न ठाउँ पुगेका राजारजौटाहरूलाई फकाए। नेपालको भूमिमा अंग्रेजको अधिकार कायम भए पहिलेको राज्य फिर्ता गर्ने बचन दिए।
त्यो बचनको प्रभावमा तेजप्रताप पनि परे।
उनले आफ्ना भाइ अमरप्रताप सेनलाई अंग्रेजको सहयोगी बनाएर नेपाल आक्रमणका लागि पठाए।
विसं १८७१–१८७२ को नेपाल–अंग्रेज युद्ध समाप्त भएपछि गरिएको सुगौली सन्धिअनुसार सीमांकन हुँदा नेपालको चितवन र रामनगर बीचको सीमारेखा सोमेश्वर पर्वतको दक्षिण फेदीलाई मानियो।
सोमेश्वरको उत्तर र दक्षिण दुवैतर्फका गाउँ तेजप्रताप सेनकी रानी तेजराज्यलक्ष्मीलाई नेपालको दरबारले दिएका दाइजो थिए। तेजराज्यलक्ष्मी भने राजाले राम्रो व्यवहार नगरेका कारण काठमाडौं गएर बसिन्। उनको काठमाडौंमै निधन भयो।
अंग्रेजहरूले राज्य फिर्ता गराइदिन्छन् कि भन्ठानेका तेजप्रताप सेनको आशा मृगतृष्णा मात्र बन्यो।
तेजप्रतापको १८८८ सालमा निधन भयो। उनका भाइ अमरप्रताप दासीलाई लिएर भागेका थिए, त्यसैले आफू जीवित छँदै तेजप्रतापले आफ्ना चार रानीमध्ये तिलोत्तमालाई उत्तराधिकारी तोकिसकेका थिए।
अमरप्रतापले तिलोत्तमालाई राज्यको उत्तराधिकार लिन अड्चन खडा गरे।
तिलोत्तमाले उत्तराधिकारीका रूपमा आफ्नो नाम सरकारी श्रेस्तामा चढाउन दरखास्त दिइन्। अमरप्रतापले पनि आफू राजा हुन पाउनुपर्ने दाबी पेस गरे।
मुद्दा चल्यो।
उनी भाउजूलाई झुक्याएर कागज तयार पार्न सफल भए।
मुद्दा जितेर अमरप्रताप रामनगरका राजा भए। उनको निधन १८९१ सालमा भयो। उनका सन्तान थिएनन्। जीवित तीन रानीमध्ये अमरराज्यलक्ष्मी रामनगरकी उत्तराधिकारी बनिन्। अंग्रेजले उनलाई रामनगरको उत्तराधिकारी स्वीकार गर्यो।
अमरराज्यलक्ष्मीको निधनपछि रामनगरका राजा प्रह्लाद सेन बनेका थिए।
प्रह्लाद सेनको पालामा १८९६ सालमा नेपालका प्रधानमन्त्री रणजंग पाण्डेले रामनगरमा फौज पठाएर नेपालको दरबारले दाइजो दिएका ९१ गाउँमा अधिकार जमाउने प्रयास गरेका थिए।
सोमेश्वर पर्वतबाट दक्षिणतिरको २५–२६ माइल लामो र ७–८ माइल चौडा भूभाग राजकुमारीको विवाहमा नेपालको दरबारले दाइजो दिएको थियो। राजकुमारीको मृत्यु भइसकेकाले उक्त भूभाग नेपाल सरकारले फिर्ता लिएको घोषणा रणजंग पाण्डेले पठाएको फौजले गर्यो। फौजले अबउपरान्त उक्त जमिनको सबै प्रकारको कर नेपाल सरकारलाई बुझाउन उर्दी जारी गर्यो।
नेपालको यो कदम ब्रिटिस भारत सरकारलाई मन परेन। उनीहरूले यसलाई नेपालले युद्धको हाँक दिएको ठाने।
अंग्रेजले कर्नेल ओलिभरको नेतृत्वमा आफ्नो फौज रामनगर पठायो।
नेपालले अंग्रेजसँग युद्ध छेड्ने आँट गर्न सकेन। करिब एक वर्षपछि नेपालले फौज फिर्ता लग्यो। पहिलेजस्तै सोमेश्वरको दक्षिण फेदी नै सीमा कायम भयो।
त्यसअघि १८९६ सालतिरै प्रह्लाद सेनकी जेठी रानी लक्ष्मीकुमारीले रामनगरकी 'पट्टाराज्ञी' को हैसियतमा आज्ञापत्र जारी गर्दै चितवनको माडी, ठोरी क्षेत्रमा राजस्व उठाउने ठेक्का काशी गुरौ (थारू) लाई दिएकी थिइन्। त्यतिखेर ठोरी, माडी क्षेत्रको राजस्व रामनगरकै पोताखाना र राजपरिवारमा जाने गरेको थियो।
प्रह्लाद सेनको १९३६ सालमा निधन भयो। उनीपछि रानी विन्ध्यवासिनी १० वर्ष रामनगरको उत्तराधिकारी बनिन्।
विन्ध्यवासिनीकी छोरी बोधकुमारीको विवाह वनारस प्रवासमा रहेका नेपालका राजा राजेन्द्र शाहकी कान्छी रानी लक्ष्मीदेवीका कान्छा छोरा वीरेन्द्रविक्रम शाहसँग भएको थियो। यिनै बोधकुमारीबाट जन्मेका छोरा मोहनविक्रम शाहले रामनगर राज्यको अपुताली पाएका थिए।
पाल्पाका राजा मुकुन्द सेन प्रथम र उनका छोरा भृङ्ग सेनको हाँगोले तनहुँमा करिब सवा दुई सय वर्ष शासन गर्यो। उनीहरूकै वंशज रामनगरमा मुगल शासन र ब्रिटिस राजअन्तर्गत अधिनस्त राजाका रूपमा रहे। त्यसपछि भने रामनगरको शासन शाह वंशको हातमा गयो।
गोरखाली शाह राजाहरूले तनहुँ मात्र नभएर रामनगर राज्यको जमिन्दारी पनि हात पारे। राजा राजेन्द्रका वंशज अहिले पनि रामनगरमा बस्छन्।
मोहनविक्रम शाहले २३ वर्ष रामनगरको राजकाज चलाएका थिए। त्यसपछि २७ वर्ष उनकी रानी क्षेत्रकुमारीले रामनगरको राजकाज चलाइन्। १९९४ सालमा उनको निधन भयो।
मोहनविक्रम शाहले आफ्ना काका (नेपालका राजा राजेन्द्रका माइला छोरा) उपेन्द्रका पनाति पर्ने र आफ्ना नाति पर्ने मोहनविक्रम शाह (नाम उही भए पनि उनलाई बोलाउँदा 'रामराजा' भनिन्थ्यो) लाई धर्मपुत्र बनाएका थिए। यही नाताले क्षेत्रकुमारीपछि रामराजा रामनगरका राजा भए। उनको विवाह राणा प्रधानमन्त्री जुद्धशमशेरकी छोरी सीता राणासँग भएको थियो।
उनीहरूका चार छोरा शिवविक्रम शाह, नारायणविक्रम शाह, हरिहरविक्रम शाह र मनमोहनविक्रम शाह र तीनछोरी ईश्वरी, माधवी र विजया भए। शिवविक्रमका छोराहरू मनोहर र मधुकर, नारायणविक्रमका छोरा धनञ्जय, हरिहरविक्रमकी छोरी मीरा र मनमोहनविक्रमका छोरा सञ्जयविक्रम र दुई छोरी भए।
रामराजाका विवाहिता र ल्याइते पत्नीहरूबाट २० जना छोरा थिए। उनको पैतृक जायजेथा कलैयाको बरेवामा पनि थियो।
रामनगरका राजा मोहनविक्रमको निधन २००३ सालमा भयो। त्यसको एक वर्षपछि भारत अंग्रेजको आधिपत्यबाट स्वतन्त्र भयो। गणतन्त्र भारतको नयाँ सरकारले जमिन्दारी प्रथा उन्मूलन गर्यो र योसँगै रामनगरको जमिन्दारी भारतको बिहारमा गाभियो।
रामनगरका नेपालीहरू रामराजाका सबै सन्तानलाई राजपरिवारकै हैसियतमा सम्मान गर्छन्। उनीहरूपछि भने रामनगरको राजपरिवारको इतिहास लगभग सकिन थालेको रञ्जन उपाध्याय बताउँछन्।
'समयक्रमसँगै राजपरिवारको नयाँ पुस्तामा विकृति बढेजस्तो देखिन्छ। नयाँ पुस्तामा शिक्षा भएन तर सम्पत्ति पर्याप्त भयो। त्यही बेच्दै खाने प्रवृत्ति बढ्यो,' उनले भने, 'दरबारभित्रकै जमिन बिक्री भएका छन्। उनीहरू प्रायःको ५० बिघाभन्दा बढी जमिन छ।'
रामराजाका माइला छोरा नारायणविक्रम बिहारको विधानसभा सदस्य भएका थिए। राजपरिवारकै अर्जुनविक्रम दुईपटक सांसद भए। एकपटक बिहार सरकारको खेलकुदमन्त्री बनेका थिए। त्यतिखेर उनी भारतको प्रतिनिधित्व गर्दै एसियाली खेलकुद हेर्न जापान पुगेका थिए।
राजपरिवारकै सदस्य प्रेमा शाह बिहार राज्यमा नितिशकुमार सरकारले बनाएको बाल संरक्षण आयोगको सदस्य बनेकी थिइन्।
रञ्जनका हजुरबुबा अम्बिकाप्रसाद बिहार र उडिसा एउटै प्रान्त हुँदा विधान परिषदका सदस्य थिए। रामनगरका खनालहरूमध्ये लक्ष्मीदत्त उपाध्याय २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसका कार्यकारिणी समिति सदस्य थिए। उनका भतिजाहरू रामचन्द्र उपाध्याय रामनगरका प्रतिष्ठित समाजसेवीका रूपमा चिनिन्थे। शत्रुघ्न उपाध्याय नेपाल सरकारको परराष्ट्र मन्त्रालयअन्तर्गत राष्ट्रसंघीय उच्च पदमा पुगेका थिए।
रामनगर नगर पञ्चायतमा अहिले पनि नेपालीभाषीको फाट्टफुट्ट प्रतिनिधित्व हुन्छ। चमनसिंह नेपाली र अर्चना रिमाल रामनगर नगर पञ्चायत वडा नम्बर २ को अध्यक्ष भइसकेका छन्। केही नेपालीभाषी मुखिया पनि भए।
यसरी मध्यरात १२ बजेसम्म रञ्जन उपाध्यायबाट रामनगरमा शासन गर्ने सेन र शाहवंशको वृत्तान्त सुनेपछि भोलिपल्ट हामी फेरि सहर घुम्न निस्क्यौं।
करिब आधा घन्टापछि हामी चढेको गाडी एउटा स्तम्भअगाडि रोकियो।
त्यो अशोक स्तम्भ थियो। स्तम्भको शिरमा सिंहको प्रतिमा थियो जसको टाउको एकपटक फुटेको र पछि जिर्णोद्वार गरिएको थियो।
भारतमा सम्राट अशोकले ईशापूर्व २४९ मा खडा गरेका धेरै स्तम्भमध्ये यो एक हो। यसमा पाली भाषामा लेखिएको सन्देश अहिले पनि प्रस्ट देखिन्छ। यो लौरिया भन्ने ठाउँमा छ। यहाँ आइपुगेर गौतम बुद्धले राजसी वस्त्र त्यागेका थिए।
त्यहाँबाट हामी नन्दनगढको बौद्ध स्तुप हेरेर क्षणिक निवास फर्कियौं।
बाटोमा दायाँबायाँ उखुबारी देखिन्थ्यो। तिनै फाँटको बीचतिर रहेको एउटा घर देखाउँदै रञ्जनले भने, 'भैंसालोटनलाई वाल्मीकि नगर नामाकरण गर्न नेपालका राजालाई प्रस्ताव गर्ने भारतीयको घर त्यही हो।'
नेपालको वाल्मीकि आश्रम नजिकै रहेको भैंसालोटनलाई अचेल वाल्मीकि नगर नै भन्ने चलन छ।
दुई दिनको बसाइमा हामीले रामनगर सहर, रञ्जन उपाध्यायको वंशवृक्ष र यहाँका शासकहरूबारे धेरै सूचना बटुलिसकेका थियौं। तर रामनगरको नेपाली टोलामा बसोबास गर्ने नेपालीभाषीहरूसँग कुराकानी गर्न पाएका थिएनौं। अब पुग्नुपर्ने ठाउँ त्यही एउटा बाँकी थियो।
हामी नेपाली टोलामा रहेका घर हेर्दै घरबेटीहरूसँग गफियौं। उनीहरूले बोल्ने नेपाली भाषा हाम्रोभन्दा कत्ति फरक थिएन। बोल्ने शैलीमा भने अलि अलि हिन्दी प्रभाव सुनिन्थ्यो।
अधिकांशका नयाँ पुस्ता रामनगरबाहिर छन्। कोही नेपालमा छन्, कोही अमेरिका, क्यानडा र युरोपका विभिन्न देश पुगेका छन्। अधिकांश परिवार तनहुँका सेनराजाको सहयोगी बनेर आएको रञ्जन बताउँछन्।
सेनराजाको सहयोगी बनेर रामनगर आइपुगेका खनाल थरका (काजी खलकका) केशवकुमार उपाध्याय काठमाडौं र रामनगर पालैपालो बस्छन्। बाबुबाजेको पुस्तादेखि उनीहरू उखु खेती गर्दै आएका छन्। उनले नेपाली नागरिकसँग विवाह गरेका थिए। ८० वर्षीय केशवकुमारका जेठा छोरा काठमाडौं, माइला अमेरिका र कान्छा क्यानडा बस्छन्।
नेपाली टोलाका अजय र विजय उपाध्याय सहोदर दाजुभाइ हुन्। उनीहरू पनि खनाल हुन्। उनीहरूको मुख्य पेसा कृषि नै हो। धान, गहुँ र उखु खेती गर्छन्।
'हामी त काम गर्न नसक्ने भइसक्यौं। खेतमा काम गर्न ज्यालामा मान्छे लगाउँछौं, त्यति पनि गर्न नसक्नेले ठेक्का दिन्छन्,' अजयले भने, 'अब हामी पनि आफैं हेर्न सक्दैनौं होला।'
नेपाली टोलामा रिमालको पनि एउटा घर छ। विराटनगरका पौडेलकी छोरी ममता विवाह गरेर रामनगर आएपछि रिमाल भइन्। उनका छोराछोरी नेपाल बस्छन्।
नेपाली टोलामा सबभन्दा धेरै पौडेल र खनाल छन्। अरू कोइराला, सापकोटा र भण्डारी थरका छन्। अधिकांशको वैवाहिक सम्बन्ध नेपालमै हुँदै आएको छ।
रञ्जनले रामनगरमा शिक्षाको राम्रो व्यवस्था नभएकाले नयाँ पुस्ताका नेपालीभाषी नेपाल र अन्य विभिन्न देश पुगेको बताए, भने, 'पहिले नेपालमा पढ्न पाइन्थेन। यहाँ आउने हाम्रा बुबा, हजुरबुबाहरूले भारतका विभिन्न ठाउँ पुगेर पढ्ने अवसर पाउनुभएको थियो। अहिले रामनगरमा शिक्षाको राम्रो व्यवस्था छैन। नयाँ पुस्ताले स्तरीय शिक्षाको खोजीमा रामनगर छाड्ने क्रम बढ्दो छ।'
नेपाली टोलाबाट केसरियाको स्तुप घुमेर अघि बढ्दै गर्दा मैले नर्कटियागन्जको नाउँ सुनेँ।
यो नाउँ सुन्नासाथ मलाई भारतीय अभिनेता मनोज बाजपेयीको अनुहार याद आयो। उनी यही गाउँका हुन्।
मैले रञ्जनसँग मनोज बाजपेयीका बारेमा कुरा गरेँ। त्यसपछि पो थाहा पाएँ, रञ्जन र मनोज एउटै स्कुलमा पढेका रहेछन्। रञ्जनले मलाई मनोजको घर हामी जाने रूटमै पर्ने बताए।
हामी गाडीबाट देखिएका खेत, बस्ती, सहर र बोर्डहरू हेर्दै, पढ्दै, फोटो खिच्दै अघि बढ्दै थियौं, रञ्जनले एकठाउँ गाडी रोक्न लगाए।
गाडी साइड लाग्यो।
करिब दुई सय मिटर पर मनोज बाजपेयीको घर देखिने रहेछ। रातो रङको दुईतल्ले घर। मैले त्यो घर पृष्ठभूमिमा राखेर फोटो खिचाएँ।
मनभरि मनोजको सम्झना र नेपाली इतिहासको एउटा कालखण्ड साँचेर हामी त्यसै दिन साँझ ५ बजेको बसबाट नेपाल फर्कियौं।
भिखनाठोरीमा केही नेपाली चिनी किन्दै थिए। भारतले चिनी निर्यात बन्द गरेको छ। नेपालमा अभाव हुने देखेर उनीहरू चिनी जोहो गर्न भिखनाठोरी आइपुगेका थिए।
हामीले पनि पाँच-पाँच किलो चिनी किन्यौं।
जुत्तामोजा खोलेर हातमा झुन्ड्याउँदै ठूटेखोला तर्यौं।
सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी
सन्दर्भ सामग्रीहरू:
१. जिल्ला समन्वय समिति चितवनद्वारा प्रकाशित 'चितवन दर्पण'
२. सूर्यमणि अधिकारीको 'तनहुँ राज्यको इतिहास'
३. अम्बिकाप्रसाद उपाध्यायको 'नेपालको इतिहास'
४. विष्णुप्रसाद घिमिरेको 'पाल्पा राज्यको इतिहास'