केही महिलाहरू एक ठाउँमा बसेर कोही पिठो मुछ्दै थिए, कोही पिठोका सासाना डल्ला बनाउँदै थिए त कोही ती डल्ला काठको चौकामा बेल्दै सानो रोटीको आकार दिँदै थिए। कोही रोटीभित्र किमा हालेर पोको पार्दै त्यसलाई कराहीमा तातेको तेलमा तार्दै थिए।
उनीहरू भरतपुरको गौरीगञ्जस्थित उमा अधिकारीको घरको छतमा बसेर समोसा बनाउँदै थिए।
उनीहरू थिए ४२ वर्षीया सरस्वती शर्मा पौडेल, ३५ वर्षीया लक्ष्मी सुवेदी, ३२ वर्षीया पूजा कुमाल, २७ वर्षीया माया सापकोटा लगायतका १२ जना। समोसा बनाउने तालिमको अन्तिम दिन थियो।
मलाई शकुन्तला पोखरेलले यही साताको आइतबार बिहान फोन गरेर अपराह्न दुई बजेका लागि उक्त घरमा डाकेकी थिइन्। शकुन्तला ‘नेत्रहीन महिला संघ नेपाल’ की केन्द्रीय सदस्य हुन्, राष्ट्रिय माध्यमिक विद्यालय, तोरीखेतमा पढाउँछिन्।
झट्ट हेर्दा नयाँ घटना केही पनि थिएन। केही नेत्रहीन महिलालाई तालिम दिइयो। त्यो सकियो। औपचारिकरूपमा आज समापन हुँदै छ। यति नै थियो कुरा।
तालिममा सहभागी महिलाहरूसँग छुट्टाछुट्टै कुरा गर्न थालेपछि भने थाहा पाएँ उनीहरू सबैका कहानी दर्दनाक रहेछन्। सबैका कुरा सुन्न समय पुगेन। उनीहरूमध्ये चार जनाको जीवनको एउटा पाटो भने जान्न पाएँ।
२०३७ सालमा गुल्मीमा जन्मिएकी सरस्वतीको परिवार तीन दशकअघि बसाइँ सरेर चितवन आएको थियो। आमाबुबाका सातभाइ छोरा र तीन छोरी थिए। बाबु पुरुषोत्तम शर्मा पौडेल त्यतिखेरै ७० वर्षका थिए।
सरस्वती र उनका एक भाइमा आँखाको ज्योति छैन। ज्योतिविहीन भए पनि सरस्वतीमा आत्मविश्वासको कमी छैन। उनी एक्लो जीवन चलाउँदै छिन्।
सरस्वतीका आफन्त नभएका होइनन्। उनका वरिपरि आफ्न्त प्रशस्तै छन्। दाजुभाइका सुविधासम्पन्न घर छन्, आर्थिकरूपले सम्पन्न छन्। सरस्वतीको जीवन भने एक्लो छ।
परिवारबाट सकारात्मक व्यवहार पाउन छाडेपछि दश वर्षअघिदेखि डेरामा बसेको उनले बताइन्।
‘आफ्नै परिवारका मान्छेले पहिलेको जुनीमा ऋण खाएजस्तो व्यवहार गर्न थाले। घरमा टिक्न सक्ने वातावरण नै भएन,’ उनले भनिन्, ‘आँखा नदेख्ने हुँदा आफ्नो छुट्टै दुःख छ, त्यसमाथि आफ्नाले नै तनाव थप्न थालेपछि मैले घर नै छाड्ने निधो गरेँ।’
उनले दाइको घरनजिकै डेरा लिइन्। त्यही डेरामा बसेर स्नातकोत्तर उत्तीर्ण गरेको पनि चार वर्ष भयो।
सरस्वतीले पूर्वी चितवनको झुवानीमा छ कक्षासम्म पढिन्। भरतपुरको नारायणी नमुना माविबाट एसएलसी उत्तीर्ण गरिन्। उच्च शिक्षा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पूरा गरिन्।
‘पहिले टीका लगाएर पाएको पैसाले पढेँ, पछि मैनबत्ती र अगरबत्ती बेचेर पैसा जुटाउँदै पढेँ,’ उनले भनिन्, ‘बरु बाहिरकाले सहयोग गरे, हौसला दिए तर आफ्नाको कहिल्यै सहयोग पाइनँ। आँखा देख्दिन भनेर हेला मात्रै गरिरहे।’
सरस्वतीले जसोतसो पढाइको धोको त पूरा गरिन् तर उनले प्राप्त गरेका प्रमाणपत्र काममा आएनन्। शैक्षिक प्रमाणपत्र बोकेर धेरै कार्यालयहरू धाइन्। शिक्षक सेवा आयोगको परीक्षा दिइन्, नाम निस्किएन। राहत कोटाको शिक्षकका लागि पनि प्रयास गरिन्, सफल भइनन्।
दुई वर्षअघि ४० वर्ष नाघेपछि उनले सरकारी जागिरको सपना देख्न छाडेकी छन् तर शैक्षिक प्रमाणपत्रको फाइल सिरानीमुनी राख्न छाडेकी छैनन्।
‘सरकारी नपाए पनि प्राइभेट जागिर त पाइएला कि भन्ने आशा बाँकी नै छ,’ उनी भन्छिन्, ‘आफू नदेख्ने भए पनि देख्नेलाई पढाउन सक्छु भन्ने आत्मविश्वास लिएर धेरैतिर धाएँ तर भाग्यमै नलेखिएको रहेछ क्यारे, अवसर पाइनँ।’
सरस्वतीसँग आत्मविश्वासमात्रै छैन महत्वाकांक्षा पनि छ। उनी नेकपा माले चितवनकी सदस्य हुन्। २०७४ र यस वर्षको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर ४ बाट महिला सदस्य पदको उम्मेदवार बनेकी थिइन् तर पराजित भइन्।
‘धेरै कुरा गर्न सक्छु जस्तो लाग्छ तर समाजले मेरो आत्मविश्वास स्वीकार्न सकेन,’ उनी भन्छिन्, ‘आँखा नदेख्नेले मिहिनेत गरेर अगरबत्ती बनाएर बिक्री गर्न जाँदा पनि मान्छेहरू माग्न आएको जस्तो ठान्छन्। असाध्यै चित्त दुख्छ।’
सरस्वतीले नेत्रहीन महिला संघले दिएको तालिममा खानाका विभिन्न परिकार बनाउन जानेपछि यसैबाट केही गर्न सकिन्छ कि भन्ने नयाँ आत्मविश्वास पलाएको बताइन्।
भरतपुर–१८ गुञ्जनगर घर भएकी लक्ष्मी सुवेदी यही तालिमबाट चक्कु चलाउन जान्ने भएकी छन्। पहिले घरमा जसोतसो चुलेँसीले तरकारी काट्न आँट गर्ने उनी अब चपिङ बोर्डमा काट्न सक्ने भएकी छन्।
‘घरको सरसफाइ गर्ने, कपडा धुनेजस्ता काम गर्नसक्थेँ तर काट्ने, पकाउने गर्न समस्या थियो,’ उनले भनिन्, ‘तालिमले मलाई काट्नमात्रै होइन, पकाउन पनि सिकायो।’
आफूले जानेको कामबाट व्यावसायिक बन्ने उनको अठोट छ तर राज्यका निकायले नेत्रहीनले बनाएका सामग्रीको बजार व्यवस्था मिलाइदिन आवश्यक भएको उनले बताइन्। ‘हामीले काम जानेरमात्रै हुँदो रहेनछ। बजारले हाम्रा उत्पादन स्वीकार्न सक्नुपर्यो,’ उनले भनिन्, ‘बिक्री भइदिने हो भने त हामी काम गर्न सक्छौँँ।’
लक्ष्मीले बाह्र कक्षा उत्तीर्ण गरेकी छन्। बुझ्ने हुँदा आफ्नो आँखामा ज्योति छैन भन्ने थाहा पाइन्। बिस्तारै उनलाई पढ्न सकेँ भने केही न केही काम पाउँछु, त्यसैबाट जीवन चल्छ भन्ने लाग्न थाल्यो।
सोचेजस्तो भएन। लक्ष्मीले पढेर जुटाएका प्रमाणपत्र काम लागेनन्। उनी तालिम लिएर घरमै अगरबत्ती बनाउन थालिन्। करिब छ वर्ष अगरबत्ती बोकेर घरघर डुलिन्। गुजारा चल्ने गरी बिक्री भएन।
लक्ष्मीका दुई दिदी र दुई भाइ छन्। उनकी एक दिदी र एक भाइ पनि आँखा देख्दैनन्। दिदी घरमै छिन्, भाइ विद्यालयका शिक्षक हुन्, गोरखाको एक विद्यालयमा पढाउँछन्।
पूजा कुमाल गीत गाउँछिन्। दुई वर्ष कम उमेरकी बहिनी आरती र पूजाको रुचि सानैदेखि गायनमा थियो। गायक बन्ने सपना बोकेर उनीहरूले संगीत पनि सिकेका छन्। आफैँले बनाएका केही गीत छन् उनीहरूसँग तर रेकर्ड गर्न सकेका छैनन्।
यी दिदीबहिनीले २०७१ सालमै स्नातक तह पूरा गरेका हुन्। समाजका लागि केही गरौँला भन्ने सोचका साथ उनीहरूले समाजशास्त्र विषय पढे। उत्तीर्ण भएको आठ वर्षसम्म उनीहरूले धेरै उपाय खोजी गरे तर पत्ता लगाउन सकेनन्।
‘समाजका लागि केही गर्ने चाहना थियो तर हामीलाई स्वीकार्न चाहने मान्छे भएनन्,’ पूजा भन्छिन्, ‘हाम्रालागि सबैका ढोका बन्द छन् जस्तो लाग्न थालेको छ।’
धेरैले आवाज सुमधुर छ भनेपछि यी दिदीबहिनी कामको खोजीमा चितवनका विभिन्न एफएम स्टेसन धाए। काम पाएनन्। कामकै खोजीमा उनीहरू सरकारी र निजी संस्थातिर पनि धेरै धाए।
‘अब त जति धाए पनि केही हुँदैन भन्ने महसुस भएको छ। धाउन छाडेका छौँ,’ पूजाले भनिन्, ‘लोकसेवा आयोगका लागि तयारी गरिरहेका छौँ, आशा अलिकतिमात्रै बाँकी छ।’ लोक सेवा आयोगका पुस्तक ब्रेल लिपिमा नभएकाले तयारीमा समस्या भएको उनले बताइन्।
गीत, संगीतका पारखी यी दिदीबहिनीले नाम चलेका कलाकारहरूको स्टेज कार्यक्रममै पुगेर गीत सुनेका छन्। ती कलाकारलाई मान्छेले माया गरेको थाहा पाउँदा उनीहरूको गायक बन्ने हौसला थप बढेको थियो।
‘त्यो माया पनि हामीजस्ता देख्न नसक्नेका लागि होइन रहेछ भन्ने बुझ्दैछु,’ पूजाले भनिन्, ‘साङ्गहरूका लागि पैसा फाल्न तँछाड मछाड गर्नेहरू अपाङ्गता भएकाले सडकको पेटीमा बसेर उस्तै सुमधुर गीत गाउँदा पनि माग्ने भनेर हेला गर्छन्।’
समाज परिवर्तनशील छ। देशले धेरै परिवर्तन हासिल गर्यो भन्ने कुरा भाषणमा राम्रो सुनिने गरे पनि वास्तविक समस्यामा परेकाका लागि कुनै परिवर्तन नभएको पूजाको निष्कर्ष छ।
‘म एक पटक कुनै कामले राष्ट्रिय वाणिज्य बैंक छिर्न लागेकी थिएँ, त्यहाँका गार्डले भित्र छिर्नै दिएनन्,’ उनले भनिन्, ‘अपाङ्गता भएका मान्छे कुनै कार्यालय छिर्न खोज्यो भने माग्ने आएझैँ गर्ने सोच कहिल्यै हराउने भएन।’
यी दिदीबहिनी पहिले बढी उज्यालोमा अक्षर देख्न सक्थे। पढ्ने भोकले उनीहरू मध्याह्नको चर्को घाममा पनि चौरमा बसेर पढ्न थाले। ‘हामी चितवनको घाममा पसिना काढ्दै पढ्थ्यौँ। मान्छेहरू हामीलाई देखेर छक्क पर्थे,’ पूजाले भनिन्, ‘बढी उज्यालोमा किताब हेर्दा हेर्दै अलिअलि भएको ज्योति पनि गुमेछ। अहिले त पूरै अन्धकार छ।’
उनले शैक्षिक प्रमाणपत्रले काम नगरे अन्तिम विकल्प हुन्छ भनेर खाना पकाउने तालिम लिन थालेको बताइन्।
नवलपुर गैंडाकोट–८, किसानचोक घर भएकी माया सापकोटा आगोले पोल्छ भनेर भान्सा कोठामा पस्दिन थिइन्। चुल्होमा आगो सल्काउनु त उनका लागि असाध्यै कठिन काम थियो।
नेत्रहीन संघले दिएको तालिमले उनलाई भान्साका धेरै काम सिकायो। घरका लागि मात्रै नभएर व्यवसायका लागि पनि सक्षम बनायो।
माया जन्मदै रातमा नदेख्ने थिइन्। उनको आँखाको ज्योति बिस्तारै झन् कमजोर बन्दै गयो। सात वर्षअघि दिउँसो पनि नदेख्ने भइन्।
तैपनि उनले पढ्न छाडिनन्। गैँडाकोटस्थित जनक कलेजबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरिन्।
‘पढेको कुरा काम नलाग्ने भएपछि अरू तरिकाबाट केही गर्न सकिएला भनेर लागेकी छु,’ उनले भनिन्, ‘मान्छेहरू यसले केही काम गर्न सक्दिन भन्थे। अब त केही जानेँ, आत्मविश्वास पलाएको छ।’
उनले तालिममा समोसा, आलु चिप्स, खुर्मा र अन्य केही परिकार बनाउन सकिन्। तरकारी काटेर सुकाउन सिकिन्। भन्छिन्, ‘साथ दिनेहरू भेटिए भने एउटा पसल खोलेर चलाउन सक्छु जस्तो लागेको छ।’
मायाले आँखा परीक्षण गराउँदा विशेषज्ञहरूले हजुरआमामा भएको वंशाणुगत गुण सरेको भनेका थिए। उनले आफ्ना दाइका छोराहरूको दृष्टिमा पनि समस्या देखिएको बताइन्।
दृष्टिविहीन अन्य महिलाका पनि यी चार जनाका जस्तै दर्दनाक कथा होलान्। उनीहरूका पनि अनेक इच्छा, चाहना र सपना होलान्।
नेत्रहीन महिला संघ नेपालकी केन्द्रीय सदस्य शकुन्तलाले दृष्टिविहीन महिलाहरूले भोग्नु परेका समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पुगेर झकझक्याउने काम भइरहेको बताइन्।
त्यस्तै प्रयासबाट बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्ट्रेलियास्थित पुण्य फाउन्डेसनको सहयोगमा दृष्टिविहीन महिलाका लागि सुख्खा खाद्य परिकार बनाउने तथा दिनचर्या र गृहविज्ञानसम्बन्धी तालिम दिन सकिएको उनले बताइन्।
यस्तो तालिमले दृष्टिविहीन महिलालाई आत्मनिर्भर बनाउन सघाउने विश्वास नेत्रहीन महिला संघकी अध्यक्ष सीता सुवेदीको छ।