कुनै पनि सहरको स्तर त्यहाँ कति चिल्ला सडक छन्, कति फ्लाइओभर र कति अग्ला टावर छन् भन्नेले निर्धारण गर्दैन।
सहरको स्तर निर्धारण गर्छ खुला सार्वजनिक स्थलले, पैदल मार्ग र सार्वजनिक यातायातले, हरियालीले, त्यहाँको सम्पदा र संस्कृतिले।
अरू कुरा अरू कुनै बेला गरौंला, आज हामी हरियालीबारे कुरा गर्दैछौं।
काठमाडौंभित्र कुनै बेला चरा चिरबिराउने स-साना जंगलहरू थुप्रै थिए जहाँ साँझ-बिहान मान्छे हिँडडुल गर्न आउँथे। अचेल हरियाली खोज्नुपरे वरिपरि डाँडाको फेदसम्मै पुग्नुपर्छ। मध्य सहरभित्र त रूखका नाममा फुटपाथकै बीचमा ठ्याँस्स रोपिएको बिरूवा हेरेर चित्त बुझाउनुपर्छ।
मोटाउँदै गएको सहरमा दुब्लाउँदै गएको जंगलको एउटा उदाहरण बुढानीलकण्ठ नगरपालिकाको सुकेधारा जंगल हो।
ह्याम्स अस्पताल पछाडिको यो जंगललाई मनमोहन पार्क भनिन्छ। दुई वर्षअघिसम्म यहाँ घना रूखहरू थिए। चराको चिरबिरले स्थानीयलाई प्रकृतिसँग जोड्थ्यो। एकाबिहानै जंगलमा हिँड्नेहरू खुब देखिन्थे। तर पछिल्लो समय यो जंगल उजाडिएको छ।
पार्क सौन्दर्यीकरणका नाममा जंगलका रूखहरू काटिएका छन्। बाटो विस्तार गर्न जंगल साँघुरो पारिएको छ। बर्खाको पानी सोस्ने माटोलाई कंक्रिटले टालिएको छ। गुँड भत्काएर चराचुरूंगीको वासस्थान खोसिएको छ। मानिसहरू थकाइ मार्दै भलाकुसारी गर्ने हरियाली नामेट पारिँदै छ।
स्थानीयका अनुसार पहिले गर्मीमा यहाँका अग्लाअग्ला लहरे पिपल र धुपी रूखबीच हिँड्दा शितल हुन्थ्यो। चराचुरूंगीको चिरबिर सुन्न र लोखर्केहरू यताउता नाचेको हेर्न आउनेहरूको लश्कर लाग्थ्यो।
अहिले न चिरबिर सुनिन्छ, न लोखर्के नाच्छन् न शितल छहारी नै पाइन्छ।
यो जंगलको लाभ उठाउनेमध्ये हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी एक हुन्।
केही समययता बुढानीलकण्ठ नगरपालिकाको सुकेधारामा बस्दै आएका उनी चक्रपथ पुग्न त्यही जंगलको गोरेटो बाटो प्रयोग गर्थे।
'वन सानो थियो तर प्राकृतिक थियो। विभिन्न प्रकारका वृक्ष, चराचुरूंगी र लोखर्केले भरिपूर्ण थियो,' उनले भने, 'म केही समय बाहिर गएको थिएँ। त्यही बेला जंगल मास्न सुरू गरिएछ। रूखहरू ढालेर वनको क्षेत्रफलको दाँजोमा निकै ठूलो बाटो बनेछ।'
यो देखेर डा. केसीले वन विभागमा सम्पर्क गरे। विभागले बुढानीलकण्ठ नगरपालिकामा गुनासो दर्ज गराउन सुझाव दियो। त्यसपछि उनले मासिएको जंगलका फोटाहरू खिचेर नगरपालिकाका मेयरलाई चिठी पठाए। तर त्यहाँबाट पनि कुनै जवाफ नआएको डा. केसीले बताए।
'एउटा सरदर उचाइको वृक्ष हुर्काउन दशकौं लाग्छ। यस्तो वृक्ष मासेर बाटो बनाउनु कानुनसम्मत हो कि होइन?' उनले प्रश्न गरे, 'गैरकानुनी हो भने वन विनाश तुरून्त बन्द गर्नुपर्यो। छानबिन गरेर दोषीहरूलाई कारबाही गर्नुपर्यो।'
हामीले यसबारे स्थानीय र नगरपालिकासँग कुरा गर्दा जंगलका रूख ढलेर जोखिमपूर्ण अवस्था आएपछि काटिएको थाहा पायौं।
यसको निम्ति जंगल पूरै मास्नुपर्ने आवश्यकता भने थिएन। घर छेउछेउका ती रूख मात्र ढाले हुन्थ्यो जसले क्षति पुर्याउने डर थियो। तर यहाँ डाँडामाथिका रूख पनि जथाभाबी काटिएका छन्।
‘हुरीबतासमा रूख ढलेर यहाँका घरहरूलाई असर गरेपछि काट्ने कुरा भएको हो,’ स्थानीय सरिता कार्कीले भनिन्, ‘काट्ने बेला घरलाई असर गर्ने रूख मात्र होइन, पूरै जंगल उजाड पारिँदैछ। काट्नै नपर्ने माथि डाँडाका रूखहरू पनि काटिँदै छन्।'
स्थानीयका अनुसार यो जंगलका रूख काट्ने काम ४ नम्बर वडा कार्यालयले गरेको हो। पहिले झन्डै १६ रोपनी क्षेत्रफलको जंगल थियो, अहिले ११/१२ रोपनी मात्र बचेको एक स्थानीयले बताए।
स्थानीयकै उजुरीका आधारमा रूख काटिएको भए पनि पूरै वन सखाप पार्नु भने मूर्खता भएको उनको भनाइ छ।
‘घरलाई असर पर्ने नजिक-नजिकका रूख मात्र काटेको भए हुन्थ्यो तर यहाँ त सबै रूख काटिए,’ उनले भने, ‘लहरे पिपल अग्लो भएपछि जराले माटो समाउँदैन, त्यसैले अर्को रूखको बिरूवा रोप्ने रे भन्ने सुनेको छु।’
वडा कार्यालयले जंगलका रूख मास्नुका साथै पार्क सौन्दर्यीकरणका नाममा धमाधम बाटो ढलान गरिरहेको छ। यसरी आवश्कताबिनै जंगलको बाटो ढलान गरेर वडाले अनाहक बजेट दुरूपयोग गरेको स्थानीय बताउँछन्।
हामीले यसबारे वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मोहन बिष्टसँग कुरा गर्यौं।
'हुरीबतासले स्थानीयको घरमा रूख ढल्न सक्ने उजुरी आएपछि मिलाएर काँटछाँट गर्न हामीले नगरपालिकालाई पत्राचार गरेका थियौं,' उनले भने, 'त्यसपछि नगरपालिकाले लहरे पिपलजस्ता जोखिमपूर्ण रूख काटेर नयाँ बिरूवा रोप्ने योजना ल्यायो।'
उनले भनेजस्तो लहरे पिपलका रूख मात्र काटिएका छैनन्, धुपीको रूख पनि काटिएको छ।
धुपीको रूख काट्नुपर्ने कारण सोध्दा वडाध्यक्ष आफूलाई यसबारे जानकारी नभएको बताउँछन्।
‘हामीले नगरपालिकासँग कुरा गर्दा धुपीको रूख काट्ने कुरा भएको थिएन,’ बिष्टले भने, ‘म आफैं एक दिन त्यो बाटो हिँड्दा धुपीका केही रूख काटेको देखेँ। म पनि अचम्म परेँ।'
उनले यो पनि भने, 'कुन-कुन रूख किन काटे त्यसबारे मलाई थाहा छैन। काम सुरू हुँदा मेरो कार्यकाल सकिन आँटेको थियो।’
जंगलको बीचमा बाटो पनि चौडा पारिँदैछ नि भनेर सोध्दा उनी २०२१ सालसम्म यहाँ बाटो नै नभएको जिकिर गर्छन्।
‘२०२१ सालको नापी नक्सामा बाटो छैन,’ उनले भने, ‘२०४५/४६ सालतिर नापी विभागबाट अमिन आउँदा एक जनाले बाटो छ भनेर लगाइदिएछ। छलकपट गरेर बाटो छ भनेपछि तीनफुटे गोरेटो बाटो बनेको हो।’
त्यही तीनफुटे गोरेटोलाई अहिले छ फुट चौडा पारिएको छ। यो पनि जंगलका रूखबिरूवा मास्ने बहाना बनेको छ।
‘बिहान बेलुका हिँड्न आउनेलाई साँघुरो भयो भनेर तीन-चार जना आरामले एकै लहरमा हिँड्न मिल्ने गरी फराकिलो पारिएको हो,' पूर्व वडाध्यक्ष बिष्टले भने।
शंखमुल र साइपलको पार्कमा समेत ६-७ फिट चौडा फुटपाथ रहेको उदाहरण दिँदै उनले भने, 'मान्छेको सुविस्ताका लागि बाटो फराक पार्न जरूरी थियो। यो बाटो ढलान गरिए पनि मान्छे हिँड्नलाई नै बनाइएको हो, गाडी कुद्ने होइन।'
यो बाटोमा गाडी कुदाउन पाइँदैन भनेर स्थानीयसँग सम्झौता नै भएको उनले जानकारी दिए।
वन मासेर पार्क बनाउँदा क्षेत्रफल पनि १६ बाट ११ रोपनीमा खुम्चिएको भन्ने स्थानीयको भनाइ हामीले पूर्ववडाध्यक्ष बिष्टलाई सोधेका थियौं।
जवाफमा उनले भने, 'क्षेत्रफल ११ रोपनी नै हो, १६ रोपनीको कुरा गलत हो।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी