न्यूरोड भनेको सडक मात्र होइन, यो काठमाडौंको पहिलो आधुनिक बजार हो जसको निर्माण नब्बे सालको भुइँचालोपछि भयो।
भुइँचालोले काठमाडौंका धेरै संरचना भत्किएपछि पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले हनुमानढोका दरबारकै आँगनमा र काठमाडौंको पुरानो बस्तीसँग जोडिने गरी आधुनिक सडक बनाउने परिकल्पना गरे।
उनले सडकको एकछेउ आफ्नै पूर्णकदको प्रतिमा ठड्याए र अर्को छेउ नगर प्रवेश गर्ने द्वार बनाए।
मल्लकालीन वसन्तपुर डबलीदेखि काठमाडौंको परम्परागत सार्वजनिक स्थल तुंख्य (हालको टुँडिखेल) सम्म धागोझैं तन्किएको त्यही सडकलाई आज हामी न्यूरोड भन्छौं।
कुनै समय न्यूरोडले काठमाडौंको आधुनिक पहिचान बोकेको थियो। फराकिलो सडक, नयाँ नयाँ मोडलका गाडी, चल्तीका ब्रान्डहरूका पसल र आधुनिक कफी सपहरू न्यूरोडका विशेषता थिए। अचेल न्यूरोड भन्नेबित्तिकै दिनैभरि ट्राफिक जाम र मान्छेको घन्चमन्च भइरहने पुरानो सडक बुझिन्छ।
न्यूरोडमा उहिले जे थियो, आज सबैतिर छ।
जस्ता पसल र जस्ता कफी सपका कारण न्यूरोड चर्चित थियो, आज त्यस्तै पसल र त्यस्तै कफी सप अन्यत्र पनि छन् र न्यूरोडभन्दा धेरै नै छन्।
त्यसैले अब न्यूरोडको पुरानो गौरव फर्काउनुपर्नेमा कसैको विमति छैन। तर गर्ने के त?
तपाईंहरू लामो समयपछि न्यूरोड जानुभएको छ भने सडकका बायाँ पुराना रेलिङ देख्न पाउनु हुन्न। ती हटाइएका देखिन्छन्। त्यसको ठाउँमा रंगीचंगी रेलिङ राखिएका छन्। नयाँ रेलिङमा सबभन्दा धेरै रातो रङ प्रयोग गरिएको छ। पहेँलो, सेतो र कालो रङ पनि छ। यसमा काण्ठमण्डप र कुमारीको आँखाका प्रतिरूप छन्।
सडक सौन्दर्यीकरणका नाममा रेलिङ फेर्ने योजनाका लागि तीन करोड रूपैयाँ नगरसभाबाट पारित भएको काठमाडौं महानगरपालिकाको पूर्वाधार विभागका प्रमुख राम थापाले जानकारी दिए।
'न्यूरोड सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सडक हो,' उनले भने, 'यसलाई सौन्दर्यीकरण गर्न हामीले फुटपाथको काम सकेर रेलिङ हाल्न सुरू गरेका छौं।'
अब प्रश्न उठ्छ, के रंगीचंगी रेलिङले न्यूरोडको सांस्कृतिक र ऐतिहासिक महत्व फर्काउँछ?
न्यूरोडलाई कसरी पुनर्स्थापना गर्ने भन्नेबारे विभिन्न योजनामा काम भएका छन्। काठमाडौं महानगरपालिकाले केही वर्षअघि न्यूरोडलाई नयाँ ढाँचामा पुनर्स्थापना गर्ने योजना बढाएको थियो।
न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाएर खुला सार्वजनिक स्थलमा रूपान्तरण गर्ने महानगरको योजना थियो।
वसन्तपुर डबलीदेखि न्यूरोड गेटसम्मको बाटोमा मान्छेलाई खुला आवागमन गर्न दिने, बीच-बीचमा रूखबिरूवा रोपेर हरियाली बढाउने र मान्छेलाई आराम गर्न कुर्सीहरू राख्ने योजना थियो। त्यही ठाउँमा साँझपख रेस्टुरेन्टहरूलाई खानेकुराको खुला स्टल राख्न दिने योजना पनि थियो।
न्यूरोडलाई यसरी सवारी निषेधित सडकमा परिणत गर्ने अवधारणाका पछाडि एउटा कारण छ।
आजभन्दा नब्बे वर्षअघि काठमाडौंलाई आधुनिक सहरको रूप दिएको न्यूरोडले नै हो। अहिले आधुनिक सहरको सिद्धान्त फेरिएको छ। आधुनिक सहरमा गाडी गुड्ने फराकिला सडक मात्र पर्दैनन्। ठूल्ठूला डिपार्टमेन्ट स्टोर मात्र पर्दैनन्। मान्छेले निस्फिक्री हिँड्न पाउने सार्वजनिक स्थल पनि पर्छ। हरियाली पर्छ। सडकमा टहलिने र आराम गर्ने सुविधा पनि पर्छ।
न्यूरोडमा सवारी निषेध गरेर र खुला सार्वजनिक स्थल बनाएर काठमाडौंलाई त्यही रूपमा ढाल्न सकिन्छ। महानगरले भनेजस्तो न्यूरोडको सांस्कृतिक र ऐतिहासिक महत्व फर्काउने हो भने यो राम्रो विकल्प हुनसक्छ।
तर काठमाडौं महानगरले न्यूरोड पुनर्स्थापनाको यो योजना अघि बढाएन। बरू सडक सौन्दर्यीकरणका नाउँमा फुटपाथमा रंगीचंगी रेलिङ हाल्ने योजना ल्यायो। सम्पदा संरक्षण अभियन्ताहरूले सुरूदेखि यसको विरोध गर्दै आएका छन्।
समग्र न्यूरोडलाई नयाँ ढाँचामा पुनर्स्थापना नगरी रंगीचंगी रेलिङ राखेर तडकभडक गर्न खोजेको भन्दै महानगरको विरोध भएको थियो। यसको ढाँचामा पनि अभियन्ताहरूले आपत्ति जनाएका थिए।
अघिल्लो मेयरको कार्यकालमा अघि बढ्न नसकेको उक्त योजनाले फेरि जस्ताको तस्तै निरन्तरता पाएको छ।
पूर्वाधार विभाग प्रमुख थापाका अनुसार यो रंगीचंगी रेलिङ न्यूरोड गेटदेखि जुद्ध शालिकसम्म र इन्द्रचोकदेखि महानगरको सांस्कृतिक भवनसम्म विस्तार गर्ने योजना छ।
यसको डिजाइन आकर्षक र मौलिक बनाउन काठमाडौंको पहिचान बोकेका काष्ठमण्डप र 'जीवित देवी' कुमारीको आँखाको चित्र प्रतिविम्बित गरिएको उनी बताउँछन्।
महानगरले दाबी गरेजस्तो रेलिङको डिजाइन आकर्षक भने छैन। रंगीचंगी रङ केही समयमै खुइलिनेछ। समयमै रंगरोगन गरिएन भने यो कुरूप देखिनेछ।
यसबारे काठमाडौंका मेयर बालेन शाहको सचिवालयका स्वकिय सचिव भूपदेव शाहलाई प्रश्न गर्दा उनले यो काम अघिल्लो कार्यकालकै निरन्तरता भएको बताए।
'जसको नेतृत्वमा सुरू भए पनि यो महानगरको योजना हो,' उनले भने, 'हामीले पहिलेकै कामलाई निरन्तरता दिएका हौं।'
न्यूरोडको सौन्दर्यीकरण वा पुनर्स्थापना गर्नु नै महानगरको मनसाय थियो भने समग्र न्यूरोडलाई फुटपाथमा परिणत गर्ने र सामाजिक हबका रूपमा विकास गर्ने योजना महानगरको सहरी विकास विभागले ल्याएको थियो।
त्यतिखेर महानगरले काठमाडौंको कोर-सिटी (भित्री सहर) लाई नै सवारी निषेधित क्षेत्र बनाउने र त्यसको सुरूआत न्यूरोडबाट गर्ने भनेको थियो। न्यूरोडमा सवारी निषेध गर्दा त्यहाँको व्यापार व्यवसायमा पर्ने असर हेरेर यो योजनालाई मध्यसहरभरि लागू गर्दै जाने योजना पनि थियो।
विकसित देशका सहरहरू बिस्तारै यही मोडलमा गइरहेका छन्। युरोपका धेरै पुराना सहरमा सवारी आवागमनलाई भन्दा मानवीय आवागमनलाई महत्व दिइएको छ। यसले त्यहाँको व्यापार बढेको अध्ययनले देखाएको छ। काठमाडौंमा पनि यसको सुरूआत न्यूरोडबाट गर्न सकिन्छ जसको निम्ति रेलिङ होइन, सडकको ढाँचा नै फेर्नुपर्छ।
न्यूरोड काठमाडौंको पहिलो आधुनिक बजार हो, यो काठमाडौंको पहिलो मानवमैत्री हरित बजार पनि बन्न सक्छ।