रामेछापको खाँडादेवी गाउँपालिकाकी निर्मला भण्डारीले सानै हुँदा बायाँ खुट्टा गुमाइन्। चार वर्षकी निर्मला बाटोमा खेलिरहेको बेला टिपरले ठक्कर दिएको थियो रे। त्यो दिनको घटना उनलाई राम्ररी सम्झना छैन।
सम्झन सक्ने भएदेखि उनी एउटा खुट्टाको सहाराले उभिइरहेकी छन्। उनी आफ्नै खुट्टामा उभिएकी मात्र छैनन्, जीवनका आफ्ना केही सपनाहरू पनि पूरा गरेकी छन्।
‘सानैदेखि मलाई एउटा खुट्टा भएको मात्र याद छ,’ उनले भनिन्, ‘हिँडेर स्कुल जानुपर्थ्यो। गाडीमा जाऔं भने कतिले त रोक्दैनथे। रोकिहाले पनि सिट पाइन्नथ्यो। अचेलजस्तो अपांगता भएकालाई सिट छोडिदिने चलन थिएन, उभिएर जान सकिँदैनथ्यो।’
स्कुल जान-आउन मात्र होइन, स्कुलमा पढ्नसमेत सास्ती थियो। विद्यालयका संरचना अपांगमैत्री थिएनन्।
निर्मलाले हिम्मत हारिनन्। पढ्न गइरहिन्। २०६४ सालमा उनले एसएलसी पास गरिन्।
एसएलसीपछि काठमाडौंमा एचए (हेल्थ असिस्टेन्ट) पढिन्। कलेज जाँदा पनि उनलाई सबैले सोध्थे- तिमी काम गर्न सक्छौ त?
उत्तर दिँदादिँदा उनी हैरान भइसकेकी थिइन्।
ब्याचलर्सको पढाइ भने उनले ग्रामीण विकासमा गरिन्। बिएको पढाइ सकिएपछि एक दिन निर्मला राष्ट्रिय अपांग संघ गएकी थिइन्। त्यहाँ गएपछि उनलाई थाहा भयो- शारीरिक रूपले अपांगता भएका व्यक्तिले पनि खेल खेल्ने रहेछन्।
सानैदेखि विभिन्न खेलमा रूची भए पनि खुट्टाका कारण रहरलाई मनमै दबाएकी निर्मलालाई अपांगता भएका मानिसहरूले पनि खेल खेल्ने रहेछन् भन्नेबारे त्यहीँ पुगेर थाहा पाइन्।
खेलकुदप्रति पहिलेदेखि नै रूचि भए पनि फरक क्षमताका मानिसहरूले पनि खेल खेल्छन् भन्नेबारे अपांग संघमा गएपछि मात्र थाहा पाएको उनी बताउँछिन्।
‘बिए सकेर थप पढाइ पनि गर्न मन नलागेको समयमा एक्कासी हामीले पनि खेल खेल्न सक्छौ भन्ने थाहा पाएपछि निकै खुसी भएँ,’ निर्मला भन्छिन्।
२०७२ मा ह्विलचेयर बास्केटबलबाट उनले खेलकुद क्षेत्रमा पाइला राखिन्।
ह्विलचेयर बास्केटबल खेल्दाखेल्दै पारापावर लिफ्टिङमा सहभागी हुन दाइहरूले सल्लाह दिएको उनी बताउँछिन्।
‘हाम्रो समुदाय एकदमै सानो छ,’ उनले भनिन्, ‘एउटा खेल खेल्ने मान्छेले नै अर्को खेल समेत उसैले खेल्नुपर्ने स्थिति छ।’
पावर लिफ्टिङ गर्न जिम गर्न जानुपर्थ्यो।
‘जिम जाँदा यस्तो मान्छे दुःख पाउन किन आएको होला भन्थे। गेम खेल्दा पनि यस्तो मान्छेले खुरूक्क घरमा नसुती किन गेम खेल्न आएको भन्थे,’ उनले सुनाइन्।
ती कुरालाई निर्मलाले परवाह गरिनन्। आफ्नो खेलमा दिनरात मेहनत गरिरहिन्।
मेहनतले उनलाई सफलता दिलायो। २०७५ मा भएको ‘खुल्ला राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिता’ र ‘प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता’ दुबैमा निर्मलाले स्वर्ण जितिन्।
ती प्रतियोगितामा विजयी बनेपछि उनले इन्डोनेसियामा भएको एसियन पारा गेम्समा नेपालको प्रतिनिधित्व गर्ने मौका पाइन्। एसियन गेम्समा भने उनले सोचेजस्तो भएन।
‘पावर लिफ्टिङको लागि ५५ केजी तौलका लागि एसियन पारा गेम्समा गएको थिएँ,’ उनले भनिन्, ‘हामीलाई अभ्यास गराउन कोचहरू कोही पनि थिएन। गर्मी भएका कारण धेरै पानी खाइयो, मेरो शरीरको तौल बढ्यो र अन्य प्राविधिक कारण समेत थाहा नभएका कारण जुन तौलको लागि प्रतिस्पर्धा गर्न गएको थिए, त्यसमा गर्न पाइनँ।’
खेलकुद क्षेत्रमा निर्मलाले एउटा परिचय बनाएकी थिइन्। उनलाई आफ्नो जीवनको कथा भन्न स्टोरी यल्लरले बोलायो। स्टोरी यल्लरमा विभिन्न क्षेत्रका मानिसहरूले आफ्ना कथा सुनाउँछन्।
निर्मलाले त्यहाँ स्वयात्रामा गएर आएका केटीहरूका अनुभव सुनिन्। उनलाई पनि सानैदेखि टाढा-टाढा घुम्न जान मन थियो तर सकेकी थिइनन्। स्वयात्राले नै घुम्न पठाउँछ भन्ने थाहा पाएपछि उनले थप बुझिन्। स्वयात्राका लागि फारम भरिन्।
‘मैले त यत्तिकै फर्म भरेको थिएँ,’ निर्मलाले भनिन्, ‘त्यतिबेला ५०५ जनाले फर्म भरेका रहेछन्। त्यसबाट पाँच जना मात्र छानिएछन्। पाँच जनामा म पनि पर्न सफल भएँ।’
स्कुटरमा हिँड्दामा बाटोमा पेट्रोल सकिए हाल्न पाइने र बिग्रिए ग्यारेज हुने ठानेर उनले राजमार्गमा यात्रा गर्ने योजना बनाइन्।
काठमाडौंबाट स्कुटर लिएर इलाम पुगिन्। स्कुटर कुदाएर जनकपुर, लुम्बिनी र महेन्द्रनगर पुगिन्। उनलाई तानसेन पनि घुम्न मन थियो। फर्किने बेला उनी बुटवलबाट तानसेन गइन्। त्यतिन्जेल उनले स्वयात्रामा ३५ दिन बिताइसकेकी थिइन्।
‘यात्राको क्रममा थुप्रै तीतामिठा अनुभव बटुल्ने मौका पाएँ,’ उनले भनिन्, ‘सबैभन्दा नराम्रो अनुभव भनेको तानसेनमा कुकुरले मेरो मुखमा टोकिदियो। त्यसपछि मैले यात्रा गर्न सकिनँ।’
घरपालुवा कुकुर हो केही पनि गर्दैन होला सोच्दा उक्त दुर्घटना भएको उनले बताइन्।
३५ दिन स्कुटरमा घुमेकी निर्मलाले ‘स्वयात्रा २०१९’ उपाधि नै जितिन्।
स्वयात्राका क्रममा नयाँ परिवेशमा भिज्ने र नयाँ मानिसलाई नजिकैबाट चिन्ने मौका पाएको उनी बताउँछिन्।
निर्मला अहिले प्रोस्थेसिस लगाएर हिँड्छिन्। कक्षा छ पढ्दा २०६० सालमा सुरूमा प्रोस्थेसिस लगाएकी हुन्।
‘प्रोस्थेसिस सुरूमा लगाउँदा ट्रेनिङ लिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘मैले ट्रेनिङबिना नै प्रोस्थेसिस लगाएँ। म एकदमै चकचके थिएँ। म जस्तो बच्चालाई प्रोस्थेसिस लगाएर धेरै पनि हिँड्न पाउँदैन भन्दा के हुन्छ? मलाई एकदमै कठिन भएको थियो।’
सुरूमा प्रोस्थेसिस लगाउने बानी नभएर कम्मरको भागमा घाउ आउने गरेको बताइन्। कति दिनसम्म पाछेर गाह्रो भई फोका उठेको तर अहिले बानी भइसकेको बताउँछिन्।
उनले एकचोटि खुट्टा दु:खेर जाँच गर्न जाँदाको तीतो अनुभव सुनाइन्।
‘एकचोटि खुट्टा दुखेर डाक्टर गोविन्द केसीलाई देखाउन शिक्षण अस्पताल गएको थिएँ,’ उनले भनिन्, ‘उहाँले थेरापी गर भन्नुभयो। थेरापी गर्न गएँ। पहिलो दिन फिजिसियनले नराम्रो व्यवहार गर्यो। दोस्रो दिन पनि त्यस्तै भयो। त्यसपछि फिजिसियनकोमा नै गइनँ। त्यो मान्छेले म केटी मान्छे र त्यसमा पनि अपांग भएकाले त्यस्तो गरेको जस्तो लाग्छ।’
अहिले भएको भए केही बोल्ने हिम्मत राख्ने भएता पनि त्यतिबेला केही गर्न नसकेको उनी बताउँछिन्।
घुमफिर गर्न असाध्यै रूचाउने निर्मला अब सगरमाथा आधार शिविरसम्म पुग्ने योजनामा छिन्।