काठमाडौंको बानेश्वरमा रहेको चक्रवर्ती कलेजले शुल्क बढाएपछि विद्यार्थीहरूले विरोध गरेका छन्।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ लले नयाँ शैक्षिक सत्र २०७९ देखि शुल्क वृद्धि गरेका कारण विद्यार्थीहरूले विरोध गरिरहेका छन्।
कलेजले यसै शैक्षिक सत्रदेखि लागू हुने साढे तीन लाखभन्दा बढी शुल्क वृद्धि गरेको विद्यार्थीहरूको भनाइ छ।
उक्त कलेजका विद्यार्थी राजेन्द्र रोकायाले कलेजले शुल्क वृद्धि गर्दा विद्यार्थी समस्यामा परेको सेतोपाटीलाई बताए। वृद्धि गरिएको शुल्क कानूनसम्मत नरहेको दाबी उनले गरेका छन्।
‘एक्कासी कलेजले यति धेरै शुल्क बढाउन मिल्दैन। कलेजले मनपर्ने ढंगले शुल्क बढाएको छ। हामीले कानूनसम्मत तवरले मात्रै शुल्क लिन कलेजलाई आग्रह गरेका हौं,’ उनले भने।
कलेजले ४९ प्रतिशतले शुल्क वृद्धि गरको उनले जानकारी दिए।
‘कलेजले बिए एलएलबीका लागि तोकेको शुल्क सात लाख १६ हजार चार सय थियो। हामी पछाडीको ब्याचको पनि उक्त रकम नै छ,’ उनले भने, ‘तर अहिले भर्ना भएको २०७९ साल ब्याचको एक्कासी बढाएर १० लाख ७० हजार पुर्याएको छ।’
रोकायाका अनुसार चक्रवर्ती कलेजमा बिए एलएलबी र एलएलएमको पढाइ हुन्छ। कलेजले दुवैको शुल्क बढाएको हो। एलएलएमको पहिले तीन लाख २३ हजार शुल्क रहेकोमा अहिले पाँच लाख ४८ हजार बनाएको उनले बताए।
कलेजले शुल्क वृद्धि गरेपछि विद्यार्थीले गत साउन ८ देखि आन्दोलन गरिरहेका छन्। विद्यार्थीले आन्दोलन गरेपछि ५० हजार शुल्क घटाउन प्रशासन तयार भएको उनले बताए।
‘कलेजले ५० हजार शुल्क घटाउन सकिन्छ भनेको थियो। हामीले १० देखि १५ प्रतिशत मात्रै शुल्क बढाउन मिल्छ भनेका छौं,’ उनले भने, ‘हाम्रा कुरा प्रशासनले सुनेको छैन।’
शुल्क घटाउन कलेज प्रशासन तयार नभएको विरोधमा विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका थिए। तर साउन ९ मा कलेज प्रमुख देवेन्द्र भण्डारीले आन्दोलनरत विद्यार्थीसँग छलफलविनै ताला खोलेर पठनपाठन सुरू गरेको उनले बताए।
विद्यार्थीहरूमाथि कलेज प्रमुख भण्डारीले सुरक्षा गार्ड र बाउन्सरहरू लगाएर हातपात गर्न लगाएको उनले दाबी गरे। शान्तिपूर्ण आन्दोलनमा कलेजले हस्तक्षेप गरेको विद्यार्थी रोकाया बताउँछन्। विद्यार्थी र कलेजका सुरक्षा गार्डलगायत तथा प्रहरीबीच साउन ९ मा झडपसमेत भएको थियो।
‘प्रहरीले हामीमाथि लाठीचार्ज गर्यो। एक जनाको हाँत भाँचिएको छ। अर्का एक विद्यार्थीको खुट्टा भाँचिएको छ,’ उनले भने, ‘एक जना साथी एभरेष्ट अस्पताल भर्ना हुनुभएको छ। टाउकोमा गम्भीर चोट छ।’ प्रहरीले आन्दोलनरत विद्यार्थीमध्ये तीन जनालाई केही घन्टा थुनेर थुनामुक्त गरेको थियो।
एलएलबी दोस्रो वर्षमा पढ्ने विद्यार्थी नुर्बा शेर्पाका अनुसार कलेजले आफूखुसी शुल्क वृद्धि गरेपछि विरोध गरिएको हो।
‘एकैपटक यति धेरै शुल्क वृद्धि गर्न पाइँदैन भनेका हौं,’ उनले भने।
कलेज घाटामा गएको बाहनामा शुल्क वृद्धि गर्न नमिल्ने उनले बताए। कलेजले चर्को शुल्क लिने निर्णय गरेपछि पूर्वाञ्चल विश्वविद्यालयमा खबर गरे पनि केही सम्बोधन नभएको उनले बताए। शुल्क वृद्धि गर्नेबारे पूर्वाञ्चल विश्वविद्यालयले कुनै मापदण्ड आफूहरूसँग नरहेको जवाफ दिएको पनि उनी बताउँछन्।
पहिले कलेजमा एक सय जना पढाउने क्षमता थियो। यो वर्षदेखि यो संख्या वृद्धि गरी दुई सय ५० पुर्याइएको छ। सिट संख्या वृद्धि गरेपछि कलेजले शुल्क पनि वृद्धि गरेको थियो। ‘अहिले वृद्धि गरेको शुल्क कार्यान्वयनमा आए विद्यार्थीले पढ्नै सक्दैनन्,’ उनले भने।
यस विषयमा विद्यार्थीहरूले मानव अधिकार आयोगमा समेत निवेदन दिएका छन्।
चक्रवर्ती कलेजका प्रमुख देवेन्द्र भण्डारीले शुल्क वृद्धि नगरिएको दाबी गरे। शुल्क समायोजना मात्र गरेको उनले बताए।
‘हामीले शुल्क समायोजना मात्र गरेका हौं,’ उनले भने, ‘पहिले विभिन्न विधामा शुल्क लिने गरेका थियौं। अहिले समायोजन गर्दा विभिन्न विधाको शुल्क तलमाथि मात्र भएको हो। समग्रमा शुल्क पहिलेको जति नै छ।’
सामान्यतया कलेजमा वार्षिक ५ देखि १० प्रतिशत शुल्क बढिरहने उनले बताए। ‘तर हामीले १२ वर्षदेखि शुल्क बढाएका थिएनौं,’ उनले भने, ‘केही विद्यार्थीले राजनीति गर्न खोजेका छन्।’
भण्डारीले अरू कलेजभन्दा आफूहरूको कलेजमा कम शुल्क भएको दाबी गरे। कलेजका सामान तोडफोड भएपछि प्रहरी बोलाइएकोले साउन ९ मा झडप भएको उनले बताए। कलेजका सुरक्षा गार्ड र विद्यार्थी घाइते भएको उनले बताए।
कलेजको लेखा शाखाका एक कर्मचारीका अनुसार यो कलेज २०६६ सालमा स्थापना भएको हो। पहिलोपटक कानून पढाउन सुरू गर्दा ५ देखि छ लाखसम्म मात्र शुल्क लिने गरिएको उनले बताए। २०७१ सालमा शुल्क बढाएर अहिले भएको शुल्क लागू गरिएको उनको भनाइ छ।
‘२०७१ सालयता हामीले कलेज शुल्क नै बढाएको छैन। त्यतिबेला एलएलबिका लागि १० लाख ७० हजार र एलएलएमका लागि पाँच लाख ४८ हजार रुपैयाँ थियो,’ उनले भने, ‘समायोजन गरिएको शुल्कलाई वृद्धि गरेको भन्न त मिल्दैन।’
उनले विद्यार्थीहरू प्रशासनिक कुरामा नअल्झिएर पढाइमा लाग्नु पर्ने बताए। विद्यार्थीहरूले पढाइ नहुँदा मात्र पढाइ रोकियो भनेर विरोध गर्न मिल्ने उनको भनाइ छ।
अहिले कलेजले सूचना जारी गर्दै कलेज अनिश्चितकालका लागि बन्द भएको बताएको छ। विद्यार्थीहरूले भने पठनपाठन सुरू गर्न र वार्ता गर्न कलेज प्रशासन तयार हुनुपर्ने बताइरहेका छन्।