काठमाडौंको भित्री बस्तीमा एकाबिहानै लाग्ने तरकारी बजार जानुभयो भने हिजोआज एउटा नयाँ परिवर्तन देख्नुहुनेछ।
त्यो हो, प्लास्टिकमुक्त अभियान।
असन, बालकुमारी, केलटोल, भेडासिं, इन्द्रचोक लगायतका सडक पसलमा अचेल प्लास्टिक झोलामा तरकारी दिइँदैन। तपाईंहरूले कपडाको झोला बोकेर जानुपर्नेछ।
ती ठाउँमा 'मेरो पसलमा प्लास्टिकको झोला छैन, कृपया आफैंले कपडाको झोला बोक्ने गरौं' जस्ता जनचेतनामूलक ब्यानरहरू पनि तपाईं देख्न सक्नुहुन्छ।
सरकारले भदौ १ देखि प्लास्टिक झोलामा कडाइ गर्ने नीति लिएको छ। काठमाडौं कोर सिटीमा भने एक महिनाअघि नै प्लास्टिकमुक्त अभियान सुरू भएको हो।
यसमा स्थानीय अभियन्ताहरू विजय श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, सन्जिव शाक्य, करूणानन्द शाक्य, मनोज कर्माचार्य लगायतले संयुक्त प्रयास गर्दै आएका छन्।
पछिल्लो समय काठमाडौंका सडकमा थुप्रिएको फोहोरको डुंगुरमा प्लास्टिकको ठूलो हिस्सा देखेपछि यो अभियान सुरू गरेको विजय बताउँछन्।
'प्लास्टिक प्रयोग कम गर्नुपर्छ भन्नेमा हामी सबै सहमत थियौं तर कसरी गर्ने भन्ने चाहिँ कसैलाई सुझेको थिएन,' उनले सेतोपाटीसँग भने, 'एकदिन बिहानी तरकारी बजार घुम्दा किनमेल गर्न आउनेहरूले अत्यधिक मात्रामा प्लास्टिक झोला प्रयोग गरिरहेको हामीले देख्यौं।'
त्यसपछि सल्लाह गरेर कम्तिमा भित्री बस्तीमा लाग्ने बिहानी तरकारी बजारमा प्लास्टिक झोला निरूत्साहन गर्ने निर्णय गरेको विजय बताउँछन्।
यो निर्णय साउन २ देखि लागू भएको थियो। एक साताका लागि सुरू गरिएको अभियानले सबैको स्वागत पाएपछि महिनाभरि लम्ब्याइएको थियो। यसले सकारात्मक प्रभाव छाडेकोमा उनले खुसी व्यक्त गरे।
'परिवर्तनको चाहना धेरैले गर्छन्,' उनले भने, 'तर आफूले चाहेको परिवर्तन गर्न आफैं लागिपर्नुपर्छ भनेर हामीले यो अभियान सुरू गरेका थियौं, सफल भयौं।'
बिहानी तरकारी पसलहरूमा उनीहरू नियमित निरीक्षण गर्छन्। कसैले प्लास्टिक झोला प्रयोग गरेको देख्यो भने खोसिदिन्छन्।
'धेरैले हामीलाई अचेल 'झोला डन' भन्छन्,' विजयले भने, 'यो अभियानले प्लास्टिक झोला प्रयोग निर्मूल गर्न नसके पनि केही हदसम्म कम गरेको छ।'
आफूहरूले खरिदकर्ता र बिक्रेता दुवैलाई प्लास्टिक झोला प्रयोग गर्न निरूत्साहन गर्दै आएको उनले बताए। यसको सट्टा घरबाट आफैंले कपडाको झोला ल्याउन उनीहरू प्रेरित गर्छन्।
काठमाडौं कोर एरियाको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ। सम्पदाले भरिपूर्ण यो सहरलाई सुन्दर र स्वस्थ राख्न प्लास्टिकमुक्त गर्नुपर्छ भन्ने अवधारणाअनुरूप यो अभियान सञ्चालन गरिएको विजय बताउँछन्।
एकमहिने अभियान शुक्रबार सकिए पनि यसले निरन्तरता पाउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।