काठमाडौं उपत्यकामा डेंगी संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।
अस्पतालमा बिरामीको संख्या बढेसँगै अस्पतालमा बिरामी राख्ने स्थान कम हुँदै गएका छन्। धेरै अस्पताल डेंगीको बिरामीले भरिएका छन्।
काठमाडौं उपत्यकामा धेरै डेंगीका बिरामी देख्न थालेपछि टेकु अस्पतालले सोमबारदेखि ‘डेंगी क्लिनिक’ को सुरूवात गरेको छ।
काठमाडौंमा डेंगी बिरामीको चाप बढेपछि डेंगी क्लिनिक दोस्रोपटक सञ्चालन गरिएको डाक्टर शेरबहादुर पुनले जानकारी दिए।
उनका अनुसार टेकु अस्पतालमा डेंगी क्लिनिक चलाइएको यो दोस्रोपटक हो। पहिलो सन् २०१९ मा डेंगी महामारी फैलिएको बेला चलाइएको थियो।
पहिले डेंगी क्लिनिकमा आउने बिरामीको संख्या उल्लेखनीय रहेता पनि यो पटक टेकु अस्पताल नै आउनेको संख्या केही कम हुने आशंका उनले गरे।
‘पहिले प्राइभेट अस्पताल अहिले जति थिएन,’ उनले भने, ‘त्यहिकारण पनि मानिसहरू उपचारका लागि प्राइभेट अस्पताल नै पुग्छन्।’
पहिले टेकु अस्पतालमा डेंगी बिरामीले भरिएको र ठाउँको अभावले टेन्ट राखेर सेवा दिएको उनले स्मरण गरे।
‘डेंगी रोग लामखुट्टेको टोकाइबाट आउने भाइरल ज्वरो हो,’ उनले भने, ‘विशेषतः एडिस जातिका एजिप्टाइ र अल्बोपिक्टस जातीका पोथी लामखुट्टको टोकाइले उक्त ज्वरो आउने गर्छ।’
पेट, टाउको, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुने, बान्ता लाग्ने, बान्ता गर्दा रगत आउने, आँखा दुख्नु डेंगीका सुरुवाती लक्षणहरू भएको पुनले बताए।
सुरूको दिनमा १०३, १०४ डिग्री ज्वरो आउने गर्छ। कसैलाई यो भन्दा बढी पनि आउन सक्ने उनी बताउँछन्।
डेंगीको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय भएको उनले बताए।
‘मैले त फ्लेक्जन खाएँ, सिटामोल खाएँ तर ज्वरो घट्दै घटेन’ भनेर बिरामी आउने गरेको उनले बताए।
यस्तै केही समय राहत हुने भनी मानिसहरूले धेरै डोजको औषधी प्रयोग गरेको बताए।
‘अहिले बिरामीहरूले आराम हुन्छ भनेर फ्लेक्जन जस्ता औषधीहरू खाएर आएको बताउनुहुन्छ,’ उनले भने, ‘त्यो गलत हो। बरू ज्वरो घट्दै घटेन भने तीन देखि चार समयसम्म सिटामोल नै प्रयोग गर्दा हुन्छ।’
धेरै फ्लक्जन प्रयोग गरेका बिरामीलाई सोही औषधीले आँखामा समेत समस्या पारेको उनले बताए।
उनका अनुसार शंकास्पद लक्षण लिएर दैनिक ओपिडीमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशतमा डेंगी संक्रमण नै पुष्टि हुने गरेको छ।
‘ओपिडीमा आउने बिरामीको चाप अत्यधिक छ, इमर्जेन्सीमा पनि छन्। बेडले पनि धान्दैन,’ उनले भने, ‘त्यतिबेला एउटै बेडमा दुईजना बिरामी पनि राखेर उपचार गराएका छौं।’
इमर्जेन्सी र ओपिडीमा आउने ६० प्रतिशत बिरामीमा डेंगी पुष्टि हुने गरेको छ। यदी यही संख्यामा संक्रमित बढ्दै गए अस्पतालमा कोभिड संक्रमणकालको जस्तै अवस्था आउने उनले बताए।
टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार टेकुमा उपचार गराउन आउने ५० प्रतिशतमा डेंगी संक्रमण पुष्टि भएको छ।
त्यस्तै अस्पतालमा भर्ना भई उपचार गराएर ८८ जना गएका छन्। अहिले अस्पतालमा २२ जनाको उपचार भइरहेको र ४ जनाको आइसियूमा उपचार भइरहेको उनले बताए।
‘केहि दिनअघि त उपचार गर्न बेड नै खाली थिएन,’ उनले भने, ‘अहिले केही कम देखिएको छ। तर पनि डेंगीको संक्रमण कम हुँदै गएको भन्न मिल्दैन।’
डेंगीको लक्षण देखिएर आउने बिरामीको संख्या बढेपछि क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले टेन्टमा राखेर पनि बिरामीको उपचार गरिरहेको छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी