प्रेमिकाको हत्या गरी फरार आरोपितलाई प्रहरीले दुई वर्षपछि रूपन्देहीबाट पक्राउ गरेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।
मरासिनीका अनुसार काशीरामले २०७७ माघ १० गते जंगलमा गुल्मी अर्खवाङ-२ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्यालको हत्या गरेका थिए। दिउँसो घाँस काट्न फायरलाइन जंगलमा गएका स्थानीयले एक गर्भवती महिला मृत फेला पारेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
'पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र शव फेला परेपछि स्थानीयले खबर गरेका थिए,' मरासिनीले भने।
त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले त्यहाँ शव कीरा लागेको अवस्थामा फेला पारेको थियो।
'काशीराम (प्रेमी) र बसन्ती (प्रेमीका) बीच अतिरिक्त वैवाहिक सम्बन्ध रहेछ,' उनले भने, 'अतिरिक्त वैवाहिक सम्बन्ध भएपछि प्रेमिका गर्भवती भइछन्। गर्भवती भएपछि प्रेमीले जंगलमा प्रेमिकाको हत्या गरेका रहेछन्।'
मरासिनीका अनुसार बसन्ती उनका श्रीमान भोला लोहार र दुई छोरीसहित मगरघाटमा बस्दै आएकी थिइन्। त्यहीँ, २०७३ सालमा उनको काशीरामसँग भेट भएको खुल्न आएको छ।
काशीराम पनि तीन छोरी र एक छोराका बाबु भएको प्रहरीले जनाएको छ। उनी लोडर चालक हुन्।
'उनीहरूको यौनसम्बन्ध भएको रहेछ,' प्रहरी निरीक्षक मरासिनीले भने, 'बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने ठाउँमा बस्न गएका रहेछन्।'
उनका अनुसार काशीराम र बसन्ती २०७७ साल वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिई बस्न थालेका थिए।
बुड्डीमा हुँदै सुत्केरीका लागि तयारी गर्न बसन्तीले घिउ र बेसार मगाउन आफ्ना बुबालाई फोन गरेको उनले बताए। त्यति बेला बसन्तीले आफू मुराउसँग रहेको र चैतमा सुत्केरी हुने जानकारी दिएको अनुसन्धानबाट खुल्न आएको मरासिनीले बताए।
त्यही बेला काशीरामले गर्भमा रहेको बच्चा फाल्न दबाब दिएका रहेछन्। तर बसन्तीले मानिनछिन्। गर्भकै कारणले उनीहरूको झगडा पनि हुन्थ्यो।
गर्भवती भएकै कारण काशीरामले आफ्नो हत्या गर्न सक्ने कुरा बसन्तीले आफ्ना एक साथीलाई बताएकी थिइन्। २०७७ पुस अन्तिम हप्तातिर बसन्ती बुटवल गएकी थिइन्। उनलाई लिन काशीराम आफैं बुटवलको फूलबारीसम्म पुगेका थिए।
फूलबारीबाट दुवै जना सालझन्डीसम्म बसमा आएका थिए। काशीरामले सालझन्डीमा लोकल रक्सी र दालमोठ किने। सालझन्डी बजारमा मानिसहरूले चिन्ने भएकाले नजिकैको जंगलमा गएर रमाइलो गर्ने भनेर काशीरामले बसन्तीलाई लगे।
दिउँसो तीन बजेतिर फायरलाइन जंगलमा लगेर काशीरामले बसन्तीलाई मदिरा खुवाए। अनि आफैंले लगाएको गलबन्दीले घाँटी कसेर हत्या गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए।
रक्सीको बोतल र बसन्तीले लगाएका चप्पल समेत काशीरामले वाणगंगा नदीमा बगाएर फरार भएको अनुसन्धानबाट खुलेको उनले बताए।
काशीरामले हत्या गरेको केही समयपछि बसन्तीका बुबालाई फोन गरी उनी हराएको जानकारी समेत दिएका थिए।
'बुबालाई फोन गरी बसन्ती हराएको र प्रहरीलाई समेत खबर गरेकाले केही गर्न नपर्ने भनी विश्वास दिलाएछन्,' मरासिनीले भने।
कुनै माध्यमबाट बुवाले केही थाहा पाए कि भनेर बुझ्न काशीरामले गत वैशाखमा फेरि 'बसन्तीका बारेमा केही पत्ता लाग्यो' भनेर सोधेका थिए।
बसन्तीको शव फेला परेपछि प्रहरीले उनका बुवाबाट सनाखत गराएको थियो। सोही क्रममा बसन्तीका बुबाले काशीरामले नै आफ्नी छोरीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए।
त्यसपछि प्रहरीले थप अनुसन्धान गरी काशीरामलाई पक्राउ गरेको प्रहरी निरीक्षक मरासिनीले बताए।
काशीराममाथि ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत रूपन्देहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
दुई वर्षदेखि ईलाका प्रहरी कार्यालय सालझन्डीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बाँकी रहेका मुद्दाको थप अनुसन्धान गरेका थिए। सोही क्रममा उनले लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराएर फेला नपरेका महिलाको विवरण मगाएर अनुसन्धान गरेका थिए। त्यही बेला बसन्तीका बारेमा कुनै पनि उजुरी वा खोजतलासका लागि दिएको निवेदन फेला पारेनन्।
त्यसपछि उनले ती महिलाको शवको फोटो र उनले लगाएको कपडा, घडी र माला लिएर स्थलगत रूपमै खोजी गर्दा हत्या गरी छाडिएकी महिला गुल्मीकी बसन्ती भन्ने धनकुमारी अर्याल भएको खुलेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए।
पहिचान खुलेपछि प्रहरीले उनका ७० वर्षीय बुबा भक्तिराम अर्याललाई गुल्मीबाट बोलाएर शवको सनाखत गराएको थियो। भक्तिरामले बसन्तीको हातमा भएको घडी र टाटुले चिनेका थिए। उक्त घडी बसन्तीकी आमाले दिएकी थिइन् जुन भक्तिरामले नै किनिदिएका थिए।