काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।
महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ।
महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनी आज अपरान्ह जय नेपाल हल परिसर पुगेकी थिइन्।
महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।
उनले यसका लागि ६ अर्बको संरचना भत्काउन पर्ने जानकारी दिए।
‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बन्छ,’ उनले भने।
तस्बिरहरू:
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।