टुकुचा खोलाका विभिन्न खण्डमध्ये नारायणहिति दरबार संग्रहालयदेखि तीनधारा पाठशालासम्मको खण्ड जयनेपाल हल आसपासबाट बग्छ भन्ने काठमाडौं महानगरपालिकालाई अनुमान थियो।
विगतमा भएका विभिन्न अध्ययन क्रममा निकालिएका स्याटलाइट तस्बिरका आधारमा यो खण्ड जयनेपाल आसपास नै बग्ने अनुमान गरिए पनि ठ्याक्कै कहाँनिर बग्छ भन्ने यकिन थिएन। घर र सडक बनाउने नाममा लामो समयअघि अतिक्रमणमा परेकाले टुकुचाको बाटो स्थानीयहरूको स्मरणबाट पनि हराइसकेको थियो।
तर केही जागरूक स्थानीयले जयनेपालको आँगन नै टुकुचाको बाटो हो भनेर महानगरपालिकालाई जानकारी दियो। त्यहाँ नजिकै बेलाबेला छङछङ पानी बगेको आवाज सुनिने उनीहरूले बताएका थिए। स्याटलाइट तस्बिरले पनि मोटामोटी त्यही ठाउँ हुनसक्छ भन्ने देखियो।
त्यसै आधारमा बिहीबार डोजर लिएर खन्न गएको महानगर टोलीले जसै जयनेपाल हलको आँगनमा केही फिट खाल्डो खन्यो, उनीहरू हेरेका हेर्यै भए। वरिपरि झुम्मिएका व्यक्तिहरू पनि जमिनमुनिको दृश्य देखेर चकित खाए।
जयनेपालको आँगनमा जमिनको सतहबाट करिब १५ फिटमुनि इँटाको तहतह मिलाएर बनाइएको सुरूङजस्तो संरचना थियो। त्यो संरचना प्वाल पारेर हेर्दा त्यसभित्र टुकुचाको हराएको अंश भेटियो जहाँ अहिलेसम्म पानी बगिरहेको छ।
यो घटनाले काठमाडौंका नदी–खोलालाई कसरी अवशेषधरि नरहने गरी अतिक्रमण गरिएको रहेछ भन्ने छर्लंग हुन्छ।
सँगसँगै, प्रश्न पनि जन्माउँछ– जयनेपाल हलको प्रांगणमा त खाली जमिन भएर खन्न गाह्रो भएन तर त्यहाँभन्दा अगाडि खोला बग्ने बाटोमा ठूल्ठूला घर र सडक छन्, ती ठाउँमा अब के हुन्छ?
के महानगरले त्यहाँ बनेका घर र सडक हटाएर टुकुचा खोलालाई उसको जग्गा फिर्ता गर्न सक्छ?
बिहीबार अपराह्न टुकुचा उत्खनन हेर्न गएकी काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले खोला अतिक्रमणमुक्त गरेर दायाँबायाँ सडक करिडोर बनाउने बताएकी छन्।
उनले जयनेपालको प्रांगणमा खोला हुनसक्छ भनेर सूचना दिने स्थानीयलाई धन्यवाद दिँदै टुकुचा अतिक्रमणमुक्त गर्ने योजनामा सहयोग गर्न आग्रहसमेत गरेकी छन्।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा अतिक्रमणमुक्त गर्न र दायाँबायाँ करिडोर बनाउन महानगरले ६ अर्बको संरचना भत्काउन पर्ने जानकारी दिएका छन्। उनका अनुसार टुकुचामा पानी बग्न चार मिटर छाडिनेछ भने दायाँबायाँ चार–चार मिटरको करिडोर बन्नेछ। यो काम पाँच वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको उनले बताए।
महानगरको यो योजना पूरा गर्न सजिलो भने छैन।
काठमाडौंको घना बस्तीको बीचबाट बग्ने पाँच किलोमिटर लामो यो खोला धेरै कम ठाउँमा मात्र दुरूस्त छ। अधिकांश ठाउँमा खोलाको साँध दायाँ र बायाँ दुवैतिरबाट नराम्ररी मिचिएको छ। कतिपय ठाउँमा जयनेपाल हलको जस्तै अवस्था छ जहाँ घर र सडकले पुरिएर खोला कहाँबाट बग्छ भन्ने नै थाहा छैन।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारप्राप्त एकीकृत बागमती सभ्यता विकास समितिले दुई वर्षअघि टुकुचा खोलाको करिडोर व्यवस्थापनका लागि पूर्वसम्भाव्यता अध्ययन गराएको थियो। बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदन हेर्ने हो भने टुकुचा खोलाको दारूण अवस्था छर्लंग हुन्छ।
‘इच्छुमती’ समेत भनिने टुकुचा खोलालाई दस भागमा बाँडेर अध्ययन गरिएको थियो। ती दस भागमध्ये कुन ठाउँमा खोलाको अवस्था कस्तो छ भन्नेबारे स्याटलाइट, ड्रोन र स्थलगत तस्बिरसहित प्रतिवेदनमा वर्णन गरिएको छ।
अब हामी त्यही प्रतिवेदनका आधारमा टुकुचा खोलाको अवस्था कस्तो छ भन्ने हेरौं।
प्रतिवेदनअनुसार खोलाको पहिलो खण्ड भाटभटेनीस्थित टुँडालदेवी मन्दिरबाट चिनियाँ दूतावाससम्म जान्छ। यसको दुरी ७ सय ८० मिटर छ।
आवासीय क्षेत्रमा पर्ने यो खण्डमा खोला जुन दिशातर्फ बग्छ, त्यसको दायाँ ६ मिटर फराकिलो बाटो छ भने बायाँतर्फ घरहरू छन्। यहाँ घर र बाटोले दुवैतिरबाट खोला च्यापेर साँघुरो पारेको छ। खोला कज्याउन माथिबाट कंक्रिटको स्ल्याब हालिएको छ र त्यो स्ल्याबमा पैदलमार्ग बनाइएको छ।
यति मात्र होइन, खोलालाई बाँध्न दायाँबायाँ पर्खाल लगाइएको छ। खोलाको दुवैतर्फ चार मिटर क्षेत्र खाली छाड्नुपर्ने नियम यहाँ कार्यान्वयन भएको छैन।
बालुवाटारमा टुकुचा मिचिएको घटना धेरै पुरानो होइन। सहरी योजनाकार तथा भूमिगत जलस्रोत विशेषज्ञ पद्मसुन्दर जोशीले २०५६ सालमा चिनियाँ दूतावाससँगैको टुकुचा छोपेर सडक निकालिएको बताएका छन्।
उनले एक महिनाअघि सेतोपाटीमा लेखेको लेखमा भनेका छन्, ‘यसो गर्नुहुँदैन भनेर वडाध्यक्ष लगायत स्थानीय जनतासँग निकै बहस भयो। के गर्न हुने र के गर्न नहुनेबारे तर्क–बितर्क भए। कोही पनि आफ्नो एक इन्ची जग्गा छाड्न तयार थिएनन्। आखिरमा उनीहरूले टुकुचा छोपेर सडक चौडा पारिछाडे।’
उनी अगाडि लेख्छन्, ‘अब फेरि टुकुचाले घरघर पसेर दुःख दियो भने त्यहाँका बासिन्दालाई कसैले खुच्चिङ भन्दा उनीहरूले चित्त दुखाउने ठाउँ बाँकी छैन।’
अब कुरा दोस्रो खण्डको।
टुकुचाको दोस्रो खण्ड चिनियाँ दूतावासदेखि गैरीधारा (नारायणहिति दरबार संग्रहालयको उत्तर) सम्म जान्छ। यसको लम्बाइ एक हजार मिटर छ।
यो ठाउँ पनि आवासीय क्षेत्रमा पर्छ। यहाँ खोला बग्ने दिशाको देब्रेतर्फ ६ मिटर फराकिलो सडक रहेको प्रतिवेदनमा छ। दायाँतर्फको भाग भने धेरै अतिक्रमणमा परेको छ। कतिपय ठाउँमा स्ल्याब राखेर खोला छोपिएको छ। केही ठाउँमा त खोलालाई दुवै किनारमा पर्खाल लगाएर नालीमा परिणत गरिएको छ। यहाँ पनि खोला किनारको जग्गा ४ मिटर खाली राख्नुपर्ने नियम पालना भएको छैन।
यही खण्डको बीचमा नीलसरस्वती मन्दिर पर्छ। उक्त मन्दिरमा धार्मिक पूजाआजाका लागि टुकुचाको पानी प्रयोग गर्नुपर्छ। यो सांस्कृतिक चलन अहिलेसम्म जारी छ।
टुकुचा खोलाको ४ सय ८० मिटर लामो तेस्रो खण्ड नारायणहिति दरबार संग्रहालय परिसर भित्रैबाट बग्छ।
प्रतिवदेनअनुसार यो खण्ड नारायणहिति संग्रहालयको पूर्वी भाग हुँदै गणतन्त्र स्मारक पार्कसम्म पुग्छ। निषेधित क्षेत्रमा पर्ने हुँदा यहाँको ड्रोन तस्बिर खिच्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
‘स्याटलाइट तस्बिरहरू हेर्दा टुकुचा खोलाको यो हिस्सा सुरक्षित नै छ भन्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यहाँ खोला बग्ने दिशाको देब्रेतिर करिब २५ हजार २ सय ७० वर्गमिटर क्षेत्र खुला देखिन्छ।’
यो खुला क्षेत्रलाई खोलाको करिडोरका अतिरिक्त पार्कका रूपमा प्रयोग गर्न सकिने प्रतिवेदनले औंल्याएको छ।
टुकुचाको चौथो खण्ड नारायणहिति संग्रहालयदेखि तीनधारा मार्गसम्म जान्छ। यसको लम्बाइ ४ सय ४० मिटर छ। बिहीबार महानगरले उत्खनन् गरेको जयनेपाल हलको प्रांगण यही खण्डमा पर्छ।
यो खण्डको करिब सम्पूर्ण हिस्सा जमिनमुनि पुरिएको र त्यसमाथि थुप्रै घर र सडक बनेको प्रतिवेदनमा छ। महानगरको उत्खननबाट जमिनमुनि टुकुचाको अवशेष भेटिनुले प्रतिवेदनको कुरा पुष्टि हुन्छ।
खोलाको पाँचौं खण्ड तीनधारा मार्गदेखि बागबजारको सडकसम्म जान्छ। यो ४ सय ६५ मिटर लामो छ।
यो खण्डका धेरैजसो ठाउँमा खोला बाँकी नै छ। यहाँ अहिलेसम्म पानी बगिरहेकै देखिन्छ। बागबजारको घना बस्तीबीच पर्ने भए पनि यो खण्डमा खोला छेउछाउ केही खुला क्षेत्र पनि बाँकी रहेको प्रतिवेदनमा छ। कतिपय ठाउँमा भने ठूला घरहरूले खोलाको साँध मिचेका छन्। ती घरले खोलाछेउ चार मिटर क्षेत्र छाड्नुपर्ने नियम पालना नगरेको प्रतिवेदनले औंल्याएको छ।
छैठौं खण्ड बागबजार सडकदेखि अद्वैत मार्गसम्म जान्छ। जम्मा २ सय ८० मिटर लामो यो खण्डमा पनि धेरैजसो ठाउँमा खोला बाँकी छ। पानी बगिरहेकै छ।
तर किनारमा चार मिटर छाड्नुपर्ने नियम उल्लंघन गरी साँध मिचेर घरहरू बनेकाले यहाँ पानी भएको ठाउँसम्म पुग्न सकिँदैन। खोला करिब करिब फोहोर र ढल बग्ने नालीमा परिणत भएको छ। शंकरदेव क्याम्पस पनि टुकुचा खोलाको यही खण्डमा पर्छ।
सातौं खण्ड इच्छुमती तरकारी बजार क्षेत्र हुँदै बग्छ। एक सय ६० मिटर लम्बाइको यो खण्डमा खोला बग्ने दिशातर्फ दायाँतिर तरकारी बजार छ भने बायाँतिर पैदलमार्ग बनाइएको छ। यहाँ तरकारी बजारले खोलाको चार मिटर साँध मिचेको प्रतिवेदनमा जनाइएको छ।
इच्छुमती तरकारी बजारबाट अगाडि बढेपछि भृकुटीमण्डप क्षेत्रसम्म टुकुचाको आठौं खण्ड पर्छ। तीन सय २० मिटरको यो खण्डमा खोला बग्ने दिशातर्फ दाहिनेतिर भृकुटीमण्डपको बजार छ भने देब्रेतिर घरहरू बनेका छन्।
टुकुचाको नवौं खण्ड भद्रकाली क्षेत्रको पूर्वतर्फबाट बग्छ। यसको लम्बाइ ३ सय ५० मिटर छ।
यो खण्ड भद्रकालीस्थित सेनाको मुख्यालय क्षेत्रबाट बग्छ। निषेधित क्षेत्रमा पर्ने भएकाले यहाँ पनि खोलाको दुवैतर्फ प्रशस्त खाली जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ।
यो खुला क्षेत्रलाई पार्क र साइकल लेनका रूपमा विकास गरेर सर्वसाधारण निम्ति खुला गर्न सकिने प्रतिवेदनले सुझाएको छ।
भद्रकालीदेखि बागमती नदीसम्मको हिस्सा टुकुचा खोलाको दसौं तथा अन्तिम खण्ड हो। यो ६ सय ६० मिटर लामो छ।
यो हिस्सामध्ये थापाथलीदेखि त्रिपुरेश्वर सडकसम्म वरिपरि घना बस्ती छ भने थापाथली क्याम्पसको भागमा खुला ठाउँ बाँकी छ।
त्योभन्दा अगाडि त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेपछि टुकुचा खोला बागमती नदीमा मिसिन्छ। यही ठाउँमा टुकुचाको पानी प्रशोधन निम्ति प्लान्ट राख्न सकिने प्रतिवेदनमा छ। यसबाट टुकुचाले बोकेर ल्याउने फोहोर प्रशोधन गरेर सफा पानी मात्र बागमतीमा पठाउन सकिन्छ।
टुकुचा खोला अतिक्रमणमुक्त गर्ने योजनामा लागेको काठमाडौं महानगरका लागि यो प्रतिवेदन उपयोगी हुनसक्छ। दुई वर्ष पुरानो प्रतिवेदनमा उल्लेख भएका धेरै विवरण अहिले पनि मिल्छन्। केही क्षेत्रमा थप अतिक्रमण भएको हुनसक्छ जसबारे थप अध्ययन गर्न सकिन्छ।
प्रतिवेदनले टुकुचाको प्रत्येक खण्डको अवस्था मात्र औंल्याएको छैन, कुन ठाउँ कसरी अतिक्रमणमुक्त गर्ने र कसरी नयाँ ढंगले पुनर्निर्माण गर्ने भनेर डिजाइन पनि प्रस्ताव गरेको छ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले टुकुचा खोला अतिक्रमणमुक्त गर्न इञ्जिनियरहरूको टोली बनाएर अध्ययन गर्ने काम सुरू गरिएको बताएका छन्।
‘अहिलेलाई जयनेपाल हल क्षेत्रबाट अगाडि बग्ने खोला कसरी अतिक्रमणमुक्त गर्ने भन्नेमा हामी काम गरिरहेका छौं। यसमा इञ्जिनियरहरूको टोलीले अध्ययन गर्दैछ,’ उनले भने, ‘सँगसँगै पूरै खोला अतिक्रमणमुक्त गर्ने काम पनि अघि बढ्नेछ।’
यसका लागि दसैंअगाडि नै टेन्डर खोलेर योजना कार्यान्वयन गर्ने तयारी भइरहेको छ।