वरिपरि अजंगका पहाड छन्। ती पहाडमा मुसाले सुरुङ खनेजस्तै खनेर मजदुरहरू कोइला निकाल्छन्।
हरेक दिन बिहान सुरुङभित्र पस्नु र बेलुका घाम डुब्नै लाग्दा निस्कनु उनीहरूको नित्य कर्म हो। ती सुरुङहरू चार सय मिटरदेखि सात सय मिटरसम्म गहिरा छन्।
भित्र कतै ठूलो ढुंगो खस्छ कि, भत्किएर बाटो नै बन्द हुन्छ कि भन्ने भय हुन्छ। यस्तो खतरा देखिएका ठाउँमा काठका टेका हालिएका छन्।
मजदुरहरूका अनुसार यी सुरुङभित्र हावाको ओहोरदोहोर राम्ररी हुँदैन।
त्यति गहिराइमा पुगेर कोइला खन्ने र ५० केजीसम्मका बोरी पिठ्युँमा बोकेर सुरुङबाट निकाल्ने गर्नुपर्छ।
घोराही उपमहानगरपालिका-१२ का ३९ वर्षीय नरेन्द्र राना मगरले सुरुङभित्र पसेर कोइला निकाल्ने काम गरेको १५ वर्ष भयो।
खानीभित्र पसेर कोइला खन्ने काम सजिलो छैन तर गुजाराका लागि जोखिम उठाएर काम गर्नु उनीहरूको बाध्यता हो।
‘यो पहाडमा अरू रोजगारी छैन,’ उनी भन्छन्, ‘जीवन त चलाउनै पर्यो। यहाँ काम गर्नु हाम्रो रहर होइन, बाध्यता हो।’
उनी कामअनुसार दैनिक एक हजारदेखि एक हजार आठ रुपैयाँसम्म कमाउँछन्।
‘अँध्यारो सुरुङमा पस्दा जतिबेला जे पनि हुन सक्छ,’ उनी भन्छन्, ‘सुरुङभित्र ढुंगामाटो खसेर बाटो बन्द भयो भने जीवनको बाँकी बाटो पनि बन्द हुने खतरा हुन्छ। हामी त भगवान भरोसामा काम गर्छौं।’
नरेन्द्र निकै अनुभवी मजदुर हुन्। उनीसँग पाल्पा र दाङको बंगलाचुली क्षेत्रका सुरुङमा पसेर कोइला खन्ने र निकाल्ने काम गरेको लामो अनुभव छ।
यहाँका कोइलाखानीमा काम गर्नुअघि उनी श्रमका लागि खाडी मुलुक गएका थिए। घर परिवार छोडेर गए पनि राम्रो कमाइ नभएपछि स्वदेश फर्के।
यसपछि विदेश जानुभन्दा आफ्नै देशको कोइलाखानीमा काम थाले।
‘जोखिम र दुःख त जहाँ पनि हुन्छ,’ उनी भन्छन्, ‘विदेशमा पनि कहाँ सजिलो छ र! त्यति मिहिनेत गर्दा खाडी मुलुकमा कमाउने पैसा त यहीँ कमाउन सकिँदो रहेछ।’
घोराही उपमहानगर-१३, शंखेरीका ४५ वर्षीय आशिष बुढामगर कोइलाखानीको सुरुङभित्र काम गर्नेमध्ये निकै पुराना मजदुर हुन्।
उनको परिवारका अग्रहजहरूले दाङका कोइलाखानीमै काम गरे। उनी आफू पनि यही काममा लागे।
‘गैँती, हतौडा र बोरी लिएर निहुरिँदै सुरुङभित्र छिर्नु अनि ढुंगा खनेर कोइला निकाल्नु कहाँ सजिलो हुन्छ र,’ आशिष भन्छन्, ‘हामीजस्ता मान्छेले खन्दै बनाएका सुरुङभित्र तपाईंहरू त रित्तै पनि पस्न सक्नुहुन्न। कोइला खन्न र बोरीमा भरेर बाहिर निस्कन ज्यानकै बाजी थाप्न पर्छ।’
जता राम्रो कोइला फेला पर्छ उतै खन्दै जानु पर्छ। पहाड खनेर सुरुङ बनाउँदै भित्रभित्रै काम गर्नु धेरै जोखिमपूर्ण हुन्छ।
‘हामी जस्तै मजदुरले वर्षौंदेखि खन्दाखन्दै बनेका यी सुरुङहरू कत्रा होलान्?,’ प्रश्न गर्दै उनले जोखिमको बयान गरे, ‘सुरुङभित्र अँध्यारो हुन्छ, बाटो निकै साँघुरो हुन्छ। कतै ठाडै उकालो र ओरालो छ। धेरै ठाउँमा निहुरिएर हिँड्नुपर्छ।’
अँध्यारो ठाउँमा टर्च बालेर कोइला खन्नु पर्छ, टर्च बालेरै हिँड्नु पर्छ। सुुरुङभित्र धेरैतिर बाटाहरू हुन्छन्। राम्रो कोइला खोज्दै खन्दा यसरी धेरै बाटा बनेका हुन्।
मजदुरहरू पस्ने र फर्कने मूल बाटो चाहिँ एउटै हुन्छ।
‘अँध्यारा र गहिरा सुरुङभित्र पसेर हरेक दिन कोइला खन्नु अनि आफैंले पिठ्युँमा बोकेर बाहिर निकाल्नु कति गाह्रो कति गाह्रो होला, आफैं विचार गर्नु त,’ आशिष भन्छन्, ‘ यस्तो काम जोसुकैले गर्न सक्दैन।’
सुरुङभित्र हतौडा र गैँती चलाउनु पर्छ। उकुसमुकुस हुन्छ, छिटै थकाइ लाग्छ।
राम्चेका कोइलाखानीमा काम गर्ने संगीत गुरुङ भन्छन्, ‘खानीभित्र हावा राम्ररी छिर्दैन। अक्सिजन थोरै हुन्छ। अनुभवी मान्छेले मात्रै काम गर्न सक्छ। राम्चे घोराही उपमहानगरको वडा नम्बर १९ मा पर्छ।
नयाँ कामदारहरू अनुभवीहरूकै पछि लागेर काम सिक्छन्।
संगीतका अनुसार खानीका कामदारले आफ्नो सुरक्षाको जिम्मा आफैं लिनुपर्छ। कम्पनीले सुरक्षाका कुनै पनि उपकरण वा सामग्री दिने गरेको छैन।
बितेको ११ वर्षमा यहाँका कोइलाखानीमा ६ जनाको ज्यान गयो।
‘लामा र गहिरा सुरुङभित्र पसेर कोइला खन्नु मृत्युसँग खेल्नु हो,’ आशिष भन्छन्, ‘जोखिम धेरै भए पनि अर्को अवसर छैन। परिवार पाल्न काम गर्नै पर्यो।’
दाङको पहाडी क्षेत्रमा राम्चे, तिर्साङ, तोस, सैघा, बोल्दी, छिपन, बोक्सिनी भिर, ठाडा, ज्यामिरे, भुल्केलगायतका कोइलाखानीहरूमा आसपासकै बासिन्दाहरू काम गर्छन्। अनुभवी पुरुष श्रमिकहरू सुरुङभित्र पसेर कोइला खन्छन् र बोकेर बाहिर निकाल्छन्। महिला र नयाँ श्रमिकहरू संकलन केन्द्रबाट गाडी पुग्ने ठाउँसम्म कोइला ओसार्छन्।
मजदुरहरूका अनुसार वडा नम्बर १९ का तोस र राम्चेमा सबैभन्दा पुराना र गहिरा कोइलाखानी छन्।
यी पहाडहरूका २०५२ सालमा कोइला उत्खनन सुरू भएको हो। यहाँ हाल १२ ठाउँबाट कोइला निकाल्ने गरिएको छ।
तोसमा ३५ मिटरदेखि देखि पाँच सयमिटरसम्म र राम्चेमा चार सयदेखि सात सय मिटरसम्म गहिरा सुरुङ छन्।
यहाँका कोइलाखानीहरू स्थानीयवासीका लागि रोजगारीका प्रमुख स्रोत हुन्। सीमाना जोडिएको रोल्पाबाट पनि मजदुरहरू आउँछन्।
घोराही उपमहानगर वडा नम्बर १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीका अनुसार स्थानीयबासी महिला–पुरुषसँगै र उनीहरूका बालबालिका पनि कोइलाखानीमा काम गर्छन्।
पहाडी क्षेत्र भएकाले अन्न उत्पादन राम्रो छैन। अन्य अवसर पनि नहुँदा कोइलाखानीमा जोखिमको काम गर्नु स्थानीयवासीको बाध्यता हो।
घोराही उपमहानगरका वडाहरू १ र १९ तथा बंगलाचुली गाउँपालिकामा हाल पाँच वटा कम्पनीले कोइला उत्खननको काम गर्दै आएका छन्।
यी कम्पनीहरूले स्थानीय विद्यालयमा केही शिक्षक राख्न आर्थिक सहायता गर्दै आएको वडाध्यक्ष रायमाझीले बताए।
‘थोरै शिक्षकबाहेक वडाले कम्पनीहरूसँग केही पनि मागेको छैन,’ उनी भन्छन्, ‘उनीहरूले नेपाल सरकारलाई कर तिर्छन् होला।’
आफ्नो वडाबाट निकालेको कोइला इटा भट्टा र सिमेन्ट उद्योगहरूमा जान्छ भन्ने आफूले सुनेको उनले बताए।